भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनका केही व्यवस्था प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको भन्दै नेपाल पत्रकार महासंघ बेलायतले शाखाले संशोधनको माग गरेको छ ।
बुधबार लण्डनस्थित नेपाली दूतावासमार्फत ज्ञापनपत्र बुझाउँदै शाखाले नेपाल सरकार र संघीय संसदलाई ती व्यवस्थाहरु सच्चाउन माग गरेको हो।
शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालले लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख तथा प्रवक्ता शरदराज आरनलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै दूतावासका उपप्रमुख आरनले ज्ञापनपत्र तत्काल सम्बन्धित निकायहरुमा पठाउने आश्वासन दिए। शाखाले ज्ञापनपत्रमार्फत अघि सारेका जायज मागहरुको सम्बोधन हुने आशा समेत उनले व्यक्त गरे ।
शाखाका वरिष्ठ उपाध्यक्ष अर्यालले महासंघ केन्द्रको निर्णयअनुसार बेलायतस्थित शाखाका सम्पुर्ण सदस्यहरुबाट आएका राय, सुझावलाई समेटेर ज्ञापनपत्र बुझाइएको बताए ।
ज्ञापनपत्र बुझाउनुअघि महासचिव सञ्जयभक्त कंडेलले ज्ञापनपत्र वाचन गरेर सुनाएका थिए । ज्ञापनपत्र बुझाउन शाखाका वरिष्ठ उपाध्यक्ष अर्याल, महासचिव कंडेल, उपमहासचिव नरेन्द्र बस्नेत, संस्थापक सदस्य विपिन निरौला लगायतका पत्रकारहरुको टोली लण्डन दूतावास पुगेको थियो ।
ज्ञापनपत्रमा शाखाका अध्यक्ष नरेश खपांगी मगर र महासचिव सञ्जयभक्त कंडेलले हस्ताक्षर गरेका छन् ।