बेलायतमा छैठौं इन्टर युनिभर्सिटी नेपाली नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार बेलायतको अल्डरसटमा सम्पन्न प्रतियोगितामा बेलायतभरका विभिन्न १६ वटा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच सामुहिक नृत्य प्रतिस्पर्धा भएको थियो ।
जसमध्ये रोह्याम्पटन युनिभर्सिटी प्रतियोगिताको विजेता बन्यो भने फस्र्ट रनर अप ईस्ट लण्ड युनिभर्सिटी र सोआस युनिभर्सिटी तथा सेकेण्ड रनर अप क्वीन म्यारी युनिभर्सिटी र युनिभर्सिटी कलेज लण्डन (युसिएल) भए।
किंग्स्टन युनिभर्सिटी नेप्लिज सोसाइटीको आयोजनामा उक्त प्रतियोगिता आयोजना भएको थियो भने निर्णायकको भूमिका समिर गुरूङ, सुजाता राई, जेनी सुनुवार र पवन कँडेलले गरेका थिए ।
प्रतियोगिताको विजेता टिमलाई ५ सय, फस्र्ट रनर अपलाई ३ सय र सेकेण्ड रनर अपलाई २ सय पाउण्ड नगद पुरस्कार र ट्रफी प्रदान गरियो ।
बेलायती विश्वविद्यालयअन्तर्गत रहेका नेप्लिज सोसाइटीहरुको संयुक्त पहलमा विगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना हुँदै आएको छ । हरेक वर्षको विजेता टोलीले अर्को वर्षको प्रतियोगिता आयोजना गर्ने परम्परा छ ।
प्रतियोगिता हेर्न सयौंको संख्याका विद्यार्थी तथा अन्य नेपाली कार्यक्रमस्थल पुगेका थिए ।