छिमेकसँग नेपालको सम्वन्ध: ‘न काट्न मिल्छ, न साट्न मिल्छ’

नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाउँदै प्रधानमन्त्री केपी शर्मा ओली। फोटो : प्रेस इन्फरमेशन ब्युरो, इण्डिया।


छिमेकीसँगको सम्वन्ध नजिकको नाता श्रीमान श्रीमती या दाजुभाईकै जस्तै ‘न काट्न मिल्ने न साट्न मिल्ने’ हुन्छ। मिलेर बस्न नसके साह्रो दुख पाईन्छ। घरको छिमेकी भए त बसाई सर्न नि मिल्थ्यो तर देशलाई त न कतै सार्न नैं मिल्छ।

त्यसमा पनि नेपाल भारत सम्वन्ध त बोर्डर समेत खुल्ला रहेको, परापुर्व बौद्धिक कालदेखि नैं धार्मिक, साँस्कृतिक, ब्यापारिक देखि हरेक कुरामा नंग र मासु जस्तै सम्वन्ध कायम रहदै आएको छ।

प्रेम पनि आफ्नैंमा हुन्छ र झगडा पनि आफ्नैंमा भने जस्तै चाहे सकारात्मक होस् या नकारात्मक भारत र नेपाल सम्वन्धको कुरा नगरी हामीलाई भात खाएको पनि पच्दैन। एउटा न एउटा विषय आइरहेको हुन्छ, जस्तो अहिले मोदी भ्रमणको चर्चा छ।

नेपाल भारत सम्वन्ध सदाका लागि सत्रुवत बनाइराख्नुपर्छ भन्ने कुरा ब्यवहारिक छैन र कसैका लागि हितकर छैन। भारतको उग्र बिरोध या उग्र राष्ट्रवाद र देशको स्वाभिमानलाई दाउमा राखेर स्वार्थी गठवन्धन र चाकरी या लम्पसारवाद दुवै कुरा विगतमा हुदै आएका घातक कुराहरु हुन्।

छिमेकी नभै पनि हुदैन र समस्याहरु पनि तेतिकै हुने गर्दछन् चाहे घर घरका छिमेकीको कुरा होस् या देश देशका छिमेकीका कुरा। तर न काट्न मिल्ने न साट्न मिल्ने यस्ता सम्वन्धहरुलाई बिगार्न भन्दा सपार्नै पट्टि ध्यान दिनु पर्छ तथापी यो सप्रिन भन्दा बिग्रनैं खोजिराखेको हुन्छ। यसमा उच्च स्तरको सुझबुझ, समझदारी, धैर्यता र ब्यवस्थापन कलाको जरुरत पर्दछ।

नेपाल भारत सम्वन्ध पनि विगार्ने भन्दा सुधार्ने कुरा नैं बुद्धिमत्तापूर्ण हुन्छ। उत्तर कोरिया र दक्षिण कोरिया त सम्वन्ध सुधार्ने प्रयास गर्दैछन् अहिले। अमेरिका र क्युवाको सम्वन्ध सुधार्ने ओवामाको प्रयास पनि सह्राहनीय थियो।

मिल्नु भन्दा उत्तम अर्को केही छैन। समस्याको जरो समाएर उपचार गरि दिए पछि सक्किगो, सजिलो छ। हामी दुवै (नेपाली तथा भारतीय) बुद्ध माथि गौरव गर्छौं, राम्रो कुरा हो। बुद्ध भन्नु हुन्छ, ‘सन्सारमा दुख छ या समस्याहरु छन् र साथसाथै यसको समाधानको उपाय पनि छ र यसलाई समाधान गर्न सकिन्छ।’

हिजो भारतीय नाकावन्दीको डटेर बिरोध गर्नु स्वभाविक थियो, राज्य र सबै नागरिकको कर्तव्य पनि थियो। यो कर्तब्यमा कोही चुकेको भए त्यसको परिणाम पनि भोग्दै होलान्। तर यही र यस्ता विषयहरुलाई जीन्दगीभरीको राजनीति गर्ने विषय बनाइनु हुदैन।

मान्छे भए पछि गल्ती त सबैबाट भैहाल्छ नि तर त्यसलाई सच्याउने सरी भन्ने अघि बढ्ने हो, सिम्पल। सम्वन्ध विगारिराखेर कसैलाई फाईदा हुदैन, मेरो मत्लव नेपालका प्रतिस्पर्धी पार्टीहरु र नेपाल तथा भारत।

पालै पालो एउटाले अर्कोलाई राष्ट्रघाती सावित गर्ने प्रायसमा गल्तीमाथि अर्को गल्ती थप्दै नजाऔं। यहाँ कोही राष्ट्रघाती छैन। हरेक पार्टी नेपालकै लागि भनेर बनेका र हजारौं शहीद र कार्यकर्ताहरुको रगत र पसिनाबाट निर्माण भएका हुन्।

चुनावी प्रतिस्पर्धा बाहेक कमसेकम देशको मुद्दामा त एक हुन सकौं। यो सबै मिलेर देश बनाउने अवसर हो र अझ पनि चेत नआए कहिले आउछ? हाम्रो उद्देश्य मोदीजीहरुलाई आफ्नो गल्ती महशुश गराउने मात्रै हो। हामी नेपाली यही निहुमा भारतीय प्रधानमन्त्रीको आतिथ्यमा अपमान गर्न सक्दैनौं, यसो गर्न हाम्रो संस्कारले पनि दिदैन।

आतिथ्यका बेला गरिने अपमान नैं ठुलठुला युद्ध र झगडाका कारण बनेका धेरै उदाहरणहरु छन्। मोदीले पनि आफ्नो गल्तीको महशुश गरिसकेको हुनुपर्छ। उनलाई पनि नेपालसितको दुस्मनी हात्तीलाई कमिलासितको दुस्मनी जस्तै महंगो पर्नेछ।

कमिलो सुड भित्र पस्यो भने के गर्ने? तसर्थ दुवै पक्ष मिलेर जाँदा नैं दुवैको कल्याण छ। तसर्थ भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई विना कन्जुस्याई हाम्रो संस्कार अनुसार नैं भब्य रुपमा स्वागत गरिनु पर्दछ। उनले गरेका हिजोका गल्ती कुटनैतिक ढंगले महशुस गराउनु पर्दछ। नाकावन्दीको रिस मर्न नपाउदै त यत्रो स्वागत पाईयो भने त्यसो नगरेको भए हुने रहेछ भन्ने पार्नु पर्दछ।

जसरी नेपाल भखरै मात्र नयाँ सम्विधान र राज्य ब्यवस्थामा देशको पुननिर्माण र सम्बृद्धिको यात्रा सुरु गरेको छ, यसमा भारतीय सहयोग अपरिहार्य छ। हामीलाई झगडामा अलमलिने समय पनि छैन। यो भ्रमण नयाँ ढंगले असंलग्न परराष्ट्र नीतिमा आधारित पारिस्परिक हितका आधारमा मित्रतापूर्ण सम्वन्ध स्थापित गर्न, विग्रिएको सम्वन्धलाई सुधार गर्न र आपसी हितका लागि विकाशका योजना र कामलाई अघि बढाउन महत्वपूर्ण सावित होस्। सबैको ध्यान कसरी यो भ्रमण नेपालको हितमा बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित होस्। यस महत्वपूर्ण अवसरबाट नेपाल कत्ति पनि चुक्न हुन्न।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.