जापानमा नेपाल फेस्टिभल: संघर्ष अधिक, सफलता न्युन

जापानमा नेपाल फेस्टिभल: संघर्ष अधिक, सफलता न्युन


गैरआवासीय नेपाली संघ जापानको आयोजनामा दशौँ नेपाल फेस्टिभल सफलतापुर्वक सम्पन्न भएको छ। सरसरती हेर्दा मेला, विविध कारणहरुले भव्य रह्यो। सन् २००७ मा, हिबिया पार्कबाट नुरुभएको नाज नामक संस्थाको सानो प्रयासले आजको यो भव्य मेलाका रुपमा विकास हुनु नेपाल र नेपालीपन मुटुमा लिएर बस्ने हर नेपालीहरुको लागि निक्कै ठुलो उपलब्धी हो।

अगस्ट २६ र २७ दुईदिन सम्म टोकियोको व्यस्थ र प्रसिद्ध उएनो पार्कमा भएको दशौँ नेपाल फेस्टिभलमा नेपाली तथा विदेशी दर्शकहरुको भव्य उपस्थितीमा सम्पन्न भयो। अघिल्लो वर्ष टोकियो कै, योयोगी पार्कमा भएको मेलालाई मानक मान्ने हो भने, यसपटकको मेला अझ बृहत र भव्य बनेको भन्न सकिन्छ। खुल्ला प्रवेश व्यवस्था भएको हुँदा वास्तविकरुपमा कति दर्शकहरुले नेपाल फेस्टिभल हेरे भन्ने औपचारिकरुपमा ठ्याक्कै भन्न सकिने संख्यात्मक तथ्याङ्क त छैन तर पनि, आयोजकको दावी लाई मान्ने हो भने अघिल्लो वर्ष २ लाखको हाराहारीमा मानिसहरु नेपाल फेस्टिभलमा पुगेका थिए। त्यसैलाई आधार मानेर हेर्न हो भने यो वर्ष त्यो भन्दा धेरै दर्शक पुगेको अनुमान लागाउन सकिन्छ। कार्यक्रम स्थल साँच्चै खचाखच भरिएको थियो। मुल आयोजक कमिटिका एक संयोजकका अनुसार नेपाल फेस्टिभलका लागि अव उएनो पार्क पनि साँघुरो बनीसकेको छ। अब अझ ठुलो र फराकिलो स्थानको आवश्यकता देखिएको छ।

के थियो त नेपाल फेस्टिभलमा?

जापानमै रहेर, प्रत्यक्षरुपमा मेलाको अवलोकन गर्नेलाई थाह नै छ। यद्यपी जापानमै रहेर पनि मेलामा सहभागी हुन नसकेका र जापान भन्दा बाहिर रहनेका लागि भन्ने हो भने समग्र एउटा मिनी नेपाल थियो त्यहाँ। नेपाल र नेपालीसंग जोडिएका ४६ वटा स्टलहरु राखिएका थिए। जहाँ नेपालको कला संस्कृति झल्काउने, पर्यटकिय स्थलहरु, ईन्डियन रेस्टुरेन्ट, रेमिट्टयान्स कम्पनी तथा ट्राभल एजेन्सीहरुको सहभागीता रहेको थियो। यसका अलवा मञ्चमा दुईदिनसम्म विभिन्न सांस्कृतिक तथा पराम्परागत झाँकीहरु एवं गीत संगीतहरु प्रस्तुत गरिएको थियो। खास गरी, लाखे नाच, देउडा नाच, तामाङ तथा गुरुङ जातिका सांस्कृतिक झाँकी, पन्चेवाजा तथा नेपाली हिन्दु बैवाहिक संस्कारको नाटकिय रुपान्तरण लागायतका प्रस्तुतीहरुमा नेपाली तथा विदेशी दुबै दर्शकहरुको लागि आकर्षण देखिन्थ्यो। यसका अलवा नेपाली खानाकाहरुको स्टल पनि आकर्षणको अर्को अभिन्न पाटोको रुपमा देखिन्थ्यो। यस पाली यी सबै अकर्षणको बिचमा अर्को एउटा आकर्षणको रुपमा रह्यो नेपाली मौलिक घुमाउने घर। त्यो नमुना घर संग तस्बिर खिचाउने नेपाली र अचम्म मानेर जिज्ञासु बन्ने जापानी तथा अन्य विदेशीहरु प्रशस्त भेटिए।

मेलाका केहि उल्लेख्य सकारात्मक पक्षहरु

सबैलाई भेटाउने र वर्षदिनमा एक पटक भएपनि भेट्ने वातावरण बनाउने मेलाको रुपमा, स्थापित भएको छ। परदेशमा नेपालीहरुलाई आफ्नो कला र संस्कृतीलाई मायाँ गर्न र बचाईराख्न मदत गरेको छ।  खानुको अर्थ पेट अघाउनु मात्र होइन भन्ने धारणा बोकेका जापानीहरुलाई, नेपाली परिकार तथा नेपाली स्वादहरुका बारेमा जानकारी दिन सफल भएको छ।

संख्यात्मक रुपमा खासै ठुलो नभए पनि, हरेक वर्ष अल्पसंख्यामै भएपनी जापानीहरु माझ नेपाल र नेपालीहरुको पहिचान स्थापित गर्ने काममा महत्पपुर्ण योगदान दिएको छ। नेपालका पर्यटकीय सम्भाव्यताहरु जापानी समुदाय माझ थोरै भए पनि विस्तार गराउन सफल भएको छ।
नेपालको भौगोलिक तथा सांस्कतिक विविधताहरुबारे जापानी समुदायमा जानकारी गराउने कामको थालनी भएको छ। बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने तथ्य, जापानी समुदायमाझ बताउने एउटा माध्यम बनेको छ। समग्रमा, नेपाल फेस्टिभलले, नेपाली कला, संस्कृती र सम्भावनाहरुको प्रवद्र्धन गर्न मदत गरेको छ।

आलोचित पक्षहरु

शुन्य भन्दा, एक अवश्य पनि राम्रो कुरा हो। तर पनि प्रवल सम्भावनाहरु हुँदा हुँदै जति अपेक्षा गरिएको छ , त्यति हुन नसक्नु र लक्षीत उदेश्य भन्दा पनि मेलाकै लागि मेला बन्ने बातवरण पनि कायम रहेको प्रति नजरअन्दाज गर्न भने सकिँदैन। नेपाल फेस्टिभल मनाउन थालिएको एक दशक भईसक्यो तर पनि यसले एउटा निर्दिष्ट मार्ग पहिल्याउन सकेको छैन। जसले हरेक वर्ष कहिलै? कहाँ र कति खेर? कसरी गर्ने
भन्ने कुरामा दुविधा र अन्योलहरु देखिन्छ।

जापानमा रहेका सबै संघ संस्था, एनआरएनए र नेपाली दुतावास बीच एकता र अपनत्व महशुस हुन सकेको देखिदैन। जसका कारण एनआरएनए नेतृत्व सक्षमता, नेपाल फेस्टिभल सफलताको मानक बन्ने गरेको छ।

नेपाल फेस्टिभलमा जापानवासी नेपालीहरु केवल एनआनरएनएले आयोजना गरेको उत्सवको रुपमा मात्र सहभागी हुन्छन्। जसले गर्दा, मेला, सरसरती हेर्दा सफल देखिन्छ तर भित्रिरुपमा हेर्ने हो भने लक्ष्यको २५ प्रतिशत पनि पुग्न सकेको देखिदैन। किनकी न नेपाली नेपाली भेला भएर नाच गान मात्र गर्ने मेलाको उदेश्य होइन तर अहिलेसम्म धेरैहदमा, त्यहि भईरहेको छ। नेपालीले नेपाल फेस्टिभलमा जानका लागि काम बिदा त लिन्छ तर त्यहि काम गर्ने ठाउँको जापानी या अन्य बिदेशी साथीलाई पनि संगै जाउँ भन्न सक्दैन/चाहँदैन।

मेलामा नेपाली परिकार र नेपाली स्वाद विदेशीलाई चखाएर बानी पार्ने लक्षका साथ स्टल त राखीन्छ तर जापानी समुदायका लागि आवश्य गुणस्तर/स्वाद र सरसफाईमा ध्यान दिन सक्दैनन्। जसले गर्दा, मेलामा गएर नेपाली खाना खाएर जापानीहरु पल्किने भन्दा पनि तर्केलान भन्ने चाहीँ डर बढ्दो छ।

नेपाल फेस्टिभल, हरेक वर्ष मुल आयोजक समिति आर्थिक घाटा बेहोर्न बाध्य भएको गुनासो गरिरहन्छन् तर आर्थिक स्रोत चाँही त्यहि स्टल भाडामा दिनु मात्रै, हो भन्ने घेराबाट माथि उठ्न सकेको देखिँदैन।

मेलामा राखिएका सबै स्टलहरु, जापानीहरुमा लक्षित नभए पनि खानाका स्टलहरुमा चाहीँ स्वस्फुर्तरुपमा हरेक स्टलमा जापानीहरु पुग्छन् र त्यी स्टलहरुको सेवा लिन्छन्। तर चर्को शुल्क तिरी भाडामा लिएका स्टलवालाहरुले निर्धारण गरेको मुल्य र गुणस्तर एक आपसमा पटक्कै मेल खाँदैनन्। यसले नकारात्म धारणा बन्न सक्ने प्रवल सम्भावना रहेको छ।

मेलाको जापानी समुदायमाझ प्रचार प्रसारको कमि, हालसम्म जति पनि जापानीहरु नेपाल फेस्टिभलमा पुग्छन् तिनीहरु मध्ये ठुलो संख्यामा संयोगवस पुगेका हुन्छन्। कि त कोहि नेपाली साथीहरुबाट थाह पाएर पुगेका हुन्छन्।

अब यसो गरौँ,

सर्वप्रथम, जापानीवासी सबै नेपालीहरु यति बुझौँ कि नेपाल फेस्टिभल हरेक नेपालीहरु आयोजक रहेको जापानी र अन्य विदेशीहरुका लागि नेपाल र नेपाली कलासंस्कृति र सम्भाव्यताबारे जानकारी दिने मेला हो। यसमा हरेक नेपालीको महत्वपुर्ण भुमिका रहेको छ। नेपाल फेस्टिभललाई लिएर, तेरो, मेरो गर्ने भन्दा आ आफ्नो स्थानबाट सकेको सहयोग गर्नु कर्तव्य हो।

जसोतसो गर्दै गर्दा, नेपाल फेस्टिभल, जापानवासी नेपालीहरुको वार्षिक चाड बनिसकेको छ, त्यसैले यसलाई मेला हुने केहि समय अघि मुल आयोजक समिति गठन गरी हतार हतारमा कर्मकाण्डी त नभई, तरिकाले मात्र नभई, एउटा निश्चित संख्याको स्थायी प्रकृतिको मुल आयोजक समिति गठन गर्न सके, निक्कै व्यवस्थित बन्ने थियो।

मेलामा प्रस्तुत गरिने सांस्कृतिक तथा पराम्परागत झाँकीहरु प्रस्तुत गर्दा र त्यसको जानकारी गराउने व्यक्तिहरुले धेरै तयारी गराउन जरुरी छ। कम्तिमा आफ्नो मौलिकतालाई मौलिकरुपमै प्रस्तुत गर्न र त्यहि अनुसारको जानकारी दिन सके मेलाको सार्थकता बढ्नेछ।

जापानमा यति धेरै संघ संस्थाहरु छन्, जो समाज सेवाको हिमायती हुँ भन्दै पदका लागि तछाड मछाड गर्छन तर काम गर्ने बेलामा केहि समित व्यक्तिहरु भन्दा हुँदैनन्। भएकाहरु पनि मन देखि स्वयम सेवा भन्दा पनि फोटो खिचाउने र भाग्ने प्रवृतिका बाहुल्यता देखिन्छ। यो प्रवृति हटाउन जरुरी छ।

अर्थ संकलनलाई प्रभावकारी बनाउन जरुरी देखिन्छ। नेपाल फेस्टिभल आयोजना गर्दा, अर्थ संकलन चाही केवल स्टलहरु भाडामा दिएर मात्र गर्ने र त्यो मात्रै स्रोतका रुपमा मानियो भने, एकातिर हरेक वर्ष मेला घाटामा गईरहन्छ भने अर्को तिर स्टलको महँगो भाडाका कारण मेलाका सामान तथा खानाहरुको मुल्य आकासिँदै जानेछ। जसका कारण नेपाल फेस्टिभलमा प्रत्यक्ष नकारात्म असर पर्नेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.