ब्लड मनि तिर्न नसक्दा टोपबहादुर घर फर्किन सकेनन्, सहयोगको अपिल


युएईमा तीन वर्षअघि दुर्घटनामा मारिएका दुई विदेशी नागरिकको परिवारलाई ब्लडमनि तिर्न नसक्दा चितवनका टोप बहादुर विश्वकर्माको घर फिर्ती अनिश्चित बनेको छ।

कम्पनीको काम गर्ने क्रममा सन २०१४ , जुनमा अलएनमा भएको दुर्घटनामा थाइल्यान्डका दुई  नागरिकको मृत्यु भएपछि अदालतले सुनाएको फैसला बमोजिम विश्वकर्माले नगद १ लाख दिराम (नेपाली करिब ३० लाख) ब्लड मनि तिर्नुपर्ने छ। तर विश्वकर्मा एक्लैले त्यत्रो रकम जोहो गर्न नसक्दा उनको स्वदेश फिर्ती अनिश्चित बन्दै गएको हो।

अलएनको लिमा कन्ट्र्या्क्टिङ कम्पनीमा रिगरको रूपमा कार्यरत रहँदा उक्त दुर्घटना भएको थियो। दुर्घटना हुँदा उनी क्रेन अपरेटरको हेल्परको रूपमा काम गरिरहेका थिए भने क्रेन एक पाकिस्तानी नागरिकले चलाएका थिए। उक्त क्रेन साका गल्फ नामक कम्पनीको थियो। दुर्घटनामा क्रेनको बकेट खसेर थाइल्यान्डका दुई नागरिकको मृत्यु भएको थियो।

प्रहरीले तत्कालै क्रेन अपरेटर र उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो। दुई दिनपछि अलएन अदालतले ती दुवैलाई जेल चलान गरेको थियो।

तीन महिना पछि सेप्टेम्बर १ मा अदालतले उक्त घटनाको सुनुवाई गर्दै २ महिना जेल र ब्लड मनि तिर्नुपर्ने फैसला गरेको थियो। सोही दिन विश्वकर्माले उक्त घटनाको पुनः छानबिनका लागि उच्च अदालतमा अपिल गरेका थिए। उच्च अदालतले अक्टोबर २१ तारिख पासपोर्ट फिर्ता दिएर जेल मुक्त गर्न आदेश दिएको थियो। उनी ४ महिना २२ दिन जेल बसेर अक्टोबर २२ मा जेल मुक्त भएका थिए। रिहाईको बेला अदालतको फैसला आफूले राम्ररी नबुझेको उनले बताए।

अदालतको फैसला बमोजिम नगद २ लाख दिराम ब्लड मनि तिर्नुपर्ने थियो। जसमध्ये १ लाख क्रेन कम्पनीले र बाँकी १ लाख लिमा कन्ट्र्या्क्टिङ कम्पनी र टोपबहादुर विश्वकर्माले तिर्नुपर्ने भयो। जेलमुक्त भएपछि उनले पुनः कम्पनीमा काम गर्न थाले। त्यतिबेलासम्म पनि आफूले ब्लड मनि तिर्नुपर्ने बारे थाहा नभएको उनले बताए।

दुर्घटनामा आँखै अगाडि दुई व्यक्तिको मृत्यु देखेर विक्षिप्त बनेका विश्वकर्माले जेलमुक्त भए लगत्तै कम्पनीलाई आफू घर जाने बताएका थिए। तर कम्पनीले भोलि भोलि भन्दै टारेको उनले बताए। घर जाने अडान कसेपछि कम्पनीले अदालतको फैसला बमोजिम ब्लड मनि नतिरी जान नपाउने बताउँदा आफू छाँगाबाट खसेको उनले बताए ।

उनले पछिल्लो ५ महिना नेपाली दूतावास धाएरै बिताए। दूतावासका जिम्मेवार पदाधिकारीहरुले उनको समस्यालाई गम्भीरतापूर्वक नलिएको उनको दुःखेसो छ। नेपाली दूतावास युएईका जनसम्पर्क अधिकृत ईर्फानसँग पटकपटक आफ्नो केसको बारेमा बुझेर सहयोग गरिदिन आग्रह गर्दा यस्ता समस्या हजारौंको हुने बताउँदै कोही एक व्यक्तिको लागि मात्रै अदालत गएर बुझ्न नसकिने जवाफ दिएको विश्वकर्माले गुनासो सुनाए।

सहयोगको अपिल

बाल्यकालमै बाबूआमा गुमाएका चितवन खैरेनीका टोपबहादुर विश्वकर्मा सुनौलो भविष्यको सपना देख्दै सन २०१० मा युएई छिरेका हुन्। काठमाडौंको बसुन्धारास्थित गुरुङ मेनपावरबाट उनी लिमा हेभी ईन्डिस्ट्रीज कम्पनीमा काम गर्न युएई आएका थिए।

कोरियाली मालिकले ३ वर्ष पछि लिमा कन्ट्र्या्क्टिङ कम्पनी खोलेर भिसा परिवर्तन गराएको थियो। उक्त बेलादेखि उनले यही कम्पनीमा क्रेन अपरेटर हेल्पर (रिगर) को काम गरे।

२०१४ मा भएको उक्त दुर्घटनामा उनी बलिको बोको बने। अब अदालतको फैसला परिवर्तन हुने सम्भावना छैन। कम्पनी र उनले तिर्नुपर्ने १ लाख दिराममा पनि उनको भागमा ५० हजार दिराम पर्न जान्छ। यो भनेको नेपाली करिब १५ लाख हुन्छ। यता कम्पनी पनि घाटामा गएको भन्दै गत जुलाईदेखि बन्द भएको छ। यस्तो स्थितिमा विश्वकर्माले सहयोगको लागि हात अघि बढाएका छन्। आफू चाँडै घर जान चाहेको उनले बताए।

सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘कम्पनी समेत बन्द भयो, आफूसँग एक पैसा छैन। कसरी हुन्छ घर जाने वातावरण बनाईदिनु पर्‍यो।’ घरको जेठो छोरो भएकाले सम्पूर्ण अभिभारा उनको काँधमा छ। तर पैसाको जोहो नहुन्जेल बाटो खुल्ने स्थिति छैन। त्यसैले उनले सम्पूर्ण नेपाली संघसंस्था र समुदायलाई सहयोगको अपिल गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.