भारतीय कप्तान विराट कोहलीले लगातार चार टेस्ट शृखलामा दोहोरो सतक बनाउने विश्व कीर्तिमान बनाएका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटका महान ब्याट्सम्यान अस्ट्रेलियाका सर डोनाल्ड ब्रेडम्यान र भारतका पूर्व टेस्ट कप्तान राहुल द्रविडले लगातार तीन शृंखलामा बनाएको दोहोरो सतकको कीर्तिमानलाई उछिन्ने क्रममा नयाँ कीर्तिमान बनाएका हुन्।
बंगलादेशविरूद्ध हैदराबादमा भइरहेको एक मात्र टेस्ट शृंखलाअन्तर्गत शुक्रबार दोस्रो दिनको खेलमा विराटले २४ चौकाको सहयोगले २ सय ८ रन बनाए। उनलाई ताइजुल इस्लामले एलबिडब्लुको धरापमा पारेका थिए।
विराटले गत वर्षको मध्यतिर वेष्ट इन्डिजविरूद्ध पहिलो, त्यसपछि न्युजिल्यान्डको भारत भ्रमणको क्रममा दोस्रो र इङ्ल्यान्डविरूद्ध तेस्रो दोहोरो सतक बनाएका थिए। उनको भारतमै यो लगातार तेस्रो दोहोरो सतक पनि हो।
उनी बंगलादेशविरूद्ध उच्च व्यक्तिगत रन बनाउने दोस्रो कप्तान पनि बन्न पुगेका छन्। उनीभन्दा अगाडि बंगलादेशविरूद्ध दक्षिण अफ्रिकी पूर्व कप्तान ग्राहम स्मिथले सन् २००८ मा चटगाउँमा २ सय ३२ रन बनाएका थिए।
विराटले दोहोरो सतक बनाउने क्रममा एकै सिजन घरमा सर्वाधिक रन बनाउने पूर्व प्रारम्भिक ब्याट्सम्यान वीरेन्द्र सेहवागको कीर्तिमानलाई पनि भंग गरेका छन्। सेहवागले सन् २००४–०५ को सिजन घरमा खेलेको १७ इनिङमा १ हजार १ सय ५ रन बनाएका थिए। विराटले १५ इनिङमा १ हजार १ सय ६९ रन पुरा गरेका छन्।