बेलायतमा कार्यरत नेपाली नर्सको संस्था नेप्लिज नर्सिङ एशोसिएसन यूकेले आफ्नो दशौं वार्षिकोत्सवमा एक च्यारिटी कार्यक्रमको आयोजना गर्ने भएको छ।
आउँदो अगस्ट २४ मा लण्डनमा गरिने उक्त कार्यक्रमबाट जुम्लामा निर्माणाधिन मातृशिशु केन्द्रका लागि कोष संकलन गर्ने लक्ष्य राखिएको छ।
मंगलबार लण्डनमा पत्रकार सम्मेलन गर्दै उनीहरूले कार्यक्रममा सहयोग गरिदिन बेलायतबासी नेपाली तथा संघसंस्थाहरुलाई अपील गरेका छन्।
एशोसिएसनकी अध्यक्ष प्रसुना कँडेलले गत मार्चदेखि जुम्लाको सिंजा गाउँपालिकामा निर्माण सुरु भएको मातृशिशु केन्द्रको लागि १४ हजार पाउण्ड यसअघि नै संकलन भइसकेको जानकारी दिइन्।
करिब ४२ हजार पाउण्डको ५ वर्षीय प्रोजेक्टका लागि आवश्यक अन्य रकम जुटाउन च्यारिटी गर्न लागिएको हो।
एक्सन वक्र्स नेपालको सहकार्यमा निर्माणाधिन मातृशिशु केन्द्रका लागि सबै लगानी भने एशोसिएसनले नै जुटाउँदैछ। २ वर्षभित्र निर्माण पूरा गर्ने र त्यसपछि ३ वर्ष केन्द्र सञ्चालन गरेर स्थानीय सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ।
पत्रकार सम्मेलनमा एशोसिएसनका उपाध्यक्ष विनोद विकास सिंखडा, कोषाध्यक्ष गंगा साम्पाङ, पूर्वअध्यक्ष वासु लामिछानेलगायतले कार्यक्रममा सहयोग तथा सहभागिताका लागि समुदायसमक्ष आव्हान गरेका थिए।
कार्यक्रममा एनआरएन यूके, नेप्लिज डक्टर्स एशोसिएसन यूकेलगायतका संस्थाको ऐक्यबद्धता रहेको र बेलायतस्थित अन्य संस्थासँग पनि सहकार्यको लागि पहल भइरहेको बताइएको छ।