नेपालको संघीय संसदमा बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सूर्य पाठकलाई बेलायतमा स्वागत तथा सम्मान गरिएको छ।
लामो समय प्रवासमा कार्यरत रही नेपालको सकृय राजनीतिमा फर्किएका सांसद पाठकलाई बेलायतमा बाग्लुङ समाज-यूकेले एक अन्तरकृया कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो।
आईतवार ह्यारो फूटबल क्लबको सभाहलमा सम्पन्न कार्यक्रममा सांसद पाठक बेलायतमा रहने जिल्लावासीसँग अन्तरंगित बनेका थिए।
हाल बेलायत भ्रमणमा रहेका पाठक गैर आवासीय नेपाली संघका सल्लाहकार समेत हुन्।
नेपाल ब्रिटेन डट कमको एघारौँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा सांसद पाठकले गैर आवासीय नेपाली संघ आवद्ध व्यक्तिहरु समेतको जिज्ञासाहरुको जवाफ दिएका थिए।
उक्त अवसरमा नेपाल ब्रिटेन डट कमको आयोजनामा बेलायतको नेपाली समाजमा योगदान पुर्याउने दश जना व्यक्तित्वलाई सम्मान गरिएको थियो।
बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी तथा सांसद पाठकले खादा टोपी र प्रमाणपत्रले सम्मान गरेका थिए।
टप टेन अन्तर्गत सम्मानित हुनेमा बेलायतको जोन मोर यूनिभर्सिटीमा कार्यरत प्रोफेसर पदम सिंखडा, बेलायती सेनामा कार्यरत लेफ्टिनेन्ट कर्णेल टोल खाम्चा, गोर्खा भूपू सैनिक संघका कृष्ण कुमार राई, तमु धी यूकेका अध्यक्ष ज्ञाम गुरूङ, बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, सहारा यूकेका अध्यक्ष मिन बहादुर गुरूङ, एन बि सी यूके पूर्व अध्यक्ष कमल राज खनाल, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकाल, ग्रेटर रश्मूर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेल्वासे र नायिका जसिता गुरुङ छन्।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीलाई 'डिप्लोम्याट अफ द डिकेड' को रुपमा सम्मान गरिएको थियो।
चिरन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन र संचालन राम शरण सिंखडाले गरेका थिए। कार्यक्रममा एन आर एन यूके अध्यक्ष योग कुमार फगामी लगायत बिभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति थियो ।
यसैबीच सांसद पाठकले सोमबार बेलायती संसदको अवलोकन समेत गरेका छन्। यूरोप भ्रमणकै शिलशिलामा सांसद पाठक यही जुलाई २९ / ३० मा लक्जेम्बर्गमा आयोजना हुने गैर आवासीय नेपाली संघको यूरोप क्षेत्रीय सम्मेलनमा भाग लिन जाने बताईएको छ।