मार्च १५ तारिखको बिहान, थाइल्यान्डको राजधानी बैंककमा रहेको रेम्ब्रान्ट होटलको तेस्रो तलामा अवस्थित एक सभाहलमा दोस्रो गैरआवासीय नेपाली (एनआरएन) विश्व युवा सम्मेलनको उद्घाटन समारोह चलिरहेको थियो।
मेरो छेउमा बसेका कुमार कार्कीले बरबर आँशु झारिरहेका थिए। उनीसँगै बसेका माननीय पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य पदम गिरी र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीका आँखा पनि रसाएका थिए। अलिक पर बसेका गीतकार आनन्द कार्कीको अवस्था पनि त्यस्तै थियो। मैले पनि आफ्नो मन सम्हाल्न सकिनँ।
स्टेजमा जब विभिन्न नेपाली जातीय वेशभूषामा सजिएका भाइबहिनीहरूले प्रकाश सपुतको 'मेरो पनि होइन र यो देश?' भन्ने गीतमा नाच अघि बढाउँदै थिए, सहभागीहरूको आँखाबाट आँश झर्ने बेग पनि बढ्दै गयो। हलभरिका मानिसहरूबीच एक किसिमको गहिरो सन्नाटा छायो।
सहभागीहरूले त्यो गीत न त पहिलो पटक सुनेका थिए, न त यस्ता नाच पहिलो पटक हेरेका थिए। तर त्यस दिनको माहोलले सबैलाई असाध्यै भावुक बनायो।
स्टेजमा नाचिरहेका ती भाइबहिनीहरू न त पश्चिमको कुनै गुरूङ गाउँमा हुर्किएका थिए, न त पूर्वको लिम्बू परिवारमा, न त तराईको थारू घरमा। उनीहरूले न नेपालको माटो टेकेका छन्, न त आफ्ना पुर्खाहरूको थाकथलोबारे कुनै जानकारी थियो।
उनीहरू त दुई सय वर्षअघि पहिलो विश्व युद्धका बेला ब्रिटिस सेनाको तर्फबाट बर्मा (म्यानमार) मा लड्न गएका गोर्खा सैनिकहरूका सातौं पुस्ताका सन्तान थिए।
यसैगरी, दोस्रो विश्व युद्धको समयमा नेपालबाट भारत हुँदै म्यानमार र थाइल्यान्ड पसेका सिसा र फलामको खानीमा काम गर्न पुगेका कामदारका वंशज थिए।
विदेशी भूमिमा बसेर पनि सातौं पुस्तासम्म नेपाली भाषा, संस्कृति र पहिचान यसरी जीवन्त राख्दै, पितृभूमि नेपालप्रति देखाएको अदभूत प्रेम र निष्ठाले सबैको हृदय छोएको थियो।
थाइल्यान्ड, म्यानमार र मलेसियाका गाउँ गाउँबाट आफ्नो पितृभूमि 'नेपाल' खोज्न नेपाली वेशभूषामा सजिएर त्यहाँ पुगेका मानिसहरूले हल भरिदिएका थिए।
एनआरएनएले मन्त्री पाण्डे, सांसद गिरी, राजदूत ओली लगायत सरकारी प्रतिनिधिहरूसँग उनीहरूका भावना पोख्ने अवसर सिर्जना गरेको थियो। यस ऐतिहासिक क्षणका लागि मन्त्री पाण्डे आफ्नो व्यस्ततालाई पछि राखेर सिधै युरोपबाट थाइल्यान्ड आइपुगेका थिए।

उद्घाटन सत्र सम्पन्न भएपछि विभिन्न देशका प्रतिनिधिहरूले पालैपालो आ–आफ्ना पीडा र भावना व्यक्त गरे।
चार सय वर्षअघि राम शाहको पालामा भुटान प्रवेश गरेका नेपालीहरूको दरसन्तान — जो अहिले अमेरिकामा बस्छन् — समेतको त्यहाँ प्रतिनिधित्व थियो। थाइल्यान्ड निवासी सातौं पुस्ताकी १२ वर्षीया सिता लामादेखि उनकी हजुरआमा पुस्ताकी सेतै फुलेकी भारती लिम्बुनीसम्मको उपस्थिति त्यहाँ थियो। एनआरएनए अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारीहरूको बाक्लो उपस्थिति थियो।
उनीहरूलाई साक्षी राख्दै, म्यानमारमा बस्ने भिम पाण्डेले उनका हजुरबाको करूणामय कथा सुनाए।
उनका हजुरबुबा नेपाल फर्किने गहिरो चाहना बोकेर पनि यतै प्राण त्याग गर्न बाध्य भएका रहेछन्। हजुरबाले आफू जन्मेको अर्घाखाँचीको माटो सुँघेर मर्ने इच्छा राखेर माटो लिन भिम पाण्डेलाई नेपाल पठाएका रहेछन्।
यसै क्रममा नेपाल जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भोग्नुपरेको अपमान र सास्तीको सम्झना गर्दा उनका शब्दहरू कम्पित भएका थिए।
अमेरिकामा बस्ने गोपाल धितालकी ९४ वर्षीया हजुरआमा मर्नका लागि भन्दै नेपाल गएकी थिइन्। तर भिसा सम्बन्धी समस्याका कारण तीन–चार महिनामै अमेरिका फर्किनुपर्यो। उनले यो कथा सुनाउँदा हलमा उपस्थित हामी सबैको मन भारी भएको थियो।
थाइल्यान्डमा बस्ने ओम शर्माले नेपाल पढ्न पठाएको आफ्ना छोराले फोनमा भनेको कुरा सुनाए, 'बाबा, हामी त नेपाली होइन रहेछौं नि, किन मलाई नेपाल पढ्न पठाउनुभएको?'
अर्थात्, ओम शर्माले आफ्ना छोरामा जुन 'नेपाली' पनको अनुभूति दिलाएका थिए, त्यो अनुभूति नेपाल राज्यले भने दिलाउन सकेनछ। मलेसियाबाट आएका रोशन राणाले 'हामीलाई केबल नेपाली भाषी होइन, नेपाली जाति भन्ने पहिचान दिनू' भन्दै नेपाल सरकारलाई अनुरोध गरे।
लेखक तथा अनुसन्धानकर्ता डा. रमेश खड्काले म्यानमार, थाइल्यान्ड, मलेसिया र फिजीमा बस्ने नेपालीहरूको सात पुस्ताको इतिहास विस्तारपूर्वक प्रस्तुत गरे।
त्यहीँ सातौं पुस्ताकी खुसी कार्कीले आफ्नो कथा सुनाइन्। उनी नेपालमा आयोजित 'डान्स युनिभर्स नेपाल' नामक रियालिटी शोमा प्रतिस्पर्धा गर्दै, नेपालमै जन्मिएर हुर्किएको पुस्तालाई पछि पार्दै विजेता बन्न सफल भएकी थिइन्। आफ्नी आमाले सिकाएको नेपाली कला, संस्कृति र संस्कारकै कारण आफू त्यो सफलताको शिखरमा पुग्न सकेको कथा सुनाउँदै गर्दा उनको गला अवरूद्ध भएको थियो।
मेरो छेउमा बसेर आँशु झारिरहेका कुमार कार्की भावुक हुँदै भन्दै थिए, 'हजुर, हामीलाई नेपालको नागरिकता चाहिएको छैन, नेपालमा गएर राजनीति गर्ने कुनै इच्छा पनि छैन। केबल राष्ट्रले हामीलाई नेपाली मूलका व्यक्तिको रूपमा मान्यता दिई एउटा परिचयपत्र उपलब्ध गराओस् ताकि हामीले आफ्ना छोराछोरीलाई नेपालमा पढाउन सकौं। उनीहरू नेपालमा पढ्दा हामी पनि उनीहरूका साथ बस्न पाऔं। सकेसम्म यहाँ कमाएको थोरै धेरै पुँजी नेपालमै लगानी गर्न पाऔं। अनि हामीले हाम्रो पुर्खाको माटोलाई समय समयमा ढोग्न सकौं। त्यहाँका देवीदेवताहरूको दर्शन गर्न पाऔं। र, अन्ततः आफ्नो पुर्ख्यौली माटोमै प्राण त्याग गर्न पाऔं। बस् हजुर, हामीले खोजेको यत्ति मात्रै हो।'
मञ्चको तल बसेका मन्त्री पाण्डे र सांसद गिरि टाउको हल्लाउँदै उनको भावना र अनुरोधमा मौन समर्थन जनाइरहेको देखिन्थे।
सन् २००३ मा स्थापित एनआरएनएको निरन्तर प्रयासपछि नेपालको संविधानले केबल तीन पुस्तासम्मका नेपालीहरूलाई मात्र कानुनी पहिचान दिएको छ।
संविधानको धारा १४ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको (सार्क मुलुक बाहेकका देशमा बसोबास गर्ने), जसको बाबु वा आमा, बाजे वा बज्यै जन्मसिद्ध वा वंशजका आधारमा नेपाली नागरिक थिए, ती व्यक्तिलाई संघीय कानुन अनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।
तर दुःखको कुरा, तीन पुस्ताभन्दा अगाडिका नेपाली मूलका सन्तानलाई नेपालको संविधान र कानुनले अझै औपचारिक रूपमा पहिचान दिएको छैन।
त्यसैले, ती पुस्तालाई 'नेपाली मूलका व्यक्ति (People of Nepali Origin)' को रूपमा कानुनी मान्यता दिलाउन पहल गर्न, यिनै पुस्ताहरू बसोबास गर्ने थलो — थाइल्यान्ड — मा यो ऐतिहासिक सम्मेलन आयोजना गरिएको थियो।
नेपाल राष्ट्रले ७० वर्षअघि मात्र नागरिकताको प्रमाणपत्र वितरण गर्न सुरू गरेको थियो। त्यसैले, पहिलो र दोस्रो विश्व युद्धको समयमा म्यानमार र थाइल्यान्ड प्रवेश गर्दा नेपालीहरूको परिचयपत्र वा नागरिकता थिएन र त्यहाँको नागरिकता पनि प्राप्त गर्न नसक्ने भएकाले उनीहरू राज्यविहीन भइ शरणार्थीको रूपमा बसोबास गर्दै आएका थिए। त्यस्तो अवस्थामा तत्कालीन राजा वीरेन्द्र र थाइल्यान्डका नवौं नरेशबीच भएको सम्झौता अनुसार, सन् १९८७ मा नेपाली शरणार्थीहरूलाई ग्रिनकार्ड प्रदान गरिएको थियो।

सुरूआतका पुस्ताले कोइला खानी, खेतीकिसानी र अन्य पेसाहरू अपनाउनुपरे पनि अहिलेका पुस्ताहरू आर्थिक, प्राज्ञिक र विभिन्न क्षेत्रहरूमा स्थापित भएका छन्। उनीहरूले नेपालबाट कुनै आर्थिक लाभ लिन चाहेका छैनन्, केबल उनीहरू नेपालसँग जोडिन चाहन्छन्।
राजा महेन्द्रले सन् १९६० मा म्यानमार भ्रमणका क्रममा उनीहरूको सीप देखेर काठ उद्योगमा काम गर्ने नेपालीहरूलाई नेपाल फर्काएका थिए। पछि नेपाल सरकारले हजारौं संख्यामा बर्मेली नेपालीहरूलाई नेपाल फर्काएको थियो।
अहिलेको लोकतान्त्रिक सरकारले उनीहरूलाई भौतिक रूपमा देश फर्काउनेभन्दा, उनीहरूले आर्जन गरेको सीप र पुँजीलाई नेपाल भित्र ल्याउन र नेपालको हितमा उनीहरूलाई 'सफ्ट पावर' का रूपमा प्रयोग गर्ने वातावरण बनाउनुपर्छ।
सयौं वर्षअघि नेपाल छाडेका दरसन्तानहरूले नेपालप्रति देखाएको माया र उनीहरूले विदेशी भूमिमा बसोबास गर्दा नेपालको भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्न सकेका देख्दा लाग्थ्यो — यिनीहरूले युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता विकसित मुलुकहरूमा बसोबास गर्ने हामी गैरआवासीय नेपालीहरू, जसका सन्तानले टुटेफुटेको नेपाली भाषा पनि बोल्न सक्दैनन् र देशमै बसेर सामाजिक सञ्जालमा नेपालप्रति घृणा फैलाउने नेपालीहरूलाई चुनौती दिइरहेका छन्।
पहिले बर्मामा नेपाली भाषाका विद्यालयहरू थिए रे। तर त्यहाँ जातीय द्वन्द्व सुरू भएपछि नेपाली भाषाका स्कुल बन्द भएका रहेछन्। स्थानीय स्कुलहरू बन्द भए पनि, स्कुलको छुट्टीको तीन महिना अवधिमा मन्दिरमा केटाकेटीहरूलाई पढाएर नेपाली भाषालाई जीवन्त राखेका रहेछन्।
हुन त एसियाली मुलुकहरूमा जस्तो, पश्चिमी मुलुकहरूमा नेपाली भाषा र संस्कृति जगेर्ना गर्न त्यति सजिलो छैन। खुला समाज भएकाले सन्तानलाई कुनै विशेष विषयमा दबाब दिन त्यति सहज हुँदैन। नेपाली भाषा र संस्कृतिको पुस्तान्तरण गर्न वैवाहिक सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्छ।
म्यानमार र थाइल्यान्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूले नेपाली धर्म र संस्कृतिको सम्मान गर्ने सर्तमा मात्र अन्य धर्म र संस्कृतिका व्यक्तिहरूसँग विवाह गर्ने परम्परा अपनाएका रहेछन्। नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्न बिहे जस्तो व्यक्तिगत अधिकारमा सम्झौता गर्ने यिनीहरूको समर्पणलाई सलाम छ, जुन कुरा पश्चिमी मुलुकमा सजिलो छैन।
नेपाली उत्पत्तिका व्यक्तिहरू अहिले एसियाका बर्मा, थाइल्यान्ड, मलेसिया, फिजी लगायत देशहरूमा करिब ५ लाखको संख्यामा सीमित भए पनि, अबको केही दशकपछि उनीहरूको उपस्थिति पश्चिमी देशहरूमा योभन्दा ठूलो संख्यामा हुनेछ।
आजका गैरआवासीय नेपालीहरूको दुई-तीन पुस्ता पछिका व्यक्तिहरू स्वतः नेपाली मूलका व्यक्ति बन्नेछन्। त्यसैले, अहिले प्रतिनिधि सभामा पेस हुन लागेको गैरआवासीय नेपाली सम्बन्धी ऐनमा यी नेपाली मूलका व्यक्तिहरूलाई पहिचान गर्ने अवसर गुमाउनु हुँदैन।
कार्यक्रममा दिनभरको घनिभूत छलफलपछि साँझ फेरि संगीतमय बन्यो।
मन्त्री पाण्डेले पनि छमछम नाचेर ती सातौं पुस्ताका नेपालीहरूलाई हौसला दिनुभयो। हल्यान्डबाट थाइल्यान्ड पुगेका हरि पौडेलले कर्मभूमिमा रहेका नेपालीहरूलाई मातृभूमिको यादले कसरी सताइरहेको छ भन्ने कुरा यी कविताका हरफहरू मार्फत सुनाए —
टुलिपै टुलिपको देश, छैन लालीगुँरास यहाँ
भोजपुरी र झ्याउरे गीत सुन्न पाइन्छ र कहाँ?
गयो दसैं, आयो तिहार, न फल पाएँ मैले, न कुनै फलाहार
न आँगन छ, न दैलो
न दसैं, न भुइँ
के छ त यहाँ?
हातमा हेनिकेन बियर, आँखामा टियर
ओ माई डियर, दियर नो बडी कियर...
डाइनिङ टेबल अगाडि ८४ व्यञ्जन भए पनि
उही गुन्द्रुक र तामाको स्वादले सताइरहेको छ
आज किन किन मलाई मेरो देश र मेरो गाउँको यादले सताइरहेको छ...।
थाइल्यान्डको उक्त कार्यक्रम सकाएर, क्याम्बोडियामा भएको १०औं एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा भाग लिएर युके फर्किँदै गर्दा मेरो मनमा एउटै कुरा घुमिरहेको छ — पश्चिमी देशमा बस्ने हामी पहिलो पुस्ताका गैरआवासीय नेपालीहरू र हाम्रा सन्तानहरूलाई म्यानमारका भिम पाण्डेका हजुरबाको जस्तै, अर्घाखाँचीको माटो सुँघेर मर्ने रहर होला?
(लेखक गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष हुन्।)
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com