ग्लोबल नेपाली
भरतपुर–५ नारायणपुरस्थित स्ट्रबेरी फार्ममा अहिले लटरम्म स्ट्रबेरी फलेको छ। यो फार्ममा पारखीहरूले आफूलाई चाहिने स्ट्रबेरी आफै टिप्ने पाउँछन्। यो सिजनमा यहाँ पुगेर स्ट्रबेरी टिप्दै गरेको फोटो, भिडिओ खिचाउनेको पनि भिड लाग्छ।
भरतपुरको चौबिसकोठीबाट करिब ४ किलोमिटर पर (विकास चोक नजिकै) नेपाल एग्रोभाइन प्रालिले स्ट्रबेरीको व्यावसायिक खेती गर्न थालेको पाँच वर्ष भयो। 'एग्रो टुरिजम' को मोडलमा सुरू गरिएको खेतीले सार्थकता पाउँदै गएको सञ्चालक ससन देवकोटाले बताए।
नेपाल एग्रोभाइन प्रालिले दुई बिघा १५ कट्ठा जमिनमा स्ट्रबेरी, बियाँ नभएको खरभुजा र विभिन्न रङका क्याप्सिकम उत्पादन गरिरहेको छ। स्ट्रबेरी मात्रै वर्षमा ३० लाख रूपैयाँको बिक्री गर्ने गरेको देवकोटाले बताए।
सप्तरीमा जन्मिएका देवकोटाले २०६६ सालमा चितवनको रामपुरबाट कृषिमा स्नातक गरेका थिए। स्नातक गरेको केही वर्षपछि उनी स्नातकोत्तरका लागि अमेरिका पुगे। पढाइ सकेपछि तीन वर्ष त्यहाँको 'स्ट्रबेरी इन्टमोलजी ल्याब' मा काम गरे।
'अमेरिकाको समथर भूभागमा मजाले स्ट्रबेरी फलेको देख्दा मलाई अचम्म लाग्यो। काम गर्ने क्रममा यस्तै व्यावसायिक खेती नेपालमा गर्न पाए गज्जबै हुन्थ्यो भन्ने सोच्थेँ,' उनले भने, 'स्ट्रबेरीको विषयमा रिसर्च गर्ने ल्याबमा काम गरेको अनुभवले मलाई आफ्नो देशमा काम सुरू गर्ने आँट दियो।'
सन् २०७५ मा नेपाल फर्किएपछि उनी नजिकका आफन्तहरू रहेको स्थान विराटनगर पुगे। रंगेलीमा दुई बिघा जमिन भाडामा लिएर अमेरिकामा फलिरहेको स्ट्रबेरीको नेपालमा सम्भावनाबारे अध्ययन सुरू गरे। सँगै उनले सिडलेस वाटरमेलन (बियाँ बिनाको खरभुजा) को पनि अध्ययन गरे।
नेपालमा यी दुवैको व्यावसायिक उत्पादन सम्भावना देखिएपछि बराह क्षेत्रमा पनि समुदायसँग मिलेर स्ट्रबेरी खेती सुरू गरेको देवकोटाले बताए।
त्यसपछि उनी 'कृषिको हब' खोज्दै चितवन आइपुगेका थिए।


'चितवनको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालसँग मेरो राम्रो चिनजान थियो। चितवनमै पढेकाले अरू धेरै साथीहरू पनि थिए। मैले उनीहरूसँग यहाँ कृषिको सम्भावनाबारे राम्ररी बुझेँ। अनि जग्गा भाडामा लिएर स्ट्रबेरी खेती सुरू गर्ने निधो भयो,' उनले भने।
देवकोटा, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक विशाल श्रेष्ठ, कृषि अध्ययन गरेका दिपक श्रेष्ठ, देव पौडेल र सविन आचार्य, अमेरिकामा न्युरो साइन्समा पिएचडी गरेर रिसर्च एसोसिएटको काम गरिरहेका जनक गैरे, अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजी (एमआइटी) मा अध्ययन गरेर नेपालमा व्यवसाय गरिरहेका शम्भुबाबु कोइरालासहितको समूहले यो कृषि व्यवसाय अघि बढाएको थियो।
'कोरोना महामारी फैलिरहेको थियो। हामी त्यस्तो अवस्थामा पनि केही त गर्नैपर्छ भनेर भरतपुरमा नयाँ कामको थालनी गरिरहेका थियौं। उता विराटनगरको खेतमा बाढी पसेछ। सबै बगाइदियो,' देवकोटाले भने, 'त्यसपछि हामीले चितवनलाई नै प्राथमिकतामा राखेर काम गरिरहेका छौं।'
अहिले उनीहरूको समूहमा अर्थोपेडिक डाक्टर कविन न्यौपाने र नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा कार्यरत राहुल शर्मा पनि आवद्ध छन्।
ससन देवकोटा नेपाल पोलिटेक्निक इन्स्टिच्युट र कृषि तथा वन विज्ञान विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा कीटविज्ञान विषयमा प्राध्यापन गर्छन्। बाँकी समय स्ट्रबेरी फार्ममा खट्छन्। यो फार्मलाई कृषिका विद्यार्थीहरूले 'रिसर्च' गर्ने ठाउँका रूपमा पनि अपनाउँदै आएको देवकोटाले बताए। अहिले यहाँ केही विद्यार्थीहरू क्याप्सिकममा लाग्ने रोगको विषयमा अध्ययन गर्दैछन्।
'स्नातक, स्नातकोत्तरका विद्यार्थीहरू यहाँ आएर अध्ययन, अनुसन्धान गर्नुहुन्छ। कतिपय विद्यार्थीले त स्ट्रबेरीका विभिन्न उत्पादन तयार पारेर प्रतिस्पर्धा जित्नुभएको पनि छ,' उनले भने, 'स्ट्रबेरी फलाएर बिक्री गर्ने मात्रै होइन। यसबाट जाम, जुस, जेल्ली, वाइन लगायत उत्पादनहरू तयार पारेर बिक्री गर्न सकिने सम्भावना देखिएको छ।'
अहिले नेपाल एग्रोभाइन प्रालिले यहाँ उत्पादन भएको स्ट्रबेरी चितवन, काठमाडौं, पोखराका भाटभाटेनी, बिगमार्ट, एग्रोमार्ट, सेल्सबेरीहरूमा बिक्री गरिरहेको छ। बराहक्षेत्रको फार्मको उत्पादन इटहरी, धरानका सुपर मार्केटहरूमा बिक्री हुन्छ। भरतपुरको फार्मबाटै पनि ठूलो परिमाणमा बिक्री हुने गरेको सञ्चालक देवकोटाले बताए।
यहाँ एकै दिनमा दुई हजार जनासम्म मान्छे पुगेको रेकर्ड छ। उनीहरूले फार्ममा पुग्नेलाई प्रतिकिलो ७ सय रूपैयाँमा स्ट्रबेरी बेच्छन्। स्ट्रबेरीको जुस प्रतिकप १६० रूपैयाँ पर्छ।
'हामीले यहाँ अमेरिकन जातका स्ट्रबेरी उत्पादन गरिरहेका छौं। यसका बिरूवा इजिप्टको नर्सरीबाट आयात गरिन्छ,' ४२ वर्षीय देवकोटाले भने, 'एउटै बोटमा डेढदेखि पौने २ किलोसम्म फलेको छ। व्यापार पनि हरेक वर्ष बढेको छ। सुरूमा कमलाई थाहा थियो यहाँ स्ट्रबेरीको खेती भइरहेको छ भनेर। अहिले मान्छेले थाहा पाउँदै गएका छन्।'
स्ट्रबेरीको बिरूवा रोपेको तीन महिनाबाट फल दिन सुरू हुन्छ। ६ महिनासम्म उत्पादन लिन सकिन्छ।


खेती र व्यवसायमा ससनका बुबा शंकर देवकोटा र श्रीमती राधिका रिजाल पूर्णकालीन कर्मचारी जस्तै गरी खट्छन्। अरू २ जना पूर्णकालीन कर्मचारी छन्। दैनिक १० जना आंशिक कर्मचारी आवश्यक पर्ने गर्ने देवकोटाले बताए।
उनका अनुसार १० लाख रूपैयाँबाट सुरू गरेको व्यवसायमा अहिले ८० लाख रूपैयाँ लगानी पुगेको छ। छिट्टै भरतपुरमा एउटा आउटलेट सञ्चालन गर्ने तयारी गरेको उनले बताए। यो समूहले चितवन र बुटवलमा खेती बिस्तार गर्न पनि खोजेको छ। चितवनमा आगामी असारदेखि थप २ बिघामा खेती सुरू गर्ने तयारी छ। बुटवलमा उपयुक्त जमिन र साझेदारको खोजी गरिरहेका छन्।
'हामी लड्दै, सिक्दै यहाँसम्म आइपुगेका छौं। मान्छे यहाँ आएर वाउ भन्छन्। जीवनमा यो भन्दा के चाहियो। म त वाउमै बस्छु। पैसा भन्ने कुरा जति भए पनि पुग्दैन। मलाई पुग्नेजति पैसा दिन्छ यसले। यसैमा सन्तुष्ट छु,' देवकोटा भन्छन्, 'अक्कल लगाएर गरियो भने कृषि व्यवसाय कहिल्यै फैल हुँदैन। लहलहैमा लागेर गर्न खोजे खेती जहिल्यै फेल हुन्छ।'
उनी देशमा अहिले कृषि क्षेत्रमा धेरै अवसर रहेको बताउँछन्। धेरै युवाहरू बिदेसिएको र देशमा रहेकालाई खाने कुरा उत्पादन गर्नेको संख्या घट्दै गएको उनले बताए।
'कोरोनाको समयमा व्यवसाय गरिरहेकाहरूले छाडे, हामीले सुरू गर्यौं। जे सुकै रोग आओस्, खान चाहिँ पर्छ मान्छेलाई। यस्तो व्यवसाय सधैं चल्छ, केही समय गाह्रो त भइहाल्छ,' देवकोटाले भने, 'कृषि व्यवसायमा केही नीतिगत समस्या छन्। त्यसको सम्बोधन गर्नुपर्छ। सँगै काम गर्ने मान्छेको अभाव पनि छ। कृषि देशको भविष्य हो। यो सुनौलो समय हो कृषिमा लगानीका लागि। कुरा राम्ररी बुझेर, मौसम हेरेर काम गर्न सक्नुपर्छ।'
चितवनमा बसेर अन्य किसानको दाँजोमा आफूले गरेको काम नगन्य रहेको देवकोटा बताउँछन्। कृषि कर्म गरेर वार्षिक ३–४ करोडको कारोबार गर्ने, वर्षमा करोड रूपयाँ वचत गर्ने किसान भेट्दा आफूले केही गर्न सकेको छैन जस्तो लाग्ने उनले बताए।
'त्यसैले हामी यो व्यवसायलाई फैलाउँदै जाने तयारी गरिरहेका छौं। हामी खेतबाट उत्पादन गर्छौं, यो कच्चा पदार्थ जस्तो हो। यसबाट अन्य उत्पादन गर्ने काम अरूले गर्नुहुन्छ। समग्रमा एउटा इको सिस्टम नै तयार पार्ने योजना छ,' देवकोटाले भने।



सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com