गैर आवासीय नेपाली संघको युरोपस्तरीय बैठक गत जुलाई २८ - ३० मा लक्जेम्बर्गमा सम्पन्न भयो। बैठकका गतिविधि र तत्पश्चातका निष्कर्षहरू त समाचार बनेर सेलाई सकेका छन्। कार्यक्रममा सहभागीको हैसियतले दुइटा कुरा भने मेरो मानसपटलमा ताजै छन्।
पहिलो आयोजकको रूपमा लक्जेम्बर्गवासी नेपालीहरूको एकता, खटन पटन र आतिथ्य र दोस्रो कार्यक्रमका अतिथि तथा पदाधिकारीहरूको आसन र भाषण मोह!
सानो तर सुन्दर लक्जेम्बर्गको सहरको एउटा कुनाको टुप्पोमा होटल बाहिर नेपालको राष्ट्रिय झण्डा फहराई रहेको थियो । होटलमा पुग्ना साथ स्वयं सेवक सेविकाको लस्करले सबैलाई स्वागत त गरे नै होटल बुकिङ नहुनेहरूको व्यवस्थापनदेखि सूचना र कम्फर्टको सवालमा आयोजक राष्ट्रका हिसाबले उनीहरूले कुनै कसर बाँकी राखेको देखिएन। झन्डै ३ सय नेपालीहरूको सानो समुदाय रहेको लक्जेम्बर्गका नेपालीहरूले यो दौरान अतिथि सत्कारको समर्पण र नेपालीहरूबीचको एकतालाई मनग्गे प्रदर्शन गरे । लक्जेम्बर्ग राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष नारायण गुरुङको नेतृत्वमा त्यहाँका प्राय: सबै नेपालीहरू स्वयंसेवामा कहीँ कतै खटिएका नै भेटिए ।
धेरैजसो रेस्टुरेन्ट व्यवसायमा आबद्ध नेपालीहरू काममा समेत आलोपालो गरेर आगन्तुकहरूको सेवामा लागेको देखियो। खानपान, आवास व्यवस्थापन, एयरपोर्ट पिक अपदेखि सहरको दृश्यावलोकन गराउने सम्ममा उनीहरूको प्रशंसायोग्य योगदान देखियो। श्रीमान-श्रीमती र छोराछोरीसहित परिवारका सबै सदस्यहरू कार्यक्रमस्थलमा खटिएर गरेको सत्कारले बैठकमा पुगेका युरोपभरका झन्डै ४ सय सहभागीहरूलाई एउटा पारिवारिक निम्तामा पुगेको जस्तो भान दिलाउनुले उनीहरूको अतिथ्यता अन्यत्रको भन्दा पृथक र विशेष नै थियो भन्न सकिन्छ ।
अब रह्यो कार्यक्रमहरूको संचालन, बैठकको उद्देश्य, विभिन्न सेसनहरूमा विभिन्न बुँदाहरूमाथिको छलफल र त्यसको निष्कर्षको कुरा । सधैँ जस्तो एनआरएन क्षेत्रीय बैठकहरूमा एकै किसिमका छलफल र एउटै फर्म्याटको निष्कर्ष र घोषणा हुनु कुनै नौलो कुरा होइन ।
सबै बैठकहरूमा नेपालमा लगानी भित्र्याउने, नेपाली नागरिकताको निरन्तरता, आप्रवासका युवा,महिला, भाषा लगायतका विषयगत समस्या र समाधान जस्ता बुँदाहरू एनआरएन बैठकका पर्याय नै बनिसकेका छन्। यसपालि पनि त्यस्तै भयो जस्तो पहिला पहिला हुन्थ्यो। विभिन्न सेसनहरू चले, छलफलहरू भए , नेपाल सरकारका परराष्ट्र मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्म छलफलमा सहभागी भए, निष्कर्षहरू बुँदामा उतारिए र घोषित बने। कार्यान्वयन हुने नहुने तपशिलको विषय रह्यो।
कार्यक्रम र छलफलहरूमा कतिपय सहभागीहरूले आफ्ना विचारहरू बग्रेल्ती राख्न नपाएको गुनासो पनि गरे। छलफललाई अझै अन्तरक्रियात्मक बनाउन सकेको भए राम्रो हुन्थ्यो, राउण्ड टेबल छलफलको कमी देखियो भन्ने गुनासाहरू पनि सुनियो।
तर, सबैभन्दा महत्वपूर्ण कुरा के लाग्यो भने अधिकांश सहभागीहरू अरुको कुरा सुन्नमा त्यति केन्द्रीत थिएनन् यस मानेमा कि उनीहरू आफ्नो भनाइ राख्न मात्र आतुर थिए। त्यसरी हेर्दा विचार पोख्नका लागि हो र बोल्ने बोल्नैका लागि हो भन्ने एउटा अचम्मको मनोविज्ञान यहाँनेर हावी भएको देखिन्छ । झनै रोचक रूपमा कतिपय सहभागीहरू आफ्नो भूमिका सकिएपछि हलमा देखा समेत परेनन्!
कार्यक्रमको समाप्तिपछि त कतिपय एनआरएन कै पदाधिकारीहरूले संयुक्त वक्तव्य नै निकालेर समेत आफूहरू बोल्न नपाएको, आसन र भाषणमा आफूहरुलाई प्रगेलिएको, प्रक्रियागत रूपमा बैठक सञ्चालन नभएको जस्ता कुराहरू बाहिर ल्याएको पाइयो।
कार्यक्रमहरूमा आफ्नोलाई काखा र अर्कोलाई पाखा गर्ने रोग एक त एनआरएनमा मात्रै होइन समग्र नेपाली डायस्पोराका प्राय: सबै संघ संस्थामा व्याप्त नै छ ।
त्यसैगरी अर्कोतिर 'आफू भलो त जगत भलो' भने जस्तै आफूले मान, सम्मान, कुर्सी र माइक पाए त्यो कार्यक्रम एकदमै ठीक नभए बेठीक भन्ने किसिमले जुन विरोधहरू बजारमा आउँछन्। ती आफैंमा विरोधाभाषपूर्ण छन्। कार्यक्रममा आफ्नै कारणले जान नमिलेर नजानेहरू पनि बहिष्कार गरे जसरी 'त्यो कार्यक्रमको काम छैन' भन्ने स्वाङ देखाउछन्! कार्यक्रममा गएर हालीमुहाली गर्नेहरू कार्यक्रमको यसरी प्रचार गर्छन् कि उनीहरू बाघै मार्न सफल भए। कार्यक्रममा पुगेर थोरै बोल्न पाउनेहरू कार्यक्रमको औचित्य स्वीकार गर्छन् तर समग्र सञ्चालन प्रक्रियाको विरोध गर्छन्।
आसन र भाषणको मोह हामी नेपालीमा अलि बढी नै देखिन्छ । प्रसंग सन्दर्भ जे सुकै होस् बस् बोल्नुपर्यो । अतिथिमा पनि बोलाइनु पर्यो। सम्मेलनको पूर्व सन्ध्यामा प्रवासमा नेपाली भाषा साहित्यसम्बन्धी एक अन्तरक्रिया तथा साहित्य सन्ध्या कार्यक्रम सञ्चालनको जिम्मा एनआरएन भाषा साहित्य विभागको सदस्यको हैसियतले मलाई दिइएको थियो।
नेपालबाट आउनु भएका साहित्यकर्मीद्वय डा. रवीन्द्र समिर र अमर न्यौपाने सोही कार्यक्रमको लागि नेपालबाट आमन्त्रित थिए।
सहभागीहरूसँगको सल्लाहपश्चात कार्यक्रमलाई फरक ढंगले सञ्चालन गर्ने निधो अनुरुप भाषण र मन्तव्यबाट नभएर अन्तर्क्रियात्मक संवादमार्फत् लेखकीय अनुभूतिहरू सुन्ने र सुनाउने तय भयो। साहित्य वाचन अगाडिको योजना मुताविक जीवा लामिछानेसहित लेखकद्वयको संवाद निकै रोचक र आकर्षक पनि बन्यो। कार्यक्रमको अध्यक्षता मात्र गराएर कार्यक्रम सञ्चालन गर्ने सुर कसेको मलाई त्यतिखेर ठेस लाग्यो जतिखेर हलबाट अतिथि बनाइनु पर्नेहरूको लिस्टको लर्को थमाइदै गयो। आखिर उही कर्मकाण्ड न हो ! पछाडिको काव्य वाचनले केही रोचकता र मनोरञ्जन थपेपछि धन्न अगाडिको आसन ग्रहणको लर्को सायद स्रोता, दर्शकहरूले बिर्सिए होलान्।
कार्यक्रमका अन्य धेरै सेसनहरूमा आसन र भाषणका यस्तै प्रकृयाहरू दोहोरिँदै गए। ‘कभी खुसी कभी गम’ भने जस्तै गुनासा पनि सुनिए प्रशंसा पनि सुनिए |
जे होस् यसपालि पनि त्यस्तै भयो जस्तो पहिला पहिला हुन्थ्यो । न रोइलो गर्नुपर्ने देखियो न उत्सव । तर संघको महत्वपूर्ण जिम्मेवारी सम्हालेका केन्द्रीय पदाधिकारीको कार्यक्रमसम्बन्धी सार्वजनिक गुनासो शोभनीय भने पक्कै रहेन।
सरकारको नागरिकतासम्बन्धी धारणा माग गर्नेहरूलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको मन्तव्यले लालबाबु वाला घाउमा केही मलम लगायो। लक्जेम्बर्गका प्रधानमन्त्रीको सन्देश र सरकारकै मन्त्रीको उपस्थिति र सम्बोधनमा नेपाल र नेपालीपन केही उचो महशुस भयो।
नेपाल र नेपालीलाई केन्द्रमा राखेर छलफल भाषण र मन्तव्य भए। नेपालमा लगानी र प्रतिफलसम्बन्धी सरोकारवालाहरूले प्रिजेंटेसन गरे , पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो देखाइए, नेपालबाट आएका कलाकारहरूले नचाए, साहित्यकारहरूले साहित्य संवाद गरे, नेताहरूले भाषण गरे ।
कार्यक्रमहरूमा जे हुन्छ त्यही भए जस्तै लाग्यो। कार्यक्रम हलभित्र विरलै देखिएका एक जना सहभागी भन्दै थिए 'यसपालिको युरोप होलिडे राम्रै भयो, युरोपका अन्य सहरको किचलो भन्दा बाहिर निकै शान्त ' सायद उनी न हलमा न कार्यक्रमको किचलो भित्रै नै छिरे। कार्यक्रमको महत्व बाहेक भेटघाट र छुट्टीको एउटा बाहना बन्दै आएको एनआरएन सम्मेलनहरू मध्येकै यो युरोप भेला पनि उनकै भनाइमा 'कसरी नरमाइलो भयो भन्न सकिएला र रमाइलै भयो' सानो ठाउँ रहेछ उति घुम्न भने पाइएन । 'कुल ब्रेक', उनले थपे !
हामी हिँड्ने दिन जुलाई ३१ मंगलबारसम्म पनि लक्जेमबर्ग हिल्टन होटल बाहिरको पोलमा नेपालको चन्द्र सूर्य अंकित झण्डा भने फहराई रहेको थियो। लक्जेम्बर्गका नेपालीको एकता र आतिथ्य अरु देशका नेपालीले पनि सिको गरे हुन्थ्यो भन्दै हामी बाहिरियौं।