सिक्किम यसरी विलय भयो भारतमा


१९७५, अप्रिल ६ का दिन बिहान सिक्किमका राजा चोग्यालले आफ्नो राजदरबारको गेटबाहिर भारतीय सैनिक ट्रकहरुको आवाज सुने।

उनी दौडिएर झ्याल छेउ गएर हेर्दा दरबारलाई चारैतिरबाट भारतीय सैनिकहरुले घेरा हालिसकेका देखे।

त्यही बेला ‘मेसिनगन’ चलेको आवाज सुनियो र गोली लागेर दरबारको गेटमा खटिएका वसन्तकुमार क्षेत्रीको त्यहीँ निधन भयो।

त्यसबेला खटाइएका ५ हजार भारतीय फौजलाई सिक्किमको राजदबारमा खटिएका २ सय ४३ सुरक्षाकर्मीलाई नियन्त्रणमा लिन आधा घण्टा पनि लागेन।

नाटकीयः

त्यो दिन १२ बजेर ४५ मिनेट जाँदा सिक्किमको स्वतन्त्र देशको हैसियत समाप्त भइसकेको थियो।

चोग्यालले ह्याम रेडियोमार्फत यसको सूचना पूरै विश्वलाई दिएका थिए

र, उक्त आपतकालीन सन्देश ब्रिटेनको एउटा गाउँमा बस्ने अवकाशप्राप्त चिकित्सक र जापान र स्वीडेनमा बस्ने अन्य दुईजनाले सुनेका थिए।

त्यसपछि चोग्याललाई उनको घरभित्रै नजरबन्दमा राखियो।

दिल्ली नगरका आयुक्त बीएस दास त्यसको भोलिपल्ट दिउँसोको खाना खाइरहेका थिए। यत्तिकैमा उनलाई विदेश सचिव केवल सिंहको फोन आयो र उनी तुरुन्तै उनलाई भेट्न हिँडे।

विदेश मन्त्रालयमा पुग्ने बित्तिकै केवल सिंहले उनलाई न्यानो स्वागत गर्दै भने, ‘तपाईँलाई सिक्किम सरकारको जिम्मेवारी सम्हाल्न तुरुन्तै गान्टोक पठाइँदैछ, तपाईँसँग तयारीका लागि २४ घण्टा मात्रै छ।’

इन्दिरा गान्धीका प्रमुख सचिव पीएन धरसँग राजा चोग्याल

उनी भोलिपल्ट सिलीगुडीबाट दास हेलिकप्टर चढेर गान्टोक पुग्दा उनको स्वागतका लागि चोग्यालका विरोधी काजी लेन्डुप दोर्जी, सिकिम्मका मुख्य सचिव, प्रहरी आयुक्त र भारतीय सेनाका प्रतिनिधि बसिरहेका थिए।

दासलाई र्‍यालीसहित पैदल हिँडाएर उनको निवासमा पुर्‍याइयो। त्यसको एक दिनअघि उनले चोग्यालसँग भेट्ने समय मागेका थिए तर उनलाई राजाले आफूले ज्योतिषीलाई सल्लाह गरेरमात्रै समय दिनसक्ने जवाफ दिएका थिए।

दास भन्छन्, ‘त्यो त एउटा बहाना मात्रै थियो खासमा उनी म र मेरो ओहदालाई मान्यता नदिएको देखाउन चाहान्थे।’

भोलिपल्ट चोग्यालले दासलाई बोलाए तर त्यो बैठकको माहोल एकदमै कटूतापूर्ण रह्यो।

चोग्यालको पहिलो वाक्य यस्तो थियो, ‘मिस्टर दास, सिक्किम तपाईँहरुले कब्जा गर्नुभएको गोवा जस्तै हो भन्ने भ्रममा नरहनुहोला।’

उनले भुटान जस्तै दर्जा सिक्किमलाई दिलाउन निकै प्रयास गरेका थिए।

‘हामी एक स्वतन्त्र सम्प्रभुसत्ता सम्पन्न देश हौँ, तपाइँले हाम्रो संविधान अनुसार काम गर्नुपर्छ। भारतले तपाईँको सेवा हाम्रो सरकारलाई दिएको छ। यो विषयमा कुनै भ्रम हुनुहुँदैन र हामीलाई दबाउने प्रयास कहिल्यै नगर्नुहोला।’

इन्दिरा गान्धीसँग राजा चोग्याल

सिक्किमलाई भारतमा विलय गराउन दासले महत्वपूर्ण भूमिका खेलेका थिए।

एक दिनअघि बीएस दास त्यहाँ खटिएका आफ्ना साथी शंकर बाजपेयीलाई भेट्न जब इण्डिया हाउस पुगे तब उनलाई केवल सिंहबाट के निर्देशन लिएर आएका छौ? भनेर सोधियो।

दास सम्झन्छन्, ‘मलाई सिक्किमका जनताका आकांक्षा पूरा गर्न मद्दत गर्नु भन्नेबाहेक कुनै पनि स्पष्ट निर्देशन थिएन। अरु बेला जस्तै इन्दिरा गान्धीले कुनै औपचारिक राजनीतिक किसिमको वाचा गरेकी थिइनन्। अनि विलय भन्ने शब्दको त उच्चारण समेत गरिएको थिएन।’

उनले थपे ‘यहाँसम्म कि हामीलाई काम लगाइरहेका केवल सिंहले निजी कुराकानीमा समेत यो शब्द कहिल्यै प्रयोग गरेका थिएनन्। तर, नभनिए पनि मलाई र शंकर बाजपेयी दुवैलाई अब हामीले के गर्नुपर्छ भन्ने थाहा भइसकेको थियो।’

१९६२ को चीन युद्धः

दिवंगत वरिष्ठ राजनीतिक विश्लेषक इन्दर मल्होत्राका अनुसार सन् १९६२ मा भारत र चीनबीच युद्ध भएपछि सिक्किमलाई भारतमा गाभ्ने सोच पलाएको थियो।

स्मारिक विज्ञहरुले महसुस गरे कि भुटान, सिक्किम र चीनको त्रिदेशीय सीमाक्षेत्र नजिकै पर्ने चीनतर्फको चुम्बी उपत्यकाबाट सिलीगुडीतर्फको ‘चिकेन्स नेक’ भनिने साँघुरो मार्ग हुँदै भारतको दूरी जम्मा २१ माइलमात्रै थियो।

चीनले आफूले चाहेमा एकै पटकमा उक्त क्षेत्र हुँदै उत्तरी भारतमा प्रवेश गर्न सक्थ्यो। चुम्बी उपत्यकाकै छेउमा सिक्किम थियो।

सिक्किमका चोग्यालले होप कुक नाम गरेकी अमेरिकी महिलासँग विवाह गरेका थिए।

उनलाई कुकले उक्साउन थालेकी थिइन्। यसकारण चोग्याललाई सिक्किम पूरै स्वतन्त्र बनाउन उनले माग राखे भने अमेरिकाले साथ दिन्छ भन्ने लागेको थियो।

तर त्यो कदम भारतलाई स्वीकार्य थिएन।

अमेरिकी पत्नीले चोग्याललाई छाडिन्:

चोग्यालकी श्रीमती होप कुकको व्यक्तित्व रहस्यमयी थियो।

चोग्याललाई भारतविरुद्ध भड्काउन होपले नै भूमिका खेलेको ठानिन्छ।

उनले विद्यालयहरुको पाठ्यक्रममा फेरबदल गरिदिएकी थिइन् र युवा अधिकारीहरुलाई बोलाएर उनी हप्तैपिच्छे बैठकहरु गर्थिन्।

रानीको भूमिकामा प्रस्तुत हुँदा उनी सिक्किमकै स्थानीय पोशाक लगाएर विनम्रता साथ प्रस्तुत हुन्थिन् र मसिनो स्वरमा कुराकानी गर्थिन्।

तर जब उनी असन्तुष्ट हुन्थिन् उनी एकदमै रिसाउँथिन्।

धेरै रक्सी पिउने चोग्यालको बानीले उनलाई हैरान बनाएको थियो र त्यही विषयलाई लिएर दुईबीच बारम्बार झगडा भइरहने गरेको बताइन्छ।

एकपटक यस्तै रिसमा चोग्यालले उनको ‘रेकर्ड प्लेयर’ राजदरबारको झ्यालबाट बाहिर फ्याँकिदिएका थिए।

अन्ततः आपसीका विवादका बीच होप कुकले सिक्किम छाडेर अमेरिका फिर्ता जाने निर्णय लिइन्।

चोग्यालले उनलाई मुश्किलको त्यो बेलामा साथ दिन अनुरोध गरेका थिए तर उनले मानिनन्।

उनलाई बिदा गर्न दास गएका थिए। उनले जाने बेलामा भनेको कुरा सम्झिंदै दास भन्छन्, ‘मिस्टर दास, मेरो श्रीमानको ख्याल राख्नुहोला, अब यहाँ मेरो कुनै भूमिका छैन।’

पछि दासले राजदरबारका कैयौँ बहुमूल्य कलाकृति र चित्र लुकाएर होपले अमेरिका पुर्‍याएको जानकारी पाए। यसले आफूलाई एकदमै दुःखी बनाएको उनले बताएका छन्।

पत्नी होपसँग राजा चोग्याल

जम्मा एक सीटः

दासका भनाइ अनुसार मे ८ मा भएको सम्झौतामा हस्ताक्षर गरेर पनि चोग्यालले कहिल्यै मनभित्रैबाट त्यसलाई स्वीकारेनन्।

उनले देश बाहिरका कैयौँ मानिसहरुबाट मद्दत मागेका थिए।

यो सम्झौता गलत हो भनेर वकालत गर्ने उनले एक महिला वकिललाई जिम्मेवारी दिएका थिए। चुनाव घोषणा भएपछि चोग्याललाई दक्षिण सिक्किमको यात्रा गर्ने इच्छा भयो।

त्यसो नगर्ने सुझाव दासले उनलाई दिए पनि उनी मानेनन् र गए।

चोग्यालसँग विदेशसचिव केवल सिंह (बायाँ) र भारत विलयपछि काजी लेण्डुप दोर्जे

पहिले उनी ती क्षेत्रहरुमा जाँदा त्यहाँ उनको स्वागतका लागि सडकमा लामबद्ध भएर धेरै मानिसहरु बस्थे। तर त्यसपटकको यात्रामा उनले आफ्ना तस्वीरमाथि जुत्ता झुण्डाइएका दृश्य देखे।

चुनावमा पनि चोग्यालले समर्थन गरेको नेश्नलिस्ट पार्टीले ३२ वटामध्ये एउटा मात्रै सीट जित्यो।

जति पनि नयाँ सदस्यहरुले चुनाव जिते उनीहरुले चोग्यालको नाममा शपथ नलिने र उनी संसद्‍मा आए संसद्को कारबाहीमा भाग नलिने चेतावनी दिए।

दास नयाँ चुनिएको संसद्का सभामुख थिए।

उनी भन्छन्, ‘त्यसपछि चोग्यालले आफ्नो विरोध लेखेर पठाउने र मैले त्यो सबैको अगाडि पढेर सुनाइदिने अनि सिक्किमको नाममा शपथ लिने कुरा तय भयो।’

चोग्यालको नेपाल यात्राः

यसैबीचमा नेपालमा राजाको राज्याभिषेकमा राजकीय अतिथिका रुपमा चोग्याल काठमाडौं आए।

उनले पाकिस्तानी राजदूत र चीनका उपप्रधानमन्त्री चिन सी लिउसँग भेटवार्ता गरे र आफ्ना अप्ठेराहरु फुकाउन मद्दत मागे।

बीएस दासले उनलाई एउटा लिखित दस्तावेज दिएका थिए जसमा बाहिरी समर्थन जुटाउन नलाग्न भनिएको थियो।

‘तपाईँको राजवंशले निरन्तरता पाउनेछ। तपाईँका छोरा उत्तराधिकारी बन्नेछन् तर त्यसका लागि तपाईँले आफू संरक्षित रहेको स्वीकार गर्नुपर्नेछ र ८ मेमा भएको सम्झौता मान्नुपर्नेछ।’

तर उनले आफ्नो अडान छाडेनन्।

चोग्यालको जवाफ थियो, ‘मरो देश स्वतन्त्र देश हो र यसलाई म छाड्दिँन।’

सन् १९७४ को जुन ३० मा चोग्यालले इन्दिरा गान्धीलाई आफ्नो पक्षमा उभ्याउने प्रयास गरेका थिए।

त्यसबेला इन्दिरा गान्धीका सचिव रहेका पीएन धरले आफ्नो पुस्तक ‘इन्दिरा गान्धी: द एमरजेन्सी एण्ड इन्डियन डोमोक्रेसी’ मा उक्त भेटवार्ताको प्रसंग समेटेका छन्।

उनले लेखेका छन्, ‘जसरी चोग्यालले आफ्नो मुद्दा इन्दिरा गान्धीसमक्ष राखे त्यसबाट म एकदमै प्रभावित भएँ। उनले भनेका थिए भारतले सिक्किममा जो नेताहरुलाई लिएर दाउ लगाइरहेको छ उनीहरु विश्वास गर्न योग्य छैनन्।’

इन्दिराले जवाफमा उनले कुरा गरिरहेका राजनीतिज्ञहरु जनताले चुनेका प्रतिनिधि हुन् भनिन्। चोग्याल अरु केही कुरा गर्न खोज्दै थिए, इन्दिरा चुप लागिन्।

इन्दिरा मौनतालाई नकारात्मक प्रतिक्रियाका रुपमा प्रयोग गर्न खप्पिस थिइन्। उनी जुरुक्क उठिन् र आफ्ना दुई हात जोडेर रहस्यपूर्ण ढंगले मुस्कुराइन्। चोग्याल ‘बिदा हुन सक्छन्’ भन्ने इशारा थियो त्यो।

रोचक त यो थियो यी तिनै चोग्याल थिए जो सन् १९५८ मा जवाहरलाल नेहरुका अतिथि बनेर दिल्ली आएका थिए र उनकै निवास तीनमूर्ति भवनमा बसेका थिए।

चोग्याल अनौठो व्यक्तित्वका धनी थिए उनले कहिले पनि सिक्किमको पृथक पहिचानसँग सम्झौता गरेनन्। दासको भनाइ अनुसार उनले एकपटक मात्रै चोग्याललाई हार स्वीकार गरेको देखे। चोग्यालका छोरा तथा उत्तराधिकारीको दुर्घटनामा निधन भएपछि उनले आत्महत्या गर्ने प्रयास गरेका थिए।

यसैबीच उनकी श्रीमती होप कुकले आफ्ना दुई बच्चा लिएर चोग्याललाई छाडेर गएकी थिइन्। उनलाई यो सबै झेल्न निकै मुश्किल भयो।

सन् १९८२ मा क्यान्सरबाट कुकले ज्यान गुमाइन्।

जब सिक्किम भारतमा विलय हुने प्रक्रिया सुरू भयो चीनले त्यसको तुलना सन् १९६८ मा रुसले चेकोस्लोवाकिया माथि गरेको आक्रमणसँग गर्‍यो।

त्यसबेला इन्दिरा गान्धीले चीनले तिब्बतमाथि गरेको आक्रमण सम्झाइन्। भुटान भने खुशी भयो किनभने उसलाई लाग्यो अब सिक्किमसँग जोडेर आफूलाई हेरिँदैन।

तर सबभन्दा बढी विरोध नेपालमा भयो। सिक्किममा सबभन्दा बढी ७५ प्रतिशत जनसंख्या नेपाली मूलका व्यक्तिहरुको थियो। भारतभित्र कैयौँ तप्कामा यसको विरोध भयो।

जर्ज वर्गीजले हिन्दुस्तान टाइम्समा ‘अ मर्जर इज अरेन्ज्ड’ भन्ने शीर्षक दिएर सम्पादकीय लेखे।

‘जनमत संग्रह यति हतारमा गराइयो कि यो पूरा प्रक्रिया सन्देहको घेरामा पर्यो। जनमत संग्रहमा यस्तो प्रश्न सोधियो- तपाईँ चोग्यालको पद समाप्त गरिँदैछ र सिक्किम भारतको हिस्सा बन्दैछ भन्नेमा सहमत हुनुहुन्छ? यी दुवै अलग-अलग मुद्दा थिए जसको आपसमा कुनै सम्बन्ध थिएन। आश्चर्य यो गान्धी तथा नेहरुको देशबाट भइरहेको छ।’

रअको भूमिकाः

सिक्किम भारतमा विलय गर्दा राजनेताका साथमा भारतको गुप्तचर एजेन्सी ‘रअ’ले पनि महत्त्वपूर्ण भूमिमा खेलेको थियो।

दासले त्यसबेला विभिन्न भोजहरुमा ‘रअ’का अधिकारीसँग भेट भएको बताउँछन्।

उनी भन्छन्, ‘म उनीहरुसँग सोध्थेँ, कि भन्नुहोस् न भइरहेको छ भनेर। तर, उनीहरु मलाई केही भन्दैन थिए। एकदिन उनीहरु मेरो घर आए र भने-माफ गर्नुहोला हामी तपाईँसँग कुनै कुरा गर्न सक्दैनौँ। हामीलाई निर्देशन छ कि मुख्य कार्यकारी अधिकारीलाई सिक्किममा भइरहेको कुनै घटनाको बारेमा नबताइयोस्। किनभने उसले आफूसँग भएको जानकारी चोग्याललाई बताउने गल्ती गर्नसक्छ।’

‘म तपाईँलाई इमानदारीका साथ भन्छु, अन्तिम दिनसम्म सिक्किममा के भइरहेको छ भन्ने मलाई भारतको गुप्तचर एजेन्सीबाट कहिल्यै जानकारी दिइएन’ दासले भनेका छन्।

बीएस दास

इन्दर मल्होत्रा ठान्छन् ‘रअ’को सिक्किम विलयमा निर्णायक भूमिका अवश्य थियो तर त्यसमा राजनीतिक नेतृत्वले दिशानिर्देश गरेका थिए।

इन्दिरा गान्धीले ‘रअ’का प्रमुख रामनाथ काव, पीएन हक्सर र पीएन धरसम्मिलित बैठक बोलाएकी थिइन्। कावसँग सल्लाह माग्दा उनको जवाफ थियो, ‘मेरो काम सरकारको निर्णय कार्यान्वयनमा ल्याउने हो सल्लाह दिने होइन।’

इन्दिरा गान्धीको भूमिकाः

दास भन्छन्, ‘पूरा प्रकरणमा इन्दिरा गान्धीलाई लगातार जानकारी दिइएको थियो भन्ने हामीलाई विश्वास थियो। मैले इन्दिरा गान्धीसँग ११ वर्ष काम गरेको छु। विशेषत कसैले उनीसँग निहुँ खोजेको छ भने उनी त्यसलाई माफ गर्दिन थिइन्। चोग्याललाई कहिल्यै पनि बदल्न सकिन्न भन्ने उनलाई लागेको थियो। सम्पूर्ण सिक्किम प्रकरणमा उनी प्रमुख नायिका थिइन् हामी त उनका सहयोगी मात्र थियौँ।’

सिक्किमलाई भारतको २२ औं राज्य बनाउन संविधान संशोधन विधेयक २३ अप्रिल १९७५ मा लोकसभामा पेश गरिएको थियो। सोही दिन २९९-११ मतले उक्त विधेयक पारित गरिएको थियो।

राज्यसभाबाट उक्त विधेयक २६ अप्रिलमा पारित भयो र १५ मे, १९७५ मा जब राष्ट्रपति फखरुद्दिन अली अहमदले यो विधेयकमा हस्ताक्षर गरे र नामग्याल राजवंशको शासन समाप्त भयो।

(बिबिसी नेपाली सेवाबाट साभार गरिएको सम्पादित अंश)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.