गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको मुख्य सहकार्य र म्युनिखस्थित विभिन्न नेपाली संघसंस्थाहरूको संयुक्त पहलमा एनएफटी म्युनिख टिमले आगामी सेप्टेम्बर ६ मा एनआरएनए कप २०२५ आयोजना गर्ने भएको छ।
सन् २०१६ देखि नियमित रूपमा आयोजना हुँदै आएको एनआरएनए कप जर्मनीभरी फैलिएका नेपाली फुटबल खेलाडीहरूलाई एउटै मैदानमा प्रतिस्पर्धा गराउने अवसर हो।
यो फुटबल प्रतियोगिता जर्मनीभरीका नेपालीहरूको सबैभन्दा ठूलो वार्षिक खेलकुद महोत्सवको रूपमा स्थापित भइसकेको छ।
हजारभन्दा बढी नेपालीहरू सहभागी हुने यस प्रतियोगितामा म्युनिख, ह्याम्बर्ग, एसेन, बर्लिन, फ्र्याङ्कफर्ट, हानोवर, स्टुटगार्ट, डार्मस्टाट, बोन, ड्रेसडेन लगायतका जर्मनीभरीका प्रमुख सहरहरूबाट नेपाली टिमहरू सहभागी हुने गर्दछन्।
यस प्रतियोगिताको आठौं संस्करण पहिलोपटक दक्षिण जर्मनीको आकर्षक सहर म्युनिखमा आयोजना हुँदैछ। यसले गर्दा यो प्रतियोगिता अझ विशेष र ऐतिहासिक हुने भएको छ।
एनएफटी म्युनिखले यसपटक प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो।
एनएफटी म्युनिख विगत वर्षहरूमा एनआरएनए कपमा सफल र प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आएको प्रमुख नेपाली फुटबल टोली हो।
एनआरएनए कप २०२५ मा पुरुष र महिला दुवै वर्गका टोलीहरूको सहभागिता रहनेछ।
यो प्रतियोगिताले खेलकुद, आपसी भेटघाट र समुदायबीचको एकतालाई थप सुदृढ बनाउने विश्वास आयोजक समूहको छ।
म्युनिखमा आयोजना हुने यो महोत्सव सम्पूर्ण नेपाली समुदायको सामूहिक उत्साह, सहभागिता र सहकार्य मार्फत सफल बनाउन आयोजक समूहले सबैलाई निमन्त्रणा गरेको छ।