भारत-पाकिस्तानको सम्बन्ध चिसिएको झन्डै एक दशकपछि भारतका विदेशमन्त्री एस जयशंकर पाकिस्तानमा पुगेका छन्।
इस्लामावादमा आयोजना हुने सांघाई को-ओपरेशन अर्गनाइजेशन (एससिओ)को कनक्लेभमा सहभागी हुन भारतका विदेशमन्त्री जयशंकर मंगलबार पाकिस्तान पुगेका हुन्।
उनी झन्डै एक दशकपछि पाकिस्तान भ्रमण गर्ने पहिलो व्यक्ति हुन्।
इस्लामावादको नुर खान एयरबेसमा उनलाई पाकिस्तानी विदेश मन्त्रालयका दक्षिण एशियाली महानिर्देशक इलियास महमूद निजामले स्वागत गरेका थिए।
दुई देशबीच आतंकवादको विषयलाई लिएर सम्बन्ध बिग्रिएको छ। पछिल्लो पटक सन् २०१५ डिसेम्बरमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज इस्लामावाद पुगेको भारतीय टेलिभिजन संस्था एनडिटिभीले जनाएको छ।
पाकिस्तान जानुअघि जयशंकरले आफू भारत-पाकिस्तानको सम्बन्धबारे वार्ता गर्न भ्रमणमा जान नलागेको प्रष्ट्याएका थिए।
उनले आफू एससिओको सदस्य भएको नाताले मात्रै भ्रमण गर्न लागेको बताएका थिए।
पाकिस्तान भ्रमणपछि विदेशमन्त्री जयशंकरले गएराति रात्रीभोज कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफसँग भेटेका थिए।
एससिओ दुई दिन चल्नेछ। यसको अध्यक्षता प्रधानमन्त्री शरिफले गर्नेछन्।