वैदेशिक रोजगारीमा रहेका परदेशीहरूको काव्यिक सुस्केरा 'पुरानो पन्ना' सार्वजनिक भएको छ।
हाल परदेशमा कार्यरत तथा काम गरेर फर्किएकाहरूको समूह श्रमिक सञ्जालले परदेशीका भावनाहरू समेटिएको पुरानो पन्ना सार्वजनिक गरेको हो।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा सार्वजनिक गरिएको उक्त पुस्तकमा गजल तथा कविता जस्ता साहित्यिक सिर्जनाहरू समावेश छन्।
पुरानो पन्ना एक सय आठ जना श्रमिक सर्जकहरूको सिर्जनाको संगालो हो।
श्रमिकहरूले परदेशी भूमिमा रहँदा कामसँगै देश, घर परिवार, समाज र आफन्तजनसँग बिताएको सम्झना र विभिन्न परिवेशलाई आफ्ना सिर्जनाहरू मार्फत पोखेका छन्।
'एउटा श्रमिकले परदेशमा रहँदा पनि मौका पाउँदा आफ्ना पाखा, गाउँ र देहातका गीत गाइहाल्छ। सिलोक हालिहाल्छ। कविता र टुक्का झिकिहाल्छ। अनि उमेर बमोजिमका रनाहा व्यक्त गर्छ, कविता, गजल र मुक्तकमा। साहित्यका यी विधामा संकेत र विम्बहरूमा कतिपय कुरा राख्न पाउँदा मन हलुको हुन्छ। यो काव्य संग्रह श्रमिकहरूका त्यस्तै अभिव्यक्तिको आँखिझ्याल हो,' प्रकाशकीयमा उल्लेख छ।
प्रकाशकीयमा भनिएझैँ सर्जकहरूले पनि आफ्ना मनभरीका भावना त्यसरी नै पोखेका छन्। व्यास नगरपालिका-९ तनहुँका आनन्द आचार्यले कुवेतबाट लेखेका छन्,
पसिनासँग पैसा साट्न परदेश पसियो
परिवारका सपना साकार पारूँला भनेर
घाम र झरी केही नभनी
कर्म क्षेत्रमा लागियो
सपनाको खोजीमा दसकौँ बित्यो।
कनकाइ नगरपालिका झापाका रमेशकुमार सिटौला साउदीबाट लेख्छन्,
परिवारको अवस्था बदल्छु भनी हिंडेको दिन
रातैभरि झरी परेको थियो
थाहा छैन
म अभागीलाई देखेर
आकाश रोएको थियो
वा खुशी भएको थियो
अब यो अभागीको पनि दुःखका दिन सकिए भनेर
तर मलाई
पर्नु पीर परेको थियो।
सोलुखुम्बुमा जन्मिएर ओमानमा कार्यरत इश्वरी बस्नेतले लेखेकी छन्,
बिरानो देश रोजेर हिड्ने
श्रमिकहरूको लर्को छ
सरकार तँलाई रेमिटेन्स पठाउन
खुसी बेची मृत्यु किन्न
सहर गल्लीको घुमाई चर्को छ।
यसैगरी खोटाङका जीवन नाछिरिङले कतारबाट लेखेका छन्,
एक सरो, एक गाँस खोज्दा खोज्दै
कर्तव्यमा डामिएर भौतारिएको म
हजारको एक थान झोला
झोलाभित्र सपनाको पोको
भारी मन बोकेर
रसाएका आँखा, अवोध फूल
कोक्रोभित्रै चुप्पा खाएर
भालेको डाकमा घरसँगै
सब थोक छोडेर हिँडेको।