ग्लोबल नेपाली
महोत्तरीकी यासमिन नाजले दुई वर्षअघि कतारमा सुरू गरेको कम्पनी 'क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सी' ले हालै प्रतिष्ठित 'कतार सिएसआर अवार्ड, २०२५' पाएको छ।
उनले सञ्चालन गरेको कम्पनीले कतारका कर्पोरेट कामदारलाई स्वास्थ्य र कार्य सुरक्षा सम्बन्धी तालिम दिन्छ।
बितेको दुई वर्षमा यो कम्पनीले १० हजार जनाभन्दा धेरैलाई तालिम दिएको छ। यसमा २५० भन्दा नेपालीले निःशुल्क तालिम पाएको यासमिनले बताइन्।
यासमिन सन् २०१३ मा पाँच महिना उमेरकी छोरी लिएर आफ्ना श्रीमान रूस्तम राइनका साथ कतार गएकी थिइन्। रूस्तम इलेक्ट्रिकल इञ्जिनियर हुन्। उनी कामकै लागि कतारमा थिए।
'बिहे हुनुअघि म एयर होस्टेस बन्न चाहन्थेँ। त्यही विषय पढेकी थिएँ,' उनले भनिन्।
उनी एयर होस्टेस त भइनन् तर किङफिसर एयरवेजको 'गेस्ट सर्भिस एजेन्ट' भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वर्ष काम गरिन्।
त्यसपछि बिहे भयो, बच्चा भयो। काम छुट्यो। फेरि किङफिसरमै कामको प्रक्रिया अघि बढेको थियो। तर कहिलेसम्ममा भन्ने टुंगो नभएपछि उनी श्रीमानका साथ कतार गइन्।
खाडी मुलुक कतार जाने निश्चित हुँदा पनि उनको मन ढुक्क थिएन। त्यहाँको रहनसहनमा टिक्न सकिन्न कि जस्तो लागेको थियो तर त्यस्तो भएन।
'खाडी मुलुकमा हुने कडाइले अप्ठ्यारो पर्ने हो कि भन्ने डर लागेको थियो तर मैले अनुमान गरेको भन्दा फरक वातावरण पाएँ। महिलालाई गरिने सम्मानले म प्रभावित भएँ,' उनले भनिन्।
यासमिन कतारमा गृहणी मात्र थिइन्, रोजगारी थिएन। बेरोजगार बस्न मन मानेन। रोजगारीको खोजीमा एउटा ट्रेनिङ सेन्टरमा पुगिन् जहाँ उनले रिसेप्सनिस्ट भएर काम गर्ने अवसर पाइन्।

तर यासमिनलाई रिसेप्सनिस्ट भएर मात्र बस्न मन भएन।
'पहिलेको कामको तुलनामा सानो ठाउँ भए पनि नेपाली महिलाले धेरै राम्रो काम पाउनु गाह्रो थियो,' उनले भनिन्, 'त्यस्तो अवस्थामा मासिक २५ सय रियाल तलब पाउने गरी रिसेप्सनमा जागिर पाउनु ठूलै कुरा थियो।'
सम्भवतः छोटो समयमै कम्पनीले उनको क्षमता पहिचान गर्यो। दुई महिनामै लेखा र प्रशासनको जिम्मेवारी पाइन्। त्यसको एक वर्षमा उनी असिस्टेन्ट म्यानेजर (सहायक प्रबन्धक) पदमा बढुवा पाइन्। काम गर्दागर्दै पाँच वर्ष बित्यो।
त्यस अवधिमा कतारका ठूल्ठूला कर्पोरेट कम्पनीसँग सम्बन्ध बन्यो। उनको व्यक्तिगत पहिचान फराकिलो भयो। यासमिन भनेर चिन्ने धेरै भए।
यहीबीच उनको दोस्रो बच्चा हुने भयो। कम्पनी भित्रकै कुनै कारण र आफ्नो कारण समेतले कम्पनी छाडेर घरमै बसिन्।
जागिर त छाडिन् तर त्यस्तै प्रकारका अन्य केही ट्रेनिङ सेन्टरले उनलाई बोलाइरहे। अहिले काम गर्दिनँ, मलाई फुर्सद चाहिएको छ भन्दा पनि धर पाइनन्। उनले अर्को एउटा ट्रेनिङ सेन्टरमा प्रोजेक्ट प्रमुख भएर दुई वर्ष काम गरिन्।
त्यसपछि एक–दुई वर्ष छोराछोरीको स्याहार गर्ने, उनीहरूलाई समय दिने भनेर काम छाडिन्।
फेरि पनि उनले धर पाइनन्। अर्को एउटा कम्पनीले दिनको तीन घण्टा काम गरिदिन ढिपी गर्यो। उनले काम सुरू गरिन् तर चार महिनामै छाडिदिइन्।
'कम्पनीले मेरो नाम दुरूपयोग गरेर बजारमा काम लिने प्रयास गरेको थाहा पाएँ। त्यसले मलाई तनाव भयो अनि छाडेँ,' यासमिनले भनिन्।
त्यसपछि उनी नेपाल आइन्। केही समय नेपालमै फुर्सदले बिताइन्। नेपालमा रहँदा उनले आफ्नै कम्पनी खडा गरेर काम गर्ने अठोट गरिन्। कामका लागि श्रीमानसँग पनि कुरा हुँदै थियो। उता कतारमा श्रीमानले ट्रेनिङ सम्बन्धी एउटा कम्पनी नै दर्ता गरे।
'उहाँलाई मेरो कामको क्षेत्र र क्षमता थाहा छँदै थियो। उहाँले त्यसै अनुसार दर्ता गरिदिएपछि म कतार गएर काम सुरू गरेँ,' यासमिनले भनिन्, 'श्रीमानले बलियो साथ दिनुभएको छ तर कम्पनी सञ्चालनमा उहाँलाई कुनै चासो छैन।'

कतारको दोहामा कम्पनीको कार्यालय राख्न ठाउँ खोज्दै थिइन्। चिनजानका एक लेबनानीलाई आफ्नो योजना सुनाइन्। सुन्नासाथ तिनले दुई महिनाका लागि कार्यालय चलाउन पैसा नलिई ठाउँ दिए। यासमिनले भोलिपल्टै काम सुरू गरिन्।
यो थियो सन् २०२३ जुन ११ को दिन।
पहिलो कम्पनी छाडेपछि फुर्सदको समयमा उनले कन्सल्ट्यान्टका रूपमा पनि काम गरेकी थिइन्। उनको जनसम्पर्क निकै फराकिलो थियो।
आफ्नो कम्पनीबाट ट्रेनिङ सुरू भएपछि दैनिक चार–पाँच हजार रियाल आम्दानी हुन थाल्यो। त्यही आम्दानीले कार्यालय व्यवस्थित बनाउँदै अघि बढिन्।
उनको कम्पनीले दिने मुख्य तालिम कामदारका लागि कार्य सुरक्षा सम्बन्धी हो।
'हस्पिटालिटी र निर्माण क्षेत्रमा काम गर्नेहरूका लागि सुरक्षा तालिम दिन्छौं,' उनी भन्छिन्, 'यसबाहेक नेतृत्व विकासको तालिम पनि दिन्छौं। यसमा म्यानेजरका लागि चाहिने तालिम हुन्छ। तालिमको प्रमाणपत्र पनि दिन्छौं।'
उनका अनुसार कतारमा काम गर्न 'सेफ्टी ट्रेनिङ' लिएको प्रमाणपत्र अनिवार्य छ। डोरीका भरमा हावामा अडिएर काम गर्नेका लागि 'रोप एक्सेस सेफ्टी ट्रेनिङ' चाहिन्छ। यासमिनको कम्पनीले यो तालिम पनि दिन्छ। इलेक्ट्रिसियनका लागि पनि कार्य सुरक्षा तालिम दिन्छ।
'मैले एक जोर टेबलकुर्सी र एउटा कम्प्युटरबाट सुरू गरेको अफिस हो। अहिलेसम्म जेजति गरेँ, त्यही कम्पनीको आम्दानीले गरेको हो,' उनले भनिन्, 'मैले कुनै लामो योजना बनाएर सुरू गरेको होइन।'

यो सफलता उनको अनुभव, मेहनत र फराकिलो जनसम्पर्कबाट प्राप्त भएको हो।
यासमिनले कम्पनीको काम गरेर मात्र हुँदैन। घर व्यवस्थापन पनि गर्नुपर्छ। दुई सन्तानको हेरचार गर्नु, हरेक दिन स्कुल पठाउने र उनीहरूको पढाइको प्रबन्ध गर्नु पनि उनकै जिम्मेवारीमा छ। उनका श्रीमान रूस्तम आफ्नै काममा व्यस्त रहन्छन्।
यासमिन सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन्। विभिन्न संघसंस्थासँग सहकार्य गरेर नेपाली कामदारलाई बेलाबखत निःशुल्क तालिम दिन्छिन्।
उनका अनुसार खाडी मुलुकमा नेपालीलाई हेर्ने नजर धेरै उत्साहजनक छैन। यता नेपालमा पनि खाडी मुलुक भन्नासाथ नाक खुम्च्याउने परिस्थिति छ।
'नेपाली कामदारप्रति खाडीमा र नेपालमा रहेको नजर बदल्न जरूरी छ,' उनले भनिन्, 'नेपाली कामदारले पनि सुधार्नुपर्ने केही पक्ष छन्। अरू देशका कामदारले क्षमता बढाउन विभिन्न तालिम लिन्छन्। नेपालीहरू भने कम्पनीले दिने तालिमबाहेक अरू केही खोज्दैनन्। यस कारण सधैं एकै स्तरको काममा हुन्छन्। हत्तपत्त बढुवामा पर्दैनन्।'
तालिम र वृत्ति विकासमा फिलिपिनी, बंगलादेशी र भारतीय कामदार निकै अगाडि रहेको उनले देखेकी छन्। आफ्नो क्षमता र वृत्ति विकासमा ध्यान दिन नेपाली कामदारहरूलाई उनको सुझाब छ। आफूले काम गर्ने कम्पनी र पाउने सुविधाबारे राम्रो जानकारी नलिई खाडी मुलुक पुग्नु पनि नेपाली कामदारहरूको समस्या हो भन्ने उनको ठहर छ।
'रोजगारीका लागि विदेश जाने नेपालीले आधारभूत अंग्रेजी पनि जान्नुपर्छ। सीपमूलक तालिम लिएको हुनुपर्छ,' यासमिनले भनिन्, 'सीप कागजमा भएर हुँदैन, हातमै हुनुपर्छ।'

(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com