जापानमा पुगेका महेन्द्र पी लामा भन्छन ‘स्याण्डविचका २ पाउरोटी बिचको संघटक हो नेपाल’


जसरि स्याण्डविच वरिपरि २ ओटा पाउरोटी भित्र रखिएको संघटकको कारण मात्र स्याण्डविचले आफ्नो  नाम र स्वरुप पाउँछ  र त्यसलाई  स्वाद र मिठास दिने काम त्यहि भित्रको सामग्रीले नै गर्छ त्यसै गरि नेपाल पारस्परिक २ देश बिचको एक संघटक हो भन्ने संज्ञा दिएका छन् जवाहरलाल नेहरु विश्वविद्यालय दिल्लीका प्राध्यापक तथा नेपाल-भारत सम्बन्ध पुनरावलोकन सम्बन्धि गठित प्रबुद्ध समुहमा भारतीय पक्षका सदस्य डा. महेन्द्र पी लामाले। नेपालमा धेरै सम्भावना रहेको र ति सम्भावनालाई चिन्न कत्ति पनि बेर नलाग्ने कुरा दर्शाउदै सकारात्मकताबाट वक्तव्यको प्रारम्भ भएको थियो।

प्रवासमा एक फरक विषयवस्तुलाइ उठान गर्दै आयोजना गरिएको ‘नेपाल-भारत सम्बन्ध र १९५० को मैत्री सन्धिको सान्दर्भिकता’ विषयक  कार्यक्रममा नेपाल र भारत बिचमा सन् १९५० मा भएको सन्धिको बारेमा जानकार र विज्ञता हासिल गरेका व्यक्तिहरु कमै भए पनि उक्त कार्यक्रमा वक्ताहरुले उठाएका विषय, सन्दर्भ र सम्भावनाका पक्ष्यहरु भने महत्त्वपूर्ण र आत्मसात गर्न लाएक थिए।

सन् १९५० मा तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेर जंग बहादुर राणा र भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंह बीच भएको सन्धि अहिले सम्म संसोधन र खारेज नभएको तर उक्त सन्धिको कारण नेपालको स्वभिमानतामा आंच आएको भन्ने विरोधाभासपूर्ण कुरा पटक पटक उठ्ने गरेको कुरालाई ध्यानाकर्षण गरिएको थियो। १० ओटा बुंदामा विभाजित उक्त सन्धिमा बुंदा नुम्बर १ देखि ४ सम्म कुनै समस्या नभएको तर बुंदा नम्बर ५ देखि १० सम्म विरोधाभासपूर्ण बुंदाहरु रहेको तथ्य औल्याउदै विरोधाभासपूर्ण र नेपालको हितमा नभएका बुंदाहरु संसोधन गरिनु पर्नेमा जोड दिए कार्यक्रमका आयोजक तथा वक्ता चुकुबा विश्वविद्यालयका सह-प्राध्यापक डा. कमल लामिछानेले।

छिमेकी राष्ट्र, अन्तरनिर्भरता, गरिबीको ज्ञान र राजनैतिक प्रोपगांडाको बारेमा राम्रो संग अध्ययन नहुनु र यी विषयमा दरिलो नहुनु नै सन्धिको संसोधनमा कुरा नचल्नु र नेपाल पछाडी पर्नुको कारण रहेको कुरालाइ प्रष्ट्याइएको थियो। त्यसै गरि दिगो शान्ति, सार्वभौमिकता र अन्तरनिर्भरता जस्ता पक्षमा एक स्वतन्त्र देश हुनुको नाताले द्धन्द हुन नहुने कुरालाई पनि प्रमुखताका साथ अगाडी सारिएको थियो।

‘अरुको देशलाई आरोप लगाउनु भन्दा पनि आफ्नै देशमा आरोप लगाउने धेरै ठाउं छन्’ भन्दै आफ्नो देशको लागि के के गर्नु पर्ने तय गरेर उक्त प्रक्रियाको लागि आफै अघि सर्नु पर्नेमा जोड थियो डा. लामिछानेको।  सीमा सुरक्षालाई नियमन गर्नु पर्ने, नेपाल र भारत विच राजनैतिक विस्तार गर्नु पर्ने, नेपाल भित्र रहेका प्राकृतिक साधनहरुको उचित सदुपयोग हुनु पर्ने र उक्त कामको लागि त्यसका सकारात्मक र नकारात्मक पक्षको बारेमा गहन अनुसन्धान हुनु पर्नेमा पनि आवाज उठाईएको थियो। १९५० को सन्धिमा असहमति  भए पनि अहिले सम्म संसोधन र खारेज नहुनुमा राजनीतिक अस्थिरता, राजनीतिक नेताहरुमा आत्मसम्मानको भावना नहुनु, संस्थागत सम्वन्ध राम्रो नहुनु, र नेपालले स्वतन्त्रतासंग लडेको ईतिहास नहुनु आदि कारण रहेको कुरा प्रष्ट परिएको थियो ।

‘विकास’ भन्ने शव्द संग पनि हाम्रो गलत बुझाई रहेको भन्दै विकास भन्ने कुरा हामी जुन तरिकाले बुझ्छौं त्यहि नै विकास हो भन्दै ३ म (मुख, मन र मस्तिष्क) लाई सन्तुलनमा राख्न सकिएन भने कुनै पनि खालको विकास हुन असम्भव छ भन्ने जिकिर थियो डा. पी लामाको।

भारत सरकारको प्रबुद्ध समुहमा रहेर योगदान पुर्याउदै आएका डा. लामा ले १९५० सन्धिको सम्वन्धमा जति नै विवाद नेपालमा उठे पनि भारत सरकार संग अहिले सम्म कुनै पक्षले पनि कुरा नराखेको र कुरा राख्नु र त्यसमाथि बहस हुनु जरुरि रहेको कुरा जानकारी गराए। त्यसै गरि जुन सुकै सन्धिहरु पनि यदि २ देश बिचको हित विपरित छ भने एक ठोस प्रमाणका साथ संसोधन र खारेजको लागि पहल गर्न सकिने र तुरुन्त संसोधन र खारेज पनि हुनेमा जोड दिदै अन्य देशको उदाहरण पनि प्रस्तुत गरिएको थियो। नेपालमा यी सबै पक्षमा बहस र निष्कर्ष ननिस्किनुको कारण ज्ञानको कमि, साँघुरो राजनीतिक शक्ति, र संस्थागत पक्षको अभाव रहेको भन्दै संस्थाहरुलाई बढावा दिन र समावेशी राजनीतिलाई वढावा दिन सुझाव दिएका थिए।

कार्यक्रममा उठाईएका विषयवस्तुहरु वास्तवमा देशका पदिय जिम्मेवारमा बस्नेहरुका जिम्मेवारीहरु भए पनि यस्ता विषयवस्तुको बारेमा सबै जनतामा चेतना हुनुले आगामी दिनहरुमा कुनै स्तरबाट यस्ता समस्याको बहस  र समाधानका उपायहरुमा छलफल हुने कुरामा विस्वास गर्न सकिन्छ। साथै देशमा आन्तरिक, बाह्य र अन्तराष्ट्रिय स्तरमा  गुज्रिरहेका समस्याहरुको बारेमा आजका युवा पिंढी र नयाँ पुस्ताहरुलाई जानकारी दिनु पनि आजको आवस्यकताको रुपमा लिईन्छ। कार्यक्रममा वक्ताहरुले दर्शाए जस्तै शिक्षा र शैक्षिक स्तरमा जोड दिनु देश विकासको पहिलो खुड्किलो भएको कारण त्यस तर्फ सबैको ध्यान जानु पनि अपरिहार्य देखिन्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.