नेपाली डायस्पोराको एकताका लागि साझा मञ्चको रूपमा परिकल्पना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) युके अहिले गम्भीर सङ्कटको मोडमा पुगेको छ।
एकता प्रवर्द्धन गर्नुको सट्टा यो संस्था अहिले गहिरो गुटगत झगडामा जकडिएको छ, जसले यसको औचित्यमाथि नै खतरा उत्पन्न गरिदिएको छ।
संस्थालाई अहिले चाहिएको कुरा अर्को विवादास्पद चुनाव होइन — बरू इमानदार, समावेशी र सार्थक संवाद हो, जसबाट एकता, जबाफदेहिता र सहकार्य पुनर्स्थापना गर्न सकियोस्।
भूतपूर्व गोर्खा परिवार लगायत युकेमा बसोबास गर्ने नेपाली समुदायको संख्या बढ्दै जाँदा सामाजिक संस्थाहरूको संख्या पनि बढ्दै गएको छ। ती सबै संस्थाहरूसँग सहकार्य र समन्वय गर्न सक्ने ठानिएको एनआरएनए युके आफै लामो समयदेखि विवादमा पर्नु दुर्भाग्यपूर्ण कुरा हो। हामीले यो संस्थामा एकपछि अर्को चुनाव हेर्यौं, तर परिणाम शून्य छ। अहिले एनआरएनए युके दुई गुटमा विभाजित छ:
- एउटा पक्ष बद्री केसीसँग आबद्ध छ भने अर्को पक्ष शेष घले र महेश श्रेष्ठसँग सम्बद्ध।
संघको वैधानिक नेतृत्व गर्ने समूह कुन हो भन्ने निर्णय गर्न सर्वोच्च अदालतमा आधा दर्जनभन्दा बढी मुद्दाहरू विचाराधीन छन्।
शेष घले र महेश श्रेष्ठसँग सम्बद्ध एउटा समूहले युकेमा आफ्नो चुनाव सम्पन्न गरिसकेको छ भने अर्को समूह २६ जुलाईमा चुनाव गर्न लागिरहेको छ। दुवै पक्षले आफू वैध भएको दाबी गरिरहेका छन्, जसले समुदायभित्र झनै भ्रम र निराशा बढाइरहेको छ।
यो चुनाव केबल प्रक्रियागत टकराव मात्र होइन— यो नेतृत्वको असफलता, संवादहीनता र प्रजातान्त्रिक मूल्यहरूको उपेक्षाको लक्षण हो।
अहिले पदमा रहेका वा पदका आकांक्षीहरूले सत्ताको मोहमा आ-आफ्नो कुर्सी जोगाउने प्रयास गरिरहेको देखिन्छ। यदि ती व्यक्तिहरू साँच्चिकै युकेस्थित नेपाली समुदायको चासोमा चिन्तित हुन्थे भने, उनीहरूले व्यक्तिगत महत्त्वाकांक्षाभन्दा समुदायको हितलाई अगाडि राख्थे। त्यसैले, अहिलेको एकमात्र सार्थक उपाय भनेको:
- दुवै पक्षका सबै पदाधिकारीहरूले तत्काल राजीनामा दिनु र निष्पक्ष, स्वतन्त्र र समावेशी चुनावका लागि एउटा तटस्थ अन्तरिम समिति गठन गर्नु हो।
त्यसबाहेकका अरू कुनै पनि प्रयासले समस्यालाई लम्ब्याउनेछ र विभाजनलाई अझ गहिरो बनाउनेछ।
अहिलेको संकट सन् २००३ मा एनआरएनए युके स्थापना भएयता सबभन्दा गम्भीर नेतृत्व संकट हो। कहिलेकाहीँ एकताको पक्षमा बोल्ने संस्थापक सदस्यहरू अहिले संस्थाको गरिमा पुनर्स्थापना गर्न न त सक्रिय देखिन्छन्, न त मार्गदर्शक। केहीले एउटा पक्षको मात्रै पक्षपोषण गरिरहेका छन् भने केही मौन छन्। तर दुबै अवस्थामा उनीहरूको निष्क्रियता निष्पक्ष होइन, हानिकारक छ। जब नैतिक नेतृत्वको सबभन्दा बढी आवश्यकता छ, संस्थापक सदस्यहरू को हस्तक्षेपको अभावले गहिरो निराशा पैदा गरिरहेको छ।
नेपालको दलगत राजनीति एनआरएनए युकेभित्र पनि प्रवेश गरिसकेको कुरा लुकेको छैन। बद्री केसीको समूहलाई नेकपा एमालेसँग नजिक मानिन्छ भने महेश श्रेष्ठको समूह नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सम्बद्ध सञ्जालद्वारा समर्थित छ। यस्ता सम्बन्धहरूले संस्थाको तटस्थता र स्वतन्त्रता कमजोर बनाउँछ। एनआरएनए युके कुनै पनि विचारधाराभन्दा माथि उठेर कुनै पनि दलको भ्रातृ संस्थाको रूपमा होइन, सबै नेपाली डायस्पोराको साझा मञ्च बनेर स्थापित भएको थियो। राजनीतिक स्वार्थले प्रेरित नेतृत्वले विश्वभर छरिएका, विविध पृष्ठभूमिका नेपालीहरूको सेवा निष्पक्ष रूपमा गर्न सक्दैन। त्यसैले पनि यस्तो संस्था गैर राजनीतिक र तटस्थ हुन अनिवार्य छ।
समुदाय र भावी पुस्तामा असर
एनआरएनए युकेमा जारी द्वन्द्वले बेलायतस्थित नेपाली समाजलाई एकजुट गर्नुको सट्टा विभाजन गरिरहेको छ, रचनात्मक कामभन्दा बढी ‘इगो’ मा समय र ऊर्जा खर्च गरिरहेको छ, र यसले युवा पुस्तालाई नेतृत्व, नवप्रवर्तन र नेपालको सेवामा योगदान दिन सक्ने सम्भावनाबाट विमुख बनाइरहेको छ।
यदि स्थिति यस्तै रहिरह्यो भने, एनआरएनए युके अप्रासंगिक बन्दै जानेछ र आफ्नै समुदायको विश्वास गुमाइसकेको एउटा निर्जीव संस्था बन्नेछ।
एनआरएनए युकेलाई अहिले चाहिएको कुरा अर्को समानान्तर चुनाव, दोषारोपण वा विभाजित म्यान्डेट होइन, बरु आत्ममन्थन, नम्रता र संवाद हो।
अब सबै पक्षहरू एकै ठाउँमा आएर, अन्तरिम समिति गठन गरी, पारदर्शी, एकीकृत र समावेशी निर्वाचनका लागि मार्ग प्रशस्त गर्नुपर्छ।
एनआरएनए युकेका सबै पूर्वअध्यक्षहरू र समुदायका अग्रजहरूले एकताका लागि संवाद र मेलमिलापको प्रक्रिया सुरु गर्न अब ढिला गर्नु हुँदैन।
एकता केबल नारामात्र होइन, त्यो एउटा रोजाइ हो, र त्यो रोजाइ अहिलेको नेतृत्वको हातमा छ।
के उनीहरू यो अव्यवस्था कायमै राख्न चाहन्छन् वा समुदायको विश्वास, उद्देश्य र इमानदारीका साथ संस्थाको पुनर्निर्माण गर्न चाहन्छन्?
नेपाली डायस्पोराले हेरिरहेको छ — र यदि प्रतीक्षा धेरै लामो भयो भने चुपचाप टाढा टाढा भएर जाने छ ।
(एनआरएनए युकेको संस्थापक कार्यसमिति सदस्य, भट्ट एक उद्यमी तथा सामाजिक कार्यकर्ता हुन्। यहाँ व्यक्त विचार लेखकका निजी हुन्।)