नेपालबाट आएका साहित्यिक सर्जकलाई लण्डनस्थित नेपाली दूतावासले एक कार्यक्रमबीच सम्मान गरेको छ।
बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका तर्फबाट सोमबार साँझ दूतावासमै आयोजना भएको कार्यक्रममा सर्जकहरु सम्मानित भएका हुन्।
सम्मानित हुने सर्जकमा कवि तुलसी दिवस, भाषाविद् तथा पूर्वराजदूत नोबेल किशोर राई, समालोचक तथा निबन्धकार गोविन्दराज भट्टराई, लेखक खगेन्द्र संगौला र संस्कृति तथा पर्यटन मन्त्रालयका सहसचिव भरतमणि सुवेदी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कवि तुलसी दिवसले नेपाली साहित्यमा प्रवासमा बस्ने सर्जकहरुले ठूलो योगदान पुर्याएको बताए। प्रवासी सर्जकहरुको योगदानलाई समेटेर अब नेपाली साहित्यको इतिहास पुनर्लेखन गरिनुपर्ने उनको धारणा थियो।
बेलायतस्थित नेपाली राजदूत दूर्गाबहादुर सुवेदीले बेलायतमा रहेर नेपाली साहित्यको प्रबद्र्धनका लागि महत्वपूर्ण काम गरिरहेको भन्दै कवि दिवसले प्रशंसा पनि गरे।
कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा राजदूत सुवेदीले बेलायत जस्तो साहित्यको उर्वर भूमिमा रहेर सिर्जना गर्न पाउनु सबै नेपाली सर्जकको लागि अवसर रहेको जनाए।
कार्यक्रममा नृपेश उप्रेतीले गजल, नरेश कामवाङ राईले कविता तथा गायक बिसी राई, गायिका मिना लामा र सितु खरेलले गीत सुनाएका थिए।
नायिका छुल्ठिम गुरूङले नृत्य देखाएकी थिइन् भने सयपत्री सांस्कृतिक समूहका डम्बरसिंह प्रयासले सारंगी बादन प्रस्तुत गरेका थिए।
बेलायतस्थित नेपाली साहित्यकर्मी, समुदायका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको कार्यक्रमलाई लण्डन दूतावासका द्वितीय सेक्रेटरी भुपेन्द्र घिमिरेले सञ्चालन गरेका थिए।