संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गैर आवासीय नेपालीविरुद्ध अभिव्यक्ति दिएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएन ) यूकेले आपत्ति प्रकट गरेको छ ।
बुधबार लण्डनमा एक पत्रकार सम्मेलन नै गरेर एनआरएन यूकेले संविधानको मर्म विपरित बोल्ने मन्त्री पण्डितलाई आफ्नो अभिव्यक्ति सच्चाउन समेत माग गरेको छ ।
एनआरएनहरुबिरुद्धको मन्त्री पण्डितले आफ्नो अभिव्यक्ति र दृष्टिकोणमा परिवर्तन नल्याए संस्थागत रूपमै विरोध र बहिस्कारसम्म गर्ने चेतावनी एनआरएन यूकेले दिएको छ ।
पत्रकार सम्मेलनमा एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले एनआरएनहरुविरुद्ध नेपाल सरकारका जिम्मेवार मन्त्रीले नै दिएको अभिव्यक्तिको समयमै विरोध गर्न आफूहरुले आवश्यक ठानेको बताए ।
यस विषयमा प्रभावकारी कदम चाल्न एनआरएन आइसिसीलाई समेत अध्यक्ष फगामीले आग्रह गरे ।
एनआरएन यूके महासचिव आरके त्रिपाठीले आफ्नो अभिव्यक्ति सच्चाएर सम्पूर्ण गैरआवासीय नेपालीको भावनालाई सम्मान गर्न मन्त्री पण्डितलाई आग्रह गर्दै त्यसो नभएर विरोध र बहिस्कार समेत गरिने चेतावनी दिए।
केन्द्रीय उपाध्यक्ष कुल आचार्यले सम्पूर्ण गैरआवासीय नेपालीहरुविरुद्ध नेपाल सरकारकै जिम्मेवार मन्त्रीले नै बोल्नु दुखद रहेको भन्दै यसबारे एनआरएन केन्द्रले पनि आवश्यक पहलहरु गरिरहेको बताए ।
एनआरएन यूकेका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष मेजर रिटायर्ड डम्बर घले र पूर्व अध्यक्ष योगेन क्षेत्रीले पनि मन्त्री पण्डितका अभिव्यक्तिहरुबाट सम्पूर्ण गैरआवासीय नेपालीहरुको भावनामा चोट परेको भन्दै यसलाई सच्चाउन आग्रह गरे ।
पत्रकार सम्मेलनमा एनआरएन आइसिसी सदस्यहरु शान्ति थापा कुँवर र कुमारी गुरुङ, एनआरएन यूकेका उपाध्यक्षत्रय प्रेम गाहा मगर, ललित न्यौपाने र शेर सुनार, सचिव नारायण गाउंले, सदस्य होमनाथ पौडेल, सल्लाहकारहरु डेभिड गुरुङ, बाचस्पति रेग्मी, भुपेन्द्र गुरुङ, सुर्य नेम्वाङ, दधि आचार्य लगायतले पनि मन्त्री पण्डितको अभिव्यक्तिप्रति एनआरएनले संस्थागत रुपमै विरोध गर्नुपर्ने धारणा राखेका थिए ।
यस सम्बन्धमा एन आर एन आईसीसीले भने कुनै औपचारिक प्रतिक्रिया बाहिर ल्याईसकेको छैन ।