विश्व वातावरण दिवसको अवसर पारेर लन्डनस्थित साहित्यकारले वातावरणसँग सम्बन्धित साहित्य सृजनाको प्रस्तुतीसहित लन्डनमा एक कार्यक्रमको आयोजना गरेका छन्।
वातावरण साहित्य बेलायतको आयोजनामा सम्पन्न कार्यक्रममा यहाँस्थित एक दर्जन बढी नेपाली साहित्यिक संघ संस्थाहरूले सहभागिता जनाएका थिए।
अन्यत्रभन्दा पृथक रूपमा लालिगुराँस फूललाई कार्यक्रमको सभापति मानेर मञ्चमा आसिन गराउँदै कार्यक्रम शुरू गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी र नेपालबाट आएका अतिथि गीतकार भाभेस भुमरीले सभापति लालीगुराँसको गमलामा जल सिञ्चित गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
उक्त अवसरमा वातावरण सम्बन्धी सृजनाहरुको संगालो 'स्वच्छन्द शुशेली' को बिमोचन गरिएको थियो। बेलायतका सृजनशील नेपाली कविका १ सय ४ वटा वातावरण सम्बन्धी कविताहरु समेटिएको कविता संग्रहको सम्पादन वातावरणविद तथा साहित्यकार विजय हितान मगरले गरेका हुन्।
कार्यक्रममा गत वर्षको 'ईको' कवितामा उत्कृष्टता हासिल गर्ने कवि द्वय दुर्गा प्रसाद पोख्रेल र सन्तोष कार्कीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
त्यसैगरी यसपालीको कार्यक्रममा उत्कृष्ट रचना पस्किने कवि लाहाङ चेम्जोङलाई प्रमाणपत्रसहित लालीगुराँस पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा दर्जनौं साहित्यकारले कविता मुक्तक तथा गजलहरु वाचन गरेका थिए। विजय हितान मगरको संयोजनमा वातावरण साहित्य बेलायतले प्रत्येक वर्ष बेलायतमा वातावरण साहित्य कार्यक्रम आयोजना गर्दै आईरहेको छ।