ग्लोबल नेपाली
बेलायतको स्थानीय निकायमध्ये सबैभन्दा माथिल्लो तहका लागि नेपाली समुदायका बच्चुकैलाश कैनी उम्मेदवार बन्ने पक्का भएको छ।
कैनीले आफ्नो पार्टीका अन्य दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै 'केन्ट काउन्टी काउन्सिल' का लागि उम्मेदवारी पक्का गरेका हुन्।
बेलायतमा हरेक तहको निर्वाचनमा उम्मेदवार बन्नुअघि आकांक्षीहरूका बीच पार्टीमै आन्तरिक प्रतिस्पर्धा हुन्छ। यो प्रतिस्पर्धा जितेको व्यक्ति मात्र पार्टीका तर्फबाट उम्मेदवार बन्न पाउने व्यवस्था छ।
बेलायतमा काउन्टी काउन्सिल भनेको संसदभन्दा ठीक मुनिको निकाय हो। त्यसमुनि 'डिस्ट्रिक्ट काउन्सिल' हुन्छ। सबैभन्दा तल सिटी काउन्सिल र पेरिस काउन्सिल हुन्छ।

कैनी सन् २०१५ मा डार्टफोर्ड डिस्ट्रिक्ट काउन्सिलमा काउन्सिलर निर्वाचित भएका थिए। सन् २०१७ को आमनिर्वाचनमा लेबर पार्टीका तर्फबाट सांसद पदको उम्मेदवार बनेका थिए। बेलायतको प्रमुख पार्टीबाट सांसद पदको उम्मेदवार हुनु उनका लागि ठूलो अवसर थियो। तर उनी पराजित भए।
त्यसयता पनि विभिन्न उतार–चढावबीच उनी लेबर पार्टीमै सक्रिय छन्। यही सन् २०२५ मे १ मा हुने निर्वाचनका लागि केन्ट काउन्टी काउन्सिलका उम्मेदवार कैनीले चुनावी अभियान थालिसकेका छन्।
'यो निर्वाचन स्थानीय निकायमा सबभन्दा ठूलो हो। काउन्टी काउन्सिलले शिक्षा, स्वास्थ्य र यातायात हेर्छ। म उम्मेदवार बनेको काउन्सिलभित्र १२ वटा जिल्ला र ७२ वटा काउन्सिल छन्,' कैनीले सेतोपाटीसँग भने, '७२ जनामध्ये जसको बहुत पुग्छ, उसले काउन्सिलको लिडर (नेता) चयन गर्छ। लिडरले क्याबिनेट गठन गर्छ। मेयर पनि लिडरले नै चयन गर्छ।'
राजाको प्रतिनिधि भएर रहने मेयर 'सेरेमोनियल' हुन्छ। बेलायतमा अहिलेसम्म नेपाली समुदायका व्यक्ति डिस्ट्रिक्ट काउन्सिलमा मात्र पुगेका छन्।
कैनी उम्मेदवार बनेको काउन्सिलमा कन्जरभेटिभ पार्टीले निर्वाचन जित्ने गरेको छ। कन्जरभेटिभ पार्टीसँग विचारसँग मिल्ने रिफर्म पार्टी र ग्रीन पार्टीले आपसमा भोट काट्न सक्ने भएकाले आफ्नो सम्भावना बलियो रहेको उनको भनाइ छ।
उनका अनुसार चुनावको सबैभन्दा ठूलो चुनौती भनेको मतदाता मतदानमा नजानु हो। घरमै बसेर र वा मतदान केन्द्रमा मतदान गर्ने सुविधा छ। तैपनि स्थानीय निर्वाचनमा ३० देखि ३५ प्रतिशत मत मात्र मतदान हुन्छ।
'आफ्ना कति समर्थकहरूले मतदान गर्छन् भन्नेमा हारजित भर पर्छ। तर उग्र दक्षिणपन्थीहरूको भोट बाँडिने भएकाले पनि मेरो सम्भावना बलियो छ,' उनले भने।
लेबर पार्टी सरकारमा छ। यस कारण स्थानीय जनतामा असन्तुष्टि हुन सक्ने भएकाले उनलाई थोरै आशंका पनि छ।

'हुन त हाम्रो पार्टीले सरकारको नेतृत्व गरेको सात महिना मात्रै भएको छ। तर पनि जनताका आकांक्षा पूरा गर्न नसकेको भन्ने आरोप आउन सक्छ,' उनले भने, 'सामाजिक सुरक्षा भत्तामा केही कटौती भएको छ। त्यसको असर देखिन सक्छ।'
सरकारले सुधारका काम गरिरहेको भए पनि त्यसको नतिजा आउन बाँकी रहेकाले आफूलाई असर पर्न सक्ने थोरै सम्भावना उनले देखेका छन्। त्यसै कारणले हार हुन्छ भन्ने चाहिँ उनलाई लाग्दैन। चुनावप्रति जनताको आकर्षण नहुने र सबैको व्यस्तताका कारणले पनि असर पर्न सक्छ।
'म आफै पनि काममा जानुपर्छ। यहाँ प्रचारप्रसार हुने भनेको शनिबार र आइतबार मात्र हो। मतदाता १६ हजार छन्। यी सबैलाई भेटेर आफ्ना कुरा राख्नु चुनौतीपूर्ण काम हो,' कैनीले भने।
उनका अनुसार पार्टीका समर्थकहरू समेत आफ्नो काममा व्यस्त हुने भएकाले चुनावी अभियान बिदाको दिनमा मात्र हुन्छ। बेलायतका २४ काउन्टी काउन्सिलमध्ये यसपटक १५ वटामा निर्वाचन हुँदैछ। त्यहाँ सबै स्थानीय निकायको निर्वाचन एकैपटक हुँदैन।
सन् २००५ मा 'दक्ष आप्रवासन (स्किल्ड माइग्रेसन)' अन्तर्गत बेलायत पुगेका कैनी त्यहाँको स्वास्थ्य क्षेत्रमा काम गर्छन्। उनी सन् २०१० मा लेबर पार्टीमा आबद्ध भएका थिए। उनी पार्टीमा ब्ल्याक एन्ड माइनर एथ्निक (बिएएमई) अफिसरका रूपमा कार्यरत छन्।
पार्टीको जिल्ला कार्यसमिति अन्तर्गत अश्वेत र सीमान्तकृतको हकहितका लागि संयोजक भएर काम गर्नु उनको मुख्य जिम्मेवारी हो।

सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com