आइतबार बेलायतको अल्डरसट साँच्चीकै नेपालमय बन्यो। गुल्मी समाज यूकेले आयोजना गरेको वार्षिक भेला एक सांस्कृतिक मेलाकै रुपमा सम्पन्न भयो।
कार्यक्रममा प्रस्तुति गर्न नेपालबाट आएका लोकदोहोरी कलाकारद्धय बैकुण्ठ महत र सुशीला गौतमले दर्जनौं लोकगीत र प्रत्यक्ष दोहोरी प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन दिए।
कार्यक्रमको अर्को रोचक आकर्षण प्रथम नौमति बाजा गुल्मी यूके समूहको विशेष प्रस्तुति थियो ।
त्यससबाहेक कार्यक्रमस्थलमा सहभागीले फरक फरक समूहमा एकैसाथ मौलिक गुल्मेली ठाडो भाका, झयाउरेदेखि रोइला, भजन र तीजगीतका नाचगानसम्म प्रस्तुत गरिरहँदा माहौल नेपालमय बनेको थियो।
कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट आएका झण्डै १२ सयको सहभागिता रहेको समाजले जनाएको छ ।
कार्यक्रममा भाग लिन लण्डन र आसपासका क्षेत्रहरुबाहेक बर्मिंगहम, नटिंगहम, लेस्टर, पिटरबरो, स्कटल्याण्ड लगायतका क्षेत्रबाट उल्लेख्य संख्याका गुल्मेलीहरु अल्डरसट भेला भएका थिए।
राम गलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष अर्जुन गौतमसहित बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी सहभागी थिए ।
सन् २००७ मा स्थापित बेलायतका गुल्मेलीहरुको यो साझा संस्थाले अहिलेसम्म नेपालमा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै नेपालमा करोडौं रूपैयाँ बराबरको मानवीय सहयोग गरिसकेको छ।
समाजले हरेक वर्ष गर्ने वार्षिक भेलाको कार्यक्रममा बेलायतको नेपाली समुदायमा आयोजना हुने ठूलो इभेन्टहरुमध्येको एक मानिन्छ।