बेलायतको मिडल्याण्ड क्षेत्रमा बस्ने नेपालीहरुले नेपालकै गाउँघरमा गरिने तीजको नाचगानको झझल्को गराउने तीज कार्यक्रम सम्पन्न गरेका छन् । शान्ति नेपाली समाज बेलायतको आयोजनामा तीजगीत प्रतियोगिता र नेपालबाट आएका राष्ट्रिय कलाकारको प्रस्तुतिसहित कार्यक्रम गरिएको थियो ।
बर्मिङहमको ह्याग्ली रोडमा अवस्थित रिजेनी ब्यांकेटिङ हलमा संस्थाका अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनोरञ्जनका साथसाथै मौलिक तीजका भाकाहरु पनि गुञ्जिए ।
कार्यक्रमको पहिलो चरणमा स्थानीय कलाकारहरुको तीजका गीतको नृत्य प्रस्तुत गरिएको थियो । दोस्रो चरणमा भने नेपालका चर्चित कलाकारहरु बिमलराज क्षेत्री, रमेशराज भट्टराई, कला पंगेनी, कला लम्साल र सिर्जु अधिकारीले विशेष प्रस्तुति गरेका थिए ।
सो अवसरमा आयोजित तीजगीत प्रतियोगितामा मिडल्याण्डका विभिन्न ठाउंबाट आएका ६ टोलीले सहभागिता जनाए । प्रतियोगी टोलीहरुले प्रस्तुत गरेका मौलिक तीजका भाकाहरुले कार्यक्रमका सहभागीहरुलाई आफ्नै गाउंघरको झझल्को दिलाएको थियो ।
प्रतिस्पर्धामा सिर्जनशिल लेस्टर नेपालको टोली प्रथम तथा मनकामना महिला समुह, वेस्ट बर्मिचको टोली दोस्रो र हाम्रो नेपाली समाज, वुल्भरह्याम्पटनको टोली तेस्रो बने ।
विजयी टोलीहरुलाई क्रमश ३ सय, २ सय र १ सय पाउण्ड नगदसति प्रमाणपत्रबाट पुरस्कृत गरियो । आयोजक शान्ति नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल, आइएमई लण्डनका निर्देशक कमल पौडेल लगायतले विजेताहरुलाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा प्रमुख अतिथी चिरञ्जिवी ढकाल र विशेष अतिथी एनआरएन आइसिसी सदस्य रामशरण सिंखडाले शुभकामना मन्तव्य दिएका थिए भने संस्थाकी उपाध्यक्ष सिता खरेलले स्वागत मन्तव्य दिइन् । कार्यक्रमको सञ्चालन सुनिता तिवारी र जानुका गैरेले गरेका थिए ।
नारायण बुढाथोकीको संयोजनमा प्रस्तुत गरिएको लाखे नाचले कार्यक्रममा रौनकता थप गरिदियो
कार्यक्रम हेर्न मिडल्याण्डका लेस्टर, नटिङहम, वुल्भरह्याम्पटन लगायतका क्षेत्रका साथै लण्डनबाट समेत दर्जनौं गरी करिब ८ सय दर्शक भेला भएका थिए ।
नेपाली महिला हरुको रंगीलो पर्व हरितालिका तीज नजिकिदै गर्दा लन्डन लगायत बेलायतका बिभिन्न शहरहरुमा तीज कार्यक्रम हरु दिनहुँ जसो आयोजना हुने गरेका छन । तीजकै कार्यक्रमहरुको लागी नेपाल बाट आमन्त्रित झन्डै दुई दर्जन कलाकारहरुलाई प्रस्तुति दिने चटारो छ । यसका अलावा बेलायतका घर घरहरुमा समेत महिलाहरु भेला भएर तीज आगमनको हप्तौं अगाडी बाट दर खाने कार्यक्रम आयोजना गर्दै आएका छन ।