लण्डनमा मनाइयो पृथ्वी जयन्ती


एकीकृत नेपालका निर्माता पृथ्वी नारायण शाहको २९६ औं जन्म जयन्ती लन्डनमा एक कार्यक्रमको आयोजना गरेर मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली दुतावास लन्डनका प्रतिनिधी, एन आर एन तथा बिभिन्न सामाजिक अगुवाहरुले राष्ट्रिय एकताको सन्दर्भमा पृथ्वी जयन्तीको महत्व माथी प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख  अतिथी नेपाली दूतावास लन्डनका डेपुटी चिफ अफ मिसन शरद राज आरणले आजको गणतान्त्रिक नेपालमा पृथ्वी नारायण शाहले प्रदान गरेको  राष्ट्रिय एकताको संदेश उत्तिकै सान्दर्भिक रहेको  बताए । ऐतिहासिक मूल्य मान्यताको संरक्षण स्वरूप नै नेपाल सरकारले आजको दिनलाई सार्वजनिक विदा दिने निर्णय गरेको समेत उनले बताए ।

कार्यक्रमका बिशेष अतिथी समाजसेवी डा. राघव धितालले यसपाली देखी पृथ्वी जयन्ती मनाउने नेपाल सरकारको कदम स्वागत योग्य रहेको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्यले अनेकतामा एकता बोकेको पृथ्वी जयन्ती मनाउनु सुखद रहेको उल्लेख गरे ।

त्यसैगरी कार्यक्रममा  बुद्धिजीवी तथा लेखक विकल चन्द्र आचार्यले गोर्खाका राजा पृथ्वीनारायण शाह भन्दा पहिले र पछिको  ऐतिहासिक पृष्ठभूमिको बिबेचानात्मक चर्चा परिचर्चा गरेका थिए ।

कार्यक्रमका  आयोजक तथा संयुक्त राष्ट्रवादी संगठनका अध्यक्ष  भारत रोका छेत्रीले आफुहरुले सन् २००७ देखीनै पृथ्वी जयन्ती मनाउन शुरु गरेको बताउदै यसले राष्ट्रिय मान्यता प्राप्त गरेकोमा खुशी व्यक्त गरे । साथै उनले आगामी दिनमा यस्तो कार्यक्रम दुतावास स्वयंले आयोजना गर्नेमा आफु आशावादी रहेको बताए ।

समाजसेवी तथा ब्यावसायी शिवजी श्रेष्ठले पृथ्वी नारायण शाहलाई नेपाल एकीकरणको दौरान युद्दमा अपनाईएको युद्द रणनितीका आयाम हरुलाई गलत ब्याख्या गर्दै उनको विरोध गर्नु अशोभनीय रहेको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली  संघ बेलायतका उपाध्यक्ष ललित कुमार न्यौपाने, पूर्व बिबिसी नेपाली प्रमुख खगेन्द्र नेपाली , साहित्यकार सुरेशजंग शाह , हरि सिंह थापा , पत्रकार बाचस्पति रेग्मी , प्रवासी नेपाली मंचका अर्जुन चापागाई , गायक योगेश्वर आमात्य लगायतले मन्तब्य दिदै नेपाल एकीकरणमा  पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय स्वाभिमान झल्किने कविताहरु समेत  वाचन गरिएको थियो ।  कार्यक्रमको शुरुवातमा अतिथीहरुले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।

समारोहमा हेमन्त पौडेलले स्वागत मन्तब्य दिदै पृथ्वीनारायण सम्बन्धीको आलेख वाचन गरेका  थिए भने कार्यक्रमको संचालन चेतमान केसीले गरे । कार्यक्रमको दौरान संगीतकर्मी मदन पौडेलले सारंगीको  मंगल धुन प्रस्तुत गरे ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.