बेलायतबाट नेपाल भ्रमणमा जाने बेलायतीको संख्या बढेको तथ्यांक लण्डनस्थित नेपाली दूतावासले दिएको छ। राजदूत दुर्गाबहादुर सुवेदीले सन् २०१७ को १ वर्षभित्र ५१ हजार बेलायती नेपाल भ्रमणमा गएको जानकारी गराए।
नेपाल भ्रमण वर्ष २०१८ बारे जानकारी दिन दूतावासमा आयोजित कार्यक्रममा राजदूत सुवेदीले यस वर्ष यो संख्या ६० हजारसम्म पुग्ने अपेक्षा पनि रहेको बताए।
सन् २०१६ को तुलनामा त्यसको एक वर्षपछि नेपाल जाने बेलायती पर्यटकको संख्या ११ हजारले बढेको हो।
त्यस अवसरमा राजदूत सुवेदीले भूकम्पबाट भत्किएका कैयौं संरचना निर्माण गरिएको जानकारी दिए। देशले आर्थिक समृद्धि हासिल गर्न पर्यटनको महत्व बुझेर नेपाल सरकारले सोहीअनुसार तयारी गरिरहेको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि लर्ड शेखले नेपालको आर्थिक विकासमा बेलायत सरकार एक सच्चा सहयोगी मित्रराष्ट्रका रुपमा सहयोग गर्न सधै तयार रहने बताए ।
सोही अवसरमा राजदूत सुवेदी र कार्यक्रमका प्रमुख अतिथि लर्ड शेखले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुभारम्भ गरेका थिए।
कार्यक्रममा नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न प्रिजेन्टेसनहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतको नवनिर्वाचित कार्यसमितिलाई सम्मान पनि गरिएको थियो भने विभिन्न स्थानीय कलाकारले समेत प्रस्तुति दिएका थिए।