ग्लोबल नेपाली
बागलुङका हेमराज शर्मा बेलायतको युनिभर्सिटी अफ लिभरपुलमा सिनियर लेक्चरर छन्।
सन् २००७ देखि बेलायत गएका शर्मा सुरूआतीदेखि नै सोही युनिभर्सिटीमा आबद्ध छन्।
बेलायत सरकारले राखेको क्याम्ब्रिज, अक्सफोर्ड सहितका रसलग्रुपका २५ युनिभर्सिटीको सूचीमा पर्ने लिभरपुल युनिभर्सिटीमा पढाउनुको अलवा उनी अनुसन्धानकर्ता समेत हुन्।
बेलायतको प्रतिष्ठित युनिभर्सिटीमा भौतिक शास्त्रको सिनियर लेक्चररसम्म आइपुग्न भने उनले थुप्रै मोडहरू पार गरेका छन्।
सानैदेखि पढाइमा तीक्ष्ण शर्माले २०४५ सालको एसएलसीमा ७३ प्रतिशत ल्याएर जिल्ला टपेका थिए। त्यसपछि उनी हेल्थ असिस्टेन्ट (एचए) पढ्न चाहन्थे तर देशभरिमा यसको लागि कोटा थोरै भएकाले उनको नाम निस्किएन। त्यसपछि उनको बाटो मोडियो।
आइएस्सी पढ्न काठमाडौं आए।
'एचए पढ्नका लागि मेरो थोरै नम्बर नपुगेर नाम ननिस्किएपछि म अस्कल क्याम्पसमा भर्ना भएँ। सुरूमा डाक्टर बन्छु भनेर जीव विज्ञान पढेको थिएँ। फेरि मन नलागेर त्रिचन्द्र कलेजमा भौतिक शास्त्रमा भर्ना भएँ,' उनले भने, 'भौतिक शास्त्र लिएर आइएस्सी र बिएस्सी त्रिचन्द्रमै पढेँ। आइएस्सी र बिएस्सी दुवैमा डिस्टिङ्सन डिग्रीसहित म मेरो ब्याचको त्रिचन्द्र टपर हो।'
आफ्नो ब्याचमा सबैतिर टपेका शर्मा भौतिक शास्त्रमा स्नातकोत्तरतर्फ पनि प्रथम हुन सफल भए।
उनी सन् १९९७ मा भौतिकशास्त्रतर्फ त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिष्ट हुन्।
बाग्लुङको हृरण्य पृथ्वी माविको साइन्स एन्ड कम्प्युटर ल्याबको
उद्धाटन गर्ने क्रममा राष्ट्रपति विद्या भण्डारीका साथमा।
स्नातकोत्तर सकेलगत्तै उनी जापान गए। स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम अन्तर्गत रिक्यो युनिभर्सिटी टोक्योमा छात्रवृत्तिमा एक वर्षे रिसर्च डिग्रीका लागि जापान गएका उनी त्यसको एक वर्षपछि इटाली गए।
इटालीमा छात्रवृत्तिमा एक वर्षे इन्टेन्सिभ कोर्ष सकेर उनी पिएचडीका लागि जर्मनी गए।
फ्रि युनिभर्सिटीमा बर्लिनमा सन् १९९९ देखि २००२ सम्म भौतिक शास्त्रमा पिएचडी सकेपछि हेमराज शर्मा डा.हेमराज शर्मा बने। जर्मनीमा पिएचडी सकेर शर्मा फेरि जापान फर्किए।
पोस्ट डक्टरल फेलोसिपको लागि जापान गएका शर्माले जापान सरकारकै मातहतमा रहेको राष्ट्रिय प्रयोगशालामा वरिष्ठ अनुसन्धानकर्ताको रूपमा काम गरेका थिए।
'जापानमा काम गरिरहेको बेला बेलायत सरकारको मलाई अर्को फेलोसिपको अवसर आयो। बच्चाहरूलाई बेलायतमा सजिलो हुने देखेर मैले बेलायत आउने निर्णय गरेँ,' शर्माले भने, '२००७ देखि युनिभर्सिटी अफ लिभरपुलमा काम गरिरहेको छु। सुरूमा लेक्चरर थिए, अहिले सिनियर लेक्चरर छु। अब प्रोफेसर हुने बाटोमा छु।'
जापानको स्थायी जागिर छोडेर बेलायत गएका शर्मा अहिले पनि जापानको विभिन्न वैज्ञानिक संस्थामा अनुसन्धानमा सहकार्य गर्दै आएका छन्।
आइएस्सीदेखि नै भौतिक शास्त्र पढेका शर्माले युनिभर्सिटी अफ लिभरपुलमा यही विषय पढाउँछन्। भौतिक शास्त्रमै पोष्ट डक्टर फेलोसिप गरेका शर्मा दैनिक जीवनमा प्रयोग हुने वैकल्पिक ऊर्जाजस्ता क्षेत्रमा प्रयोग हुने पदार्थहरूको अणुस्तरीय गुणहरूको अनुसन्धानमा समेत सक्रिय छन्।
उनले एक दर्जनभन्दा बढी विद्यार्थीलाई विद्यावारिधि गराएका छन् भने अन्तर्राष्ट्रिय स्तरका ७५ भन्दा बढी वैज्ञानिक सोधपत्र प्रकाशित गरेका छन्। साथै, केही पुस्तकमा सहलेखकका रूपमा समेत योगदान पुर्याएका छन्।
जर्मनी, जापान र बेलायत सरकारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत् प्रदान गर्ने प्रतिष्ठित फेलोसिप प्राप्त गर्न सफल भएका डा. शर्मा हाल २५ संस्थाहरू सम्मिलित युरोपस्तरीय अनुसन्धान संस्थाका महासचिव पनि हुन्। यसका अतिरिक्त, फ्रान्स र जापानका विभिन्न विश्वविद्यालयहरूमा भिजिटिङ प्रोफेसरका रूपमा आमन्त्रित हुने गरेका छन्।
२०११ को रसायन शास्त्रमा नोबेल पुरस्कार विजेता प्रोफेसर
ड्यान शेक्टम्यानसँग काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय
सम्मेलनमा भलाकुसारी गर्दै।
उनले भने, 'अनुसन्धानका लागि युनिभर्सिटीले खासै लगानी गर्दैन। हामीले बेलायत सरकारका काउन्सिल लगायत बाहिरी स्रोतबाट अनुदान जुटाउनु पर्छ।'
शर्माले पढाउने युनिभर्सिटीमा २५ हजार विद्यार्थी छन् भने यस युनिभर्सिटीबाट ६ जना प्राध्यापकहरू नोबेल पुरस्कार विजेता छन्। विद्यार्थीहरूमध्ये अधिकांश बेलायती नै हुन्। बेलायतमै हुर्किएका नेपाली पुस्ताका केही भने उनका विद्यार्थी छन्। अन्य देशबाट जाने विद्यार्थिका लागि महंगो शुल्क हुने भएकाले उनीहरूको रूचिमा यो युनिभर्सिटी पर्दैन। बेलायतका युनिभर्सिटीमा सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक पढाइमा धेरै ध्यान दिइने उनले बताए।
'बेलायत र नेपालको पढाइमा धेरै फरक छ। हामीले पढ्दा सैद्धान्तिक विषय धेरै हुन्थ्यो,' उनले भने, 'म त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडलिष्ट भएर पनि इटाली गएपछि झस्किएको थिएँ। गोल्ड मेडलिस्ट भएकाले भौतिक शास्त्र धेरै बुझेको जस्तो लाथ्यो तर त्यस्तो भएन।'
उनका अनुसार बेलायतमा नेपालको जस्तो नोट बनाएर पढ्ने भन्ने हुँदैन। विद्यार्थीलाई प्रयोगात्मक माध्यमबाट समस्याको समाधान गर्न र नयाँ तथ्य पत्ता लगाउन प्रोत्साहन गरिन्छ। नेपालमा त आफूले पढेको कहाँ काम लाग्छ भन्ने समेत भेउ पाउन गाह्रो हुने उनको बुझाइ छ। तर नेपालमा पनि विदेशमा पढेर नेपाल फर्केका साथीहरूले हाम्रो पालामा भन्दा अहिले धेरै परिवर्तन गरेको अवस्था छ।
नेपाल सरकारको सहकार्यमा आयोजित प्रथम एनआरएनए विश्व
ज्ञान सम्मेलनको संयोजकको हैसियतले सहभागीहरूलाई
मायाको चिनो प्रदान गर्दै।
'बेलायतमा समय अनुसार कोर्ष परिवर्तन हुन्छ। विश्व बाजार र अन्य खालका वैज्ञानिक परिवर्तनलाई आधार मानेर पढाइ हुन्छ,' उनले भने, 'मैले पढाउँदा मेरो अनुसन्धानसँग सम्बन्धित विषयमा मात्र पढाउँछु। त्यसैले यहाँ ज्ञानको दायरा अलि फराकिलो हुन्छ।'
उनका अनुसार भर्खर पढाउन सुरू गरेको लेक्चररको वार्षिक ४० हजार पाउण्ड हुन्छ भने प्राध्यापकको ९० हजार पाउण्डसम्म हुन्छ। अर्थात् ७५ लाख रुपैयाँदेखि १ करोड ७० लाख रूपैयाँसम्म वार्षिक कमाइ हुन्छ। बढी कमाउनेहरूले ४०% ट्याक्स सरकारलाई बुझाउनु पर्छ।
प्राज्ञिक क्षेत्र बाहेक उनले समाजसेवा र नेपालमा सहयोग हुने विषयमा पनि उत्तिकै रूचि राख्छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवसहित विभिन्न पदमा रहेर काम गरेका शर्मा अहिले उपाध्यक्ष समेत छन्।
शैक्षिक र अनुसन्धानको क्षेत्रमा कार्यरत रहेकै कारण उनी डायस्पोराका डाक्टर, इन्जिनयर लगायत अन्य बौद्धिक क्षेत्रमा लागेका नेपालीहरूलाई जोड्न सक्रिय छन्।
नेपाल सरकारको सहकार्यमा पहिलो र दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलनका संयोजक बनेर उनले संसारभरिका विज्ञहरूलाई नेपालसँग जोड्न महत्वपूर्ण योगदान पुर्याए।
आफ्नै अनुसन्धान क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलन नेपालमै आयोजना गरी उनले नोबेल पुरस्कार विजेता सहितका विश्वविख्यात वैज्ञानिकहरूलाई नेपालसँग जोड्न सहयोग गरे।
त्यस्तै, नेपालका विभिन्न शैक्षिक संस्थाका लागि प्रयोगशाला बनाउन समेत उनको सक्रियता छ। अस्कलमा भौतिक शास्त्र स्नातकोत्तर तहको प्रयोगशाला स्थापना गर्न बेलायतबाट उपकरणहरू पठाएका थिए।
उनले भने, 'अमृत साइन्स क्याम्पसको मास्टर्स कोर्ष सुरू भए पनि प्रयोगशाला थिएन। हाम्रो विश्वविद्यालयमा नयाँ प्रयोगशाला स्थापना गर्दैगर्दा यहाँको उपकरण अस्कलमा पठाउन मैले पहल गरेको हो।'
उनले लिभरपुल युनिभर्सिटीका भौतिक शास्त्र र रसायन शास्त्रका विद्यार्थीलाई हरेक वर्ष नेपाल पठाउँछन्। जसले शैक्षिक क्षेत्रमा केही न केही योगदान अवश्य हुन्छ। आफ्ना समकालीन साथीहरूसँग पनि विभिन्न अनुसन्धानमा सहकार्य हुँदै आएको उनले बताए।
कोभिडका बेलामा एनआरएनएले संयुक्त राष्ट्र संघ (युएन) अन्तर्गत अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग सहकार्य गरेको थियो। सहकार्यकै आधारमा एनआरएनएले विदेशमा बस्ने २ लाखभन्दा बढी नेपालीलाई सहयोग गरेको थियो। जसको अगुवाइ शर्माले गरेका थिए।
ग्राजुएसन गर्दै गरेका आफ्ना पिएचडी विद्यार्थी र आफ्ना
अनुसन्धान ग्रुपका सदस्यहरूका साथ।
बागलुङमा आफू पढेको विद्यालयका लागि 'साइन्स एण्ड कम्प्युटर ल्याब' स्थापनामा पनि उनी सक्रिय रहे। उनीसहित एनआरएनको सक्रियतामा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले साथ दिएपछि 'ल्याब' भव्य बनेको छ।
'हामी ५० लाख जम्मा गर्छौं अनि तपाईंले ५० लाख राख्नु भनेर चन्द्र दाइलाई भनेका थियौं। तर हामीले १ करोड जम्मा गर्यौं अनि चन्द्र दाइले झण्डै ५ करोड दिएपछि सुविधासम्पन्न ल्याब तयार भयो,' उनले भने, 'यो प्रोजेक्टको उद्घाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो।हाम्रै स्रोतबाट एउटा शिक्षकको व्यवस्था समेत गरिएको छ।'
विद्यालय भवन र प्रयोगशाला नेपालकै उत्कृष्ट स्तरका छन्। तर उनी भन्छन्, 'भौतिक संरचना राम्रो भए पनि शैक्षिक गुणस्तरका लागि स्थानीय तहबाटै पहल हुनुपर्ने रहेछ।'
बागलुङको मध्यम वर्गीय परिवारबाट बेलायतीलाई पढाउन पाउँछु भनेर आफूले कहिल्यै नसोचेको उनले बताए।
'बागुलङमा पढ्दै गर्दा मेरो ठूलो महत्वकांक्षा केही थिएन। मलाई जम्माजम्मी एचए बन्नु थियो। त्यसमा म सफल हुन सकिनँ। अग्रजहरूले आइएस्सी सकेपछि गाउँमै शिक्षक बन्नुपर्छ भन्ने सम्मको सपना देखाउनु हुन्थ्यो,' उनले भने, 'तर मैले पढाइलाई निरन्तरता दिएँ। बिहान स्कुलमा र साँझ ट्युसन सेन्टरमा पढाउँदै आफ्ना र भाइहरूको खर्चको जोहो गर्दै मैले एमएस्सीसम्म अध्ययन गरेँ।’
विदेश जाने आफ्नो कुनै सपना नभएको भन्दै उनले भौतिक शास्त्रमा पोस्ट डक्टरल फेलोसिप पनि धेरै परको कुरा रहेको बताए। अहिले रहेको ठाउँ र गरिरहेको कामप्रति उनी सन्तुष्ट छन्।