बेलायतको नेपाली समुदायमा लुकेका प्रतिभा खोज्ने उद्धेश्यले आयोजित प्रतिभा नक्षत्रको दोस्रो संस्करण सम्पन्न भएको छ।
बेलायतको लण्डन तथा आसपासपासका क्षेत्र र स्कटल्याण्डबाटसमेत प्रतियोगी सहभागी प्रतियोगिताबाट बाल र युवा विधामा छुट्टा छुट्टै प्रतिस्पर्धा गराइएको थियो।
बाल समूहका १६ प्रतियोगीमा सर्वोत्कृष्ट बन्दै ५ वर्षीया श्रीद्धिका थापा क्षेत्री बाल नक्षेत्र घोषणा भइन् भने युवा समूहमा सर्वोत्कृष्ट बनेर सब्रिना चोङवाङ युवा नक्षेत्र बनिन्।
बाल समूहमा सास्रिक कार्की रनर अप र रिया गिरी दोस्रो रनरअप भए।
युवातर्फ शुभेच्छा भारती मगर दोस्रो र रितिका श्रेष्ठले तेस्रो स्थान प्राप्त गर्न सफल भए।
युवा नक्षत्रका रूपमा विजेताले ५ सय तथा दोस्रो र तेस्रो हुनेले ३ सय र २ सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
बाल समूहका विजेता क्रमशः ३ सय, २ सय र १ सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत बने।
विजेतालाई कार्यक्रमका प्रमुख अतिथि एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुन लगायतले पुरस्कार वितरण गरेका थिए।
यसअघि प्रतियोगिताको फाइनल राउण्डमा बाल तथा युवा प्रतियोगीलाई छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगीले पहिलो चरणमा नेपाली गीत, नृत्य, कवितावाचन लगायतका विधामा आफ्ना प्रतिभा देखाएका थिए। दोस्रो चरणमा नेपालसँग सम्बन्धित विभिन्न विषयमा निर्णायकले प्रश्न सोधेका थिए।
प्रतियोगितामा गायिका मिरा राणा, निर्देशक सनमकुमार बैराग, साहित्यकार बासु शर्मा, नृत्य निर्देशक प्रभु गुरूङ र एभरेष्ट सूर्य बोहोराले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
आयोजक प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष केशबहादुर आलेले स्वागत मन्तव्य राखेका थिए। प्रतिभा नक्षत्रका संरक्षक मनिषकुमार श्रेष्ठ र परिकल्पनाकार राजेन्द्र खसले शुभकामना मन्तव्य दिएका थिए।
महासचिव लक्ष्मण गुरूगले पहिलो औपचारिक सत्र सञ्चालन गरेका थिए भने सुस्मिता थापाले प्रतियोगिताको सञ्चालन गरेकी थिइन्।
कार्यक्रममा साना साना बालबालिकाले अंग्रेजी लवजमा बोलेका नेपाली वाक्यांश तथा उनीहरुको नेपाली प्रस्तुतिले उपस्थितलाई प्रसन्न तुल्याएको थियो । कार्यक्रममा आयोजकले समयको कुशल व्यवस्थापन गर्न नसक्दा कार्यक्रमको समापन फितलो बनेको थियो। प्रश्नोत्तर राउण्डमा सहभागी बालबालिकालाई निर्णायक मण्डलबाट सोधिएका कतिपय अप्ठ्यारा प्रश्नले भने प्रतिप्रश्न जन्माएको पाईयो।
बिषेशत बेलायतमा हुर्किदै गरेको नेपाली पुस्तालाई नेपाली भाषा, संस्कृती र परम्परामा समाहित गराउने उद्धेश्यले गत वर्षदेखि शुरु गरिएको यो प्रतियोगी कार्यक्रममा आयोजक तथा सहभागीहरुको लगावले राम्रो प्रशंशा बटुलेको छ।
तथापी कार्यक्रमको ब्यापकता र सहभागिताका हिसाबले यसको दयारा फराकिलो पारिनुपर्ने आम धारणा छ।