सिन्धुपाल्चोक राम्चेकी शान्ती तामाङ सन २०१० मा दिल्ली हुँदै दलाल मार्फत दुबई आइन। दुबई झरेको ३ दिनमै उनलाइ अजमानस्थित एक स्थानीयको घरमा काम गर्न पठाईयो। खान, बस्न सहित मासिक १ हजार दिराम उनले पाउने भइन।
सानो परिवार भएकोले काम पनि सहज, पारिश्रमिक पनि वहाँलाई चित्त बुझ्यो। २ वर्ष काम गरिसकेर उनी बिदामा घर गइन। फर्किएर आइन। पुनः काममा लागीन। एवं रितले निरन्तर उनि सोही घरमा कार्यरत छिन। घरेलु कामदारका रूपमा।
शोभा त एक प्रतिनिधि पात्र मात्रै हुन। युएईमा करिब १० हजार नेपाली महिला दिदिबहिनी घरेलु कामदारको रूपमा कार्यरत छन। यद्यपि दूतावासको तथ्यांकमा भने यो संख्या कम छ। दूतावास भन्छ 'हाम्रो रेकर्डमा करिब २५ सय नेपाली महिला मात्रै घरेलु कामदारको रूपमा कार्यरत छन।' तर यो तथ्यांक यथार्थ भन्दा फरक छ।
श्रम मन्त्रालयबाट स्वीकृति नलिई अन्य माध्यमबाट युएई आएर घरमा काम गरिरहेका नेपाली महिलाहरुको संख्या अधिक रहेको छ यहाँ। ती मध्ये कोहि त दशक अघिदेखि निरन्तर कार्यरत पनि छन्। घरमा हुँदा मेलापात र चुलोचौका गरेका दिदिबहिनीहरुलाई विदेशमा आएर पनि सोही प्रकृतिको काम गर्न उत्ती गाह्रो त नहोला, तर आम मानिसले सोचे जस्तो सजिलो भने छैन।
५ वर्ष देखि सारजाहको एक घरको कार्यरत पाल्पाकी सरस्वती चालिसे भन्छिन– 'ठूलो परिवार छ, काम गर्ने २ जना। बिहान ५ बजे देखि राती १२ बजेसम्म जोतिनुपर्छ' उनि अगाडि बताउँछिन 'दिउँसो एकछिन आराम गर्न पाईहाले पनि कहिलेकाही सास फेर्ने फुर्सद हुँदैन।' सरस्वती संगै काम गर्ने साथी फिलिपिनी महिला छिन, उनिहरुले लगभग संगै त्यो घरमा काम गर्न शुरु गरेका हुन। सरस्वती थप्छिन – 'काम त त्यति गाह्रो छैन, किचकिच पनि छैन, तलब पनि समयमै दिन्छन् तर धेरै खटिईनुपर्छ'।
सरस्वतीको भोगाई युएईका घरेलु नेपाली महिला कामदारहरुको साझा भोगाई हो। आरामले सुत्न पाउने भनेको मुस्किलले ४÷५ घण्टा मात्रै हो। बिहान ५ बजे त ओछ्यान छाड्नैपर्छ। त्यसपछि सफाईबाट शुरुहुने दैनिकी अत्यन्तै व्यस्त रहन्छ, लगभग मध्यरात सम्मै। तर सबैकोमा यस्तै स्थिति भएको भने होईन, तथापि अधिकांश घरेलु महिला दिदिबहिनीहरुको दिनचर्या यस्तै छ।
बच्चाको हेरविचार, सरसफाई, भान्साको काम, लुगा धुने, आईरन गर्ने, मिलाउने देखि लिएर सपिङ जाँदा भरिया समेत बन्नुपर्छ यहाँका घरेलु कामदार। विशेषगरी शिप, शिक्षा र अनुभव कम भएका महिलाहरु यस क्षेत्रमा कार्यरत छन। ती मध्ये अधिकांश घरायसी समस्याका कारण बाध्यताले विदेशीएका छन्। लहैलहैमा लागेर आउने पनि नभएका भने होईनन। सबैको दुख एउटै छ। भोगाई उस्तै छ, अपवाद बाहेक।
विध्यालय पढ्दापढ्दै उमेर बढाएर नागरिकता र राहदानी बनाएर ३ वर्ष अगाडी अबुधाबी आएकी २० वर्षिय शान्तिकला राई अहिले अबुधाबीमा कार्यरत छिन। उनि भारतीयको घरमा बालबच्चा स्याहार्छनि, होमवर्क गराउछिन। सरसफाई, विध्यालयको पोशाक मिलाउने, विध्यालाय पुर्याउने, ल्याउने संपुर्ण जिम्मेवारी उनकै हो। आफू कलेज पढने उमेरमा उनि बालबच्चाको स्याहार्ने, पढ्न पठाउने, ल्याउने गर्छिन। पारिश्रमिक उत्ति चित्तबुझ्दो नभएपनी 'नहुनु मामा भन्दा त कानो मामा नै निको' भन्दै चित्त बुझाएर बस्नु परेको बताउँछनि उनि। बिदामा घर जाने मन भएर पनि घर जान पाएकी छैनन। यसको छुट्टै कारण छ दुख छ।
शान्तिकला कै जस्तो भोगाई छ झापाकि चन्द्रकला माझीको, उनि युएई आएको ७ वर्ष भयो। काखे बच्चा छोडेर सन २००० मा युएई आएकी माझी जुमेरामा कार्यरत छिन। घरको सबै काम सकाएर बालबच्चा स्याहार्ने, विद्यालय र्पुयाउने, ल्याउने सबै जिम्मेवारी वहाँको काँधमा छ।
यहाँ घरेलु नेपाली महिला कामदारले पाउने तलब भनेको १ हजार दिराम देखि २ हजार दिराम हो। कसैकसैले यो भन्दा धेरै पनि पाएका छन्। तर त्यो संख्या न्यून छ। काम र दाममा जेनतेन सन्तुष्ट नै छन् यहाँ कार्यरत नेपाली दिदिबहिनीहरु। तर १२ देखि १८ घण्टा सम्मको नियमित खटाई, उसमाथी हप्ते बिदा नमिल्नु आदि बाध्यताका बिच गुजारेका छन् प्रत्येकले आफुलाई।
गत महिना सुनसरीको धरानबाट भिजिट भिजामा ल्याईएकी सीता विकलाई अजमानमा एजेन्सी खोलेर बसेका एक नेपाली दलालले १७ हजार दिराममा अबुधाबीको एक घरमा बिक्री गरे। कामको चाप धेरै भएकाले सीताले त्यहाँ काम गर्न सकिनन। मालिकले उनलाई एक सातामै एजेन्सीमा फिर्ता गरिदियो। यहाँ यस्ता एजेन्सी खोलेर बसेका नेपाली प्रसस्तै छन्। उनिहरुले विभिन्न लोभ देखाई नेपाली दिदिबहिनीहरु ल्याएर १० देखि २० हजार सम्ममा आपूर्ति गर्ने गर्दछन।
पछिल्लो समय नेपाली दिदीबहिनीहरुको बाध्यताको फाईदा युएईमा मानव तस्कर गर्ने नेपाली दलालहरुले लिन थालेका छन्। एजेन्सी नै खोलेर बसेका नेपाली दलालहरुले भिजिट भिजा र अन्य गैह्रकानुनी बाटोबाट नेपाली दिदिबहिनीहरु ल्याएर यहाँ बिक्री गर्ने गरेका छन्। एयरपोर्टमा सेटिङगरि भिजिट भिजामा युएई ल्याएर अलपत्र पार्ने क्रम ह्वात्तै बढेको छ। त्यसरी अलपत्र पर्ने नेपाली महिलाहरु नेपाली दूतावास अबुधाबीको शरणमा आउने गरेका छन्। दूतावासमा रहेको सेफ हाउसमा आश्रय त पाउँछन् तर दूतावासलाई उनीहरुको खाने र नेपाल फिर्तीको हवाई टिकटको खर्च जोहो गर्न मुस्किल पर्ने गरेको छ।
यस्तो छ सरकारी नितिघरेलु कामदारहरुको व्यवस्थित आपूर्ति र हितलाई मध्यनजर गर्दै सरकारले घरेलु कामदार संबन्धी निर्दे्शिका २०७३ जारी गरेको छ। जसअनुसार सरकारले गन्तव्य मुलुकसंग दुई पक्षीय श्रम सम्झौता वा समझदारी गरेर मात्रै वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने अनुमती दिन सक्छ। २०७३ साल चैत्र ३ गतेको मंत्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।
त्यस्तै चैत्र २० गते बसेको व्यवस्थापिका संसद अन्तर्रा्ष्ट्रिय संबन्ध तथा श्रम समितिको बैठकले संनन्धित मुलुकले घरेलु कामदार संबन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसंग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकमा घरेलुकामदार पठाउने कार्य पुर्णतः बन्द गर्न निर्देशन दिएको थियो। यो निर्देशन कार्यन्वयनमा आएसंगै हजारौं नेपाली घरेलु कामदारहरुको श्रम स्वीकृति रोकिएको छ।
श्रम स्वीकृति रोकिएकाले कठिन समस्याहरुको बाबुजुद पनि घरेलु नेपाली महिला कामदारहरु स्वदेश फर्किन सकेका छैन। यो सरकरी व्यवस्थाले विदेशमा कार्यरत नेपाली दिदीबहिनीलाई स्वदेश फर्किन रोक लगाएको छैन तर स्वदेशबाट पुनः काममा फर्किने बाटो भने बन्द गरिदिएको छ।
श्रम सम्झौता नहुँदा घर फर्किन पाएननसरकारी तथ्यांकमा जेजति भनिए पनि युएईमा करिब ४ लाख नेपाली रहेको अनुमान लगाईन्छ। ती मध्ये करिब ५० हजार त महिला मात्रै छन्। जसमध्ये क्लिनिङ, क्यासियर, प्रमोटर, ब्युटिसयन, घरेलु कामदार अधिक रहेका छन्। अन्यको हकमा समस्या नभएपनी करिब १० हजार नेपाली महिला घरेलु कामदार भने यतिबेला पछिल्लो सरकारी नीतिबाट पीडित बनेका छन्।
सरकारले घरेलु कामदारको श्रम स्वीकृति रोक लगाएर स्वदेशबाट पुनः फर्किने बाटो बन्द गरिदिएपछि चाडबाड मनाउनु त परै जाओस ठूलो पारिवारिक घटना हुँदा समेत नेपाली महिला कामदार स्वदेश जान पाएका छैनन्। घरमा आमाबाबुको मृत्यु हुँदा समेत मालिकको घरमा शोक मनाएर बस्न बाध्य छन्। आफ्नै श्रीमानको मृत्यु हुँदा समेत घर जान नपाएको तितो अनुभव सुनाइन सल्यानकि नेत्रकुमारी शर्माले। उनिले भनिन 'विगत ७ वर्ष देखि वरदुबईमा कार्यरत तर घर जान पाएकी छैन।'
श्रम ईजाजतको समयावधि ३ महिनासम्म भएकाहरुलाई नेपालको अध्यागमनले विदेश फर्किन अनुमती दिने गरेको छ। तर श्रम ईजाजतको समयावधि सकिएका र ३ महिना भन्दा कम भएकाहरुलाई भने फर्किन अनुमति छैन। राहदानी मालिकसंग हुने र मालिकले कामदारको भिजा, धरौटी र अन्य प्रक्रिया पूरा गर्दा ठूलो धनराशि खर्च गर्ने भएकोले आफ्नो कामदार फर्किने सुनिश्चित नभएसम्म बिदा दिंदैनन। युएईमा यसैको सिकार बनेका छन् हजारौं नेपाली महिला।
यस विषयमा बुझ्न नेपाली दूतावास युएईका द्वत्तिय सचीव कृष्ण अर्याल भन्छन 'नेपाल बिच घरेलु कामदार संबन्धी श्रम सम्झौता अन्तिम चरणमा पुगेको हुनाले चाँडै नेपाली घरेलु कामदारहरुले राहत पाउने छन।' युएई सरकारले समेत भर्खरै घरेलु कामदारको हितमा महत्त्वपूर्ण कानुन ल्याएको वहाँले जानकारी दिए।
कामदार भन्छन्ःछिटो बाटो खुलाउयुएईमा घरेलु कामदारको रूपमा कार्यरत नेपालीहरुले श्रम स्वीकृति तत्काल खोली घर फर्किने बाटो खुल्ला गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्। सरकारले घरेलु कामदार संबन्धी निर्दे्शिका जारी गरेर कामदारको हितमा गम्भीर भएको पुष्टि त गर्यो तर निर्दे्शिका कार्यन्वयनमा ढिलाई गर्नाले हजारौं कामदार घर फर्किने बाटो बन्द भएको छ।
युएईमा घरेलु कामदारको रूपमा कार्यरत नेपाली पुरुषको संख्या न्यून छ। यस नितिबाट प्रभावित हुने भनेको महिला नै हुन। जो घरखर्च टार्न बाध्यताले विदेश बस्न बाध्य छन्। २ वर्षको करार अवधी सकेर स्वदेश फर्की पुनः श्रम स्वीकृति लिएर युएई आउने महिलाहरु श्रम स्वीकृति नहुने भएपछि यहिँ बस्न बाध्य छन्। दशैं, तिहार जस्ता चाडपर्व मनाउन त पाएनन नै परिवारमा विपत पर्दा समेत ’ईमर्जेन्सी’ बिदामा घर जान नपाउँदाको पीडा धेरैको छ। स्याङ्जाकि कल्पना सुवेदी आफ्नै छोरा गम्भीर दुर्घटनामा परि घाईते हुँदा समेत घर जान सकिनन। यस्ता व्यथा धेरैका छन्। जो मन मिचेर बस्न बाध्य छन्।
बाध्यताले परिवारबाट टाढिएका नेपाली कामदारको पीडा बुझ्ने प्रमुख दायित्व सरकारको हो। हजारौं नेपाली महिलाहरुको भावना बुझेर यथासक्य चाँडो श्रम स्वीकृति खुलाउन जरुरी छ। कार्यस्थलमा घरेलु महिला कामदारहरुमाथी हुने हिंसा र दुर्व्यवहार रोक्न नीति मात्रै काफी छैन। समयसमयमा स्थलगत अनुगमनका निम्ति मातहतका निकायहरुलाई निर्देशनात्मक आदेश दिन समेत जरुरी देखिन्छ। संबन्धित देशका दूतावासहरुले यसतर्फ ध्यान दिन आवश्यक छ।
(सुरक्षाका कारण महिला पात्रहरुको नाम मात्र परिवर्तन गरिएको छ)