नेपाल सरकारका पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले संविधानमा प्रत्याभूत भईसकेको एनआरएनको पहिचान र अधिकार तलमाथि नहुने बताएका छन्।
आईतबार एनआरएन यूरोपको ११ औं बैठकको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले एनआरएनको नागरिकता सम्बन्धी प्रावधान नेपालको संविधान उल्लेख भईसकेकाले कसैको व्यक्तिगत भनाईमा चित्त नदुखाउन गैर आवासीय नेपालीलाई अनुरोध गरेका हुन्।
‘व्यक्तिगत रुपमा कोही साथीहरुको भनाईबाट चित्त दुखेको छ भने ‘सरी’ भन्न चाहन्छु सरकारको धारणा के हो भन्ने कुरा मुख्य रहन्छ’, कसैको व्यक्तिगत भनाई नेपाल सरकारको आधिकारिक नहुने बताउँदै मन्त्री ज्ञवालीले भने।
वर्तमान सरकारका एक मन्त्रीले गैर आवासीय नेपालीप्रति गर्ने कटाक्षमाथि उद्घाटन सत्रमा वक्ताले सरकारको आधिकारिक धारणा आउनुपर्ने माग गरेका थिए।
सोही विषयमा बोल्दै एनआरएन पूर्वअध्यक्ष जीवा लामिछानेले नागरिकता सम्बन्धी कानुन बनाईसक्नुपर्ने मिति नजिकिदै गर्दा एनआरएनको सबैभन्दा महत्व र चासोको यो बिषयमा देखिएका आशंकालाई प्रष्ट पार्न मन्त्री ज्ञवालीलाई अनुरोध गरेका थिए।
'आजका मितिदेखि संविधानमा तोकिएको अधिकार तलमाथि हुन्छ की भन्ने शंका हटाई दिनुभए हुन्छ, नेपाल सरकारको तर्फबाट यो कुरामा आश्वस्त पार्न चाहन्छु', मन्त्री ज्ञवालीले अगाडि भने।
केही समय पहिले नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एनआरएनलाई नागरिकता दिन नसकिने बताएपछि एनआरएन वृतमा आशंकाका प्रश्नहरु उठ्ने गरेका थिए।
सोहीतर्फ लक्षित गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल सरकारको धारणा प्रष्ट्याएका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपालको आर्थिक विकासमा एन आर एन सरकारको साझेदार बन्नुपर्ने बताए।
साथै उनले नेपालको पर्यटन प्रवर्दन गर्न र आर्थिक विकासको लागि आवश्यक पर्ने लगानीको सवालमा एनआरएनको विशेष भूमिका रहने बताए।
उनले एनआरएनको लगानीमा हुने ब्यवसायको सहज सञ्चालनको लागि वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्दता समेत व्यक्त गरे।
कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो व्यक्तिगत विचारमा एनआरएनलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्ने बताए।
देशमा रोजगारी पाउन नसकेर विदेश पुगेका नेपालीलाई ज्ञान सिप र पूँजीसहित स्वदेश फर्किन चाहेमा वन्देज लगाउन खोज्नु गलत भएको समेत डा. भट्टराईले बताए।
साथै उनले आर्थिक विकास र संवृद्धिको लागि चिन्तन र सोच प्राथमिकताका रुपमा परिवर्तन हुनुपर्ने बताए ।
कार्यक्रममा लक्जेम्बर्ग सरकारका शिक्षा युवा तथा बालबालिका मन्त्री कलाउदे मेईसले नेपाल र लक्जेम्बर्गको सम्बन्ध जनस्तरीय रहेको बताउँदै नेपालको विकासमा सहकारी गर्न लक्जेम्बर्ग सदैव तयार रहेको बताए।
उनले मन्तव्यको क्रममा गैर आवासीय नेपालीहरुले नेपालको विकासमा बिशेष भूमिका खेल्न सक्ने बताएका थिए ।
कार्यक्रमलाई एन अआर एन अध्यक्ष भवन भट्ट लगायत नेपालबाट आमन्त्रित वक्ताहरुले सम्बोधन गरेका थिए।
दुई दिनसम्म चल्ने एनआरएन यूरोप बैठकमा नेपालमा लगानी, पर्यटन प्रवर्दन, आप्रवास , सिप स्थानान्तरण लगायतका शीर्षकमा बिभिन्न सेसन मार्फत सम्बन्धित क्षेत्रका विज्ञहरुको सहभागितामा अन्तर्क्रियात्मक सेसनहरु चलिरहेका छन्।