नेपाली संस्थापकद्वारा स्थापित अन्तर्राष्ट्रिय सोसल इकमर्स कम्पनी 'सगुन' ले आगामी जुलाई २६ सम्मको लागि लगानी गर्ने अन्तिम अवसर खुला गरेको छ।
अमेरिका, बेलायत, अष्ट्रेलिया ,कोरिया, मध्यपूर्व, भारत र नेपाल लगायत संसारभर रहेका बिषेशतः नेपालीको लगानी रहेको कम्पनी सगुनमा यो लगानीको अन्तिम अवसर रहेको सगुनका संस्थापक तथा सीईओ गोविन्द गिरीले बताए। सगुनका कार्यकारी प्रमुख गिरीले एक बक्तब्य जारी गर्दै लगानीको यो अवसरमा सबै नेपालीलाई सहभागी बन्न आव्हान गरेका छन्।
सन् २०१४ मा अमेरिकामा स्थापना भएको सगुनको भ्यालुएसन ९ करोड ५० लाख डलर (करिब ९ अर्ब ५० करोड रुपैयाँ) पुगेको छ।
सगुनले विश्व बजारमा मिनी आइपिओ जारी गरिरहेको छ। जुलाई अन्तिम साता पछि यसको सेयर निस्कासन बन्द हुने बताईएको छ। त्यसपछि नयाँ भ्यालुएसन गरिने सगुनले जनाएको छ।
यसअघि सगुनमा मिडिया ग्रुप हिन्दूस्तान टाइम्सले ५० लाख डलर (करिब ५५ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरिसकेको छ।
बेलायतका नेपालीहरु पनि आकर्षित
बेलायतमा बस्ने नेपालीले पनि सगुनमा यसअघि नै उल्लेख्य लगानी गरिसकेका छन्। बेलायतमा सगुनको एक अभियान्ताको रुपमा क्रियाशील ब्यावसायी तथा समाजसेवी सूर्य गुरूङका अनुसार यो पटकको लगानी आव्हानमा अझै धेरै नेपालीले लगानी गर्ने ईच्छा प्रकट गरेका छन्। 'साधारण शेयर निष्काशनको अन्तिम पटक भएकोले पनि बेलायतका नेपालीको उत्साहपूर्ण सहभागिता हुने देखिएको छ', सेतोपाटीसँगको कुराकानीमा गुरूङले भने, 'यो मौकाको सदुपयोगमा यहाँस्थित नेपालीहरु नचुकुन् भन्ने हाम्रो चाहना हो’, गुरूङले अगाडि भने।
हालसम्म सगुन प्रयोगकर्ताको संख्या २५ लाख नाघिसकेको छ। सामाजिक संजाल प्रयोग गरे बापत प्रयोगकर्तासमेतले लाभांश प्राप्त गर्न सक्ने अवधारणामा यसको स्थापना गरिएको हो।