न्युरो–सर्जन डा. सवल सापकोटा सन् २०२२ जुलाईदेखि युएई (युनाइटेड अरब इमिरेट्स) को राजधानी सहर आबुधाबीस्थित 'शेख खलिफा मेडिकल सिटी' अस्पतालमा कार्यरत छन्।
त्यसअघि उनी काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा थिए।
उनले सन् २०१२ देखि विशेषज्ञ चिकित्सक भएर विभिन्न सरकारी र निजी अस्पतालमा काम गरे। एकाएक उनलाई विदेशी अस्पतालमा काम गर्न मन लाग्यो।
खासमा उनी नेपालमा चिकित्सा पेसाबाट अलिक निराश थिए। काम अनुसारको दाम नभएकोमा असन्तुष्टि थियो। त्यही असन्तुष्टिले उनलाई विदेश जान प्रेरित गरेको थियो।
'नेपालमा डाक्टरहरूको स्थिति १० वर्षअघि जस्तो थियो, अहिले पनि त्यस्तै छ। अझै १० वर्षपछि पनि यस्तै रह्यो भने अनौठो नमान्दा हुन्छ,' सवलले भने, 'एकातिर तलब थोरै, अर्कातिर त्यही पनि समयमा नपाइने। यही कारण नेपालबाट डाक्टरहरू पलायन भइरहेका छन्।'
नेपालमा गाउँदेखि सानाठूला सबै सहरसम्म डाक्टर, नर्स र स्वास्थ्यकर्मीको खाँचो भए पनि उचित व्यवस्थापन हुन नसकेको उनको भनाइ छ।
उनका अनुसार नेपालमा चिकित्सकहरूले आर्थिक असुरक्षा र पेसागत असुरक्षा एकसाथ भोग्नुपरेको छ। ढुक्कले काम गर्ने वातावरण छैन। कतिपय सामान्य घटनामा पनि डाक्टरको दोष देखाएर अस्पताल तोडफोड हुन्छ।
'आफूले पाउनुपर्ने पारिश्रमिक पनि पटक पटक माग्नुपर्छ। ठूला कर्पोरेट अस्पतालमा पनि यही समस्या छ,' उनले भने, 'घरभाडा, बैंकको ऋण, किस्ता र छोराछोरीको पढाइ शुल्क तिर्न ढिलो गर्न मिल्दैन। मैले नेपाल छाडेको पनि यस्तै आर्थिक कारणले हो। धेरैको बाध्यता मेरो जस्तै होला।'

छोराछोरीको गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधाका हिसाबले पनि आफूले आबुधाबी रोजेको उनले बताए।
डा. सवल आबुधाबीमा पनि नेपालमा झैं बिरामीको उपचार गर्छन्। विशेष गरेर टाउको र मेरूदण्डमा चोट लागेका बिरामी हेर्छन्। ब्रेन–ट्युमर भएका तथा गर्धन र कम्मर दुख्ने बिरामी पनि हेर्नुपर्छ।
'युएईमा सिस्टमले काम गर्छ। प्रणाली र समूहमा राम्रो काम हुन्छ। वातावरण पनि राम्रो छ,' उनले भने, 'अस्पतालमा सबै उपकरण र स्रोतसाधन सहज उपलब्ध छ। बिरामीको चाप नेपालमा जस्तै हुन्छ।'
उनले नेपालमा छँदा हेटौंडाको 'चुरे हिल अस्पताल' पनि काम गरे। त्यहाँ सवारी साधन दुर्घटनामा परेका बिरामी धेरै आउँथे। भिरबाट लडेर टाउकोमा चोटपटक लागेका बिरामी पनि आउँथे। कम्मर र ढाड दुख्ने बिरामी आउने नै भए।
उनी काम गर्ने आबुधाबीको अस्पतालमा पनि दुर्घटनामा परेर चोटपटक लागेका बिरामी नै धेरै हुन्छन्। युएईमा रहेका नेपाली बिरामी पनि आउँछन्। उनीहरू आउनुपर्ने अवस्था भने अलिक फरक छ।
'मैले देखे अनुसार नेपालीहरूमा रक्सी सेवन गरेर कुटाकुट गरेका धेरै हुन्छन्। झैझगडा गरेर इमर्जेन्सीमा कोही आयो भने पहिलो नम्बरमा नेपाली नै हुन्छ,' उनले भने, 'नेपाली युवाहरूले यो खराब बानी सुधार्नु जरूरी छ। यस्ता घटनाका कारण उनीहरू जेल जानुपर्छ, डिपोर्ट (निकाला) मा पनि पर्छन्।'
सडकमा चोटपटक लागेर आउनेमा पनि नेपाली नै बढी हुन्छन्। यसमा खास गरी बाटो काट्ने नियम पालना नगर्दा दुर्घटनामा पर्ने गरेको उनको भनाइ छ।

डा. सवल कार्यरत अस्पतालमा उनी एक्ला नेपाली चिकित्सक हुन्। नेपाली स्वास्थ्यकर्मी पनि छैनन्। अस्पतालको क्यान्टिन र सरसफाइमा भने केही नेपाली युवा काम गर्छन्।
युएईका अस्पतालहरूमा १५० जनासम्म नेपाली चिकित्सक रहेको उनले बताए। तीमध्ये अधिकांश जनरल प्राक्टिसनर छन्, विशेषज्ञ चिकित्सक थोरै छन्। युएईमा चिकित्सक भएर काम गर्न निकै बलियो प्रतिस्पर्धा गर्नुपर्छ तर आम्दानी र अन्य सुविधा आकर्षक छ।
'राम्रो सुरक्षा व्यवस्था, करबिनाको पारिश्रमिक, बालबालिकाका लागि गुणस्तरीय शिक्षाजस्ता सुविधाले युएईमा धेरैको आकर्षण छ,' सवलले भने, 'स्वास्थ्य बीमा राम्रो छ। अस्पतालले अनुभवी र क्षमतावान चिकित्सक रोजेर लिन्छ। यसमा कुनै भेदभाव हुँदैन। अंग्रेजी भाषामा दक्ष चिकित्सकलाई काम गर्न सजिलो हुन्छ।'
डा. सवल आबुधाबीमा मजाले सजाएका छन्, सन्तुष्ट पनि छन्। सधैंका लागि आबुधाबीमै बस्ने होइनन् तर कहिले स्वदेश फर्किन्छु भन्ने उनलाई थाहा छैन। अहिले नै यसबारे केही सोचेका पनि छैनन्।
'म पाँच वर्षका लागि आएको हुँ, तीन वर्ष पूरा भयो। अझै कम्तीमा पाँच वर्ष बस्छु भन्ने लागेको छ,' उनले भने, '२० वर्षअघिदेखि यहाँ बसेका सिनियरहरूले पनि अझै नेपाल फर्किने योजना बनाउनुभएको छैन। यहाँको सेवासुविधा र पेसागत सुरक्षाले लोभ्याएको होला।'
