पूर्वी तराईको मोरङका नेत्रप्रसाद लम्साल युएई (संयुक्त अरब इमिरेट्स) गएको १७ महिना भयो। उनी अलमान्जर भन्ने ठाउँमा एक अरेबियन परिवारको घरमा काम गर्छन्।
उनको मुख्य काम निजी बगैंचा हेरचाह गर्नु हो।
'यहाँको बगैंचा एकदमै ठूलो क्षेत्रफलमा छ। त्यसमा काँटछाट गर्ने र मलजल हाल्ने काम गर्नुपर्छ,' उनले भने।
उनका अनुसार कामको समय आठ घण्टा तोकिएको छ। काम बिहान र बेलुका दुई चरणमा गर्नुपर्छ, बिहान ५ देखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म। बीचमा चियाखाजा र आराम गर्न खान फुर्सद हुन्छ।
नेत्रले खानेबस्ने सुविधा काम लगाउने कम्पनीबाटै पाएका छन्, यसमा उनको खर्च लाग्दैन। खाना–खाजा पनि आफूले बनाउनु पर्दैन। घरधनीले भान्से दिएका छन्। लुगा धुन वासिङ मेसिन छ।
बगैंचामा कामका लागि चाहिने आवश्यक सामान उनीभन्दा माथिल्लो तहको व्यवस्थापकले जुटाउँछन्।
बगैंचामा आँप, मेवा, कागती, अम्बा लगायतका फलफूलका रूख छन्। विभिन्न प्रजातिका फूल छन्। बगैंचाको फलफूल बेच्दैनन्, परिवारजनले उपभोग गर्छन्, आफन्तहरूलाई कोसेली पठाउँछन्।
फलफूल टिपेका बेला कामदारहरूले पनि खान पाउँछन्। त्यो परिवारमा चार जना नेपाली कामदार छन्। चारै जनाको जिम्मेवारी फरकफरक छ।
'हामी चार जना नेपालीमध्ये दुई जना बगैंचामा, एकजना लन्ड्रीमा र एक जना भान्सामा काम गर्छौं। बगैंचामा काम गर्ने दुई सँगै बस्छौं,' उनले भने।
सातामा एक दिन बिदा हुन्छ तर चार जनाको बिदा एकै दिन पर्दैन। बिदाको दिन घुम्न जाँदा एक्लै हुन्छन्।
बगैंचाको काम सजिलै भए पनि गर्मी मौसममा निकै गाह्रो हुन्छ।
यहाँ धेरै गर्मी हुन्छ। कहिले त ५० डिग्री (सेल्सियस) नाघ्छ। कोठाभित्र एसी (एअर कन्डिसनर) छ तर बगैंचामा गर्मी हुन्छ,' नेत्रले भने।
नेत्र बगैंचाको काम गर्न अनुभवी छन्। युएई जानुअघि उनी १२ वर्ष मेलेसियामा बसेका थिए। त्यहाँ पनि बगैंचाकै काम गर्थे। मलेसियामा बसुन्जेल एउटै कम्पनीमा काम गरे।
उनका अनुसार मलेसियामा १० वर्ष बसेपछि त्यहाँको सरकारले अप्रवासी कामदारलाई भिसा थप्दैन। कम्पनीले विशेष पास बनाइदिएर थप दुई वर्ष राख्यो।
त्यस्तो पासको अवधि दुई वर्षको हुन्छ। त्यसको पनि म्याद सकिएपछि उनी सन् २०२३ मा स्वदेश फर्के।
उनले आफ्नै देशमा काम गर्ने प्रयास गरे। जागिरका लागि धेरै ठाउँमा धाए। कतै आवेदन पनि गरे तर कतै पनि अवसर पाएनन्। कतै पनि काम नपाएपछि बाध्य भएर फेरि विदेश जानुपरेको उनको भनाइ छ।
'कहिलेसम्म विदेशमा बस्नु भनेर यहीँ (नेपालमा) जागिर खोजेँ। तीनवटा कम्पनीमा अन्तर्वार्ता पनि दिएँ तर कतै तलब साह्रै थोरै, कतै कामको अनुभव भएन,' नेत्रले भने, 'आखिरमा फेरि विदेश नगइ भएन। महिनाको २५ हजार रूपैयाँसम्मको जागिर पाएको भए आफ्नै देशमा बस्ने थिएँ।'
अन्ततः उनी दुई लाख ७० हजार रूपैयाँ खर्च गरेर सन् २०२४ मार्चमा युएई गए।
उनका अनुसार कामदारसम्बन्धी नीति मलेसियामा भन्दा युएईमा राम्रो छ। आफूलाई चित्त बुझेन भने युएईमा ६ महिनामा कम्पनी परिवर्तन गर्न पाइन्छ तर मलेसियामा आफ्नो इच्छाले त्यसो गर्न पाइँदैन।
'युएईमा हामीजस्ता कामदारलाई एकदमै सजिलो छ। मलेसियामा कामदारको पासपोर्ट कम्पनीले नै राखेको हुन्छ। पासपोर्ट नभई अर्को कम्पनीमा जान मिल्दैन,' उनले भने, 'यहाँ पनि पासपोर्ट त कम्पनीले नै राख्छ तर परिचयपत्र बनाइदिएको हुन्छ। परिचयपत्र भएपछि अर्को कम्पनीमा जान पाइन्छ।'
बगैंचाको काम लगाउने कम्पनीसँग दुई वर्षको सम्झौता छ। अवधि पूरा भएपछि अर्को कम्पनीमा जाने सोचेका छन्। अझ राम्रो काम दिने कम्पनीमा जान दुई वर्षको अनुभवले मद्दत गर्ने उनले बताए।
उनका अनुसार युएईमा कामप्रतिको दृष्टिकोण पनि राम्रो छ।
'यहाँ सबै कामदर समान छन्। पदीय हिसाबमा कसैलाई धेरै मान गर्ने र कसै होच्याउने चलन छैन,' उनले भने।
नेत्र फुर्सदको समयमा गीत लेख्छन्, गाउँछन् पनि। तीनवटा गीत रेकर्ड गराएको उनले बताए।
युएईमा बोलिने मुख्य भाषा अरबी हो तर नेत्र बोल्न र लेखपढ गर्न जान्दैनन्। अर्कोले बोलेको केही मात्रामा बुझ्न थालेका छन्। हालै उनले अरबी भाषा सिक्न सुरू गरेका छन्।
अझै कति वर्ष विदेशमा काम गर्छु भन्नेबारे उनले केही पनि सोचेका छैनन्।
***
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com