प्रिन्स माइकल अफ केन्टको प्रमुख आतिथ्यमा लण्डनस्थित नेपाली दूतावासले एक विशेष समारोह गरी संविधान दिवस मनाएको छ ।
विहिबार दूतावासमा आयोजित उक्त समारोहमा बेलायतस्थित विभिन्न मुलुकका कुटनितिज्ञ, बेलायती सरकारका प्रतिनिधी, स्थानीय मेयर, काउन्सिलर सहित नेपाली समुदायका सदस्यहरु सहित सयौंको सहभागिता थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रिन्स माइकलले नेपाल र बेलायतबीचको मित्रवत सम्बन्ध दुई शताब्दीभन्दा लामो समयदेखि निरन्तर रहेको चर्चा गरे । निकट भविष्यमा आफु आबद्ध एक च्यारिटी मार्फत नेपाल भ्रमणमा जाने आफ्नो सोंच रहेको उनले बताए । नेपालको विकास, स्थिरता र समृद्धिको लागि विगतमा जस्तै एक सहयोगीका रुपमा भुमिका गर्न बेलायत सधै खुशी रहेको उनले
बताए ।
बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालीहरुको मनमा बेलायत र बेलायती जनताहरुको लागि विशेष स्थान रहेको बताए ।
दुई देशबीचको सम्बन्धलाई अब थप उचाईंमा लैजाने राज्यका प्रमुखहरुको तहमा भ्रमण आदानप्रदान गराउन तयारी थाल्नुपर्ने समय आएको उनको भनाइ थियो ।
सविंधान दिवस नेपालीहरुको लागि ठूलो महत्व राख्ने दिन रहेको भन्दै राजदूत डा सुवेदीले वर्तमान संिवधानले नेपालमा स्थितरतालाई सुनिश्चित गर्दै समृद्ध देश निर्माणको जग तयार गरेको बताए ।
प्रमुख अतिथी प्रिन्स माइकललाई राजदूत सुवेदीले खुकुरी र नेपाली चित्रकला उपहार दिए । त्यस अवसरमा प्रिन्स माइकलले दूतावासमा चित्रकला प्रदर्शनी उद्घाटन पनि गरेका थिए ।
समारोहमा गोर्खा ब्रिगेड ब्याण्डले नेपाली तथा बेलायती राष्ट्रिय गानका धुन बजाएको थियो । समारोहको अन्त्यमा गोर्खाहरुको खुकुरी नाचसहित केहि नेपाली नृत्यहरु प्रस्तुत गरिएको थियो ।