ग्लोबल नेपाली
सन् २०१० मा बेलायत जानुअघि अञ्जनीकुमार फुँयाल इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर इन्जिनियर थिए। युएनडिपी (युनाइटेड नेसन डेभलपमेन्ट प्रोग्राम) मार्फत अर्थ मन्त्रालय र विभिन्न विकासे एजेन्सीमा काम गरे।
कम्प्युटरमा गहिरो रूचि राख्ने अञ्जनीले बेलायतको मिडलसेक्स युनिभर्सिटीबाट कम्प्युटर एन्ड नेटवर्क सेक्युरिटी विषयमा स्नातकोत्तर पूरा गरे। मास्टर्स पूरा गरेपछि उनले बेलायतमा विभिन्न बहुराष्ट्रिय कम्पनीहरूमा डिजिटल ट्रान्सफर्मेसनको काम गरे। विशेष गरेर उनको काम क्लाउड कम्प्युटरमा थियो।
उनले बेलायतमै बसेर 'क्यापिटल वान' नामको अमेरिकी बैंकमा पनि काम गरे। त्यही बीचमा अञ्जनी र उनका केही साथी मिलेर सन् २०१६ मा 'जेनेस सोलुसन' नामको कम्पनी दर्ता गराए। उनले सन् २०१८ मा कम्पनीको चिफ टेक्निकल अफिसरका रूपमा जिम्मेवारी लिए।
हाल उनी सिइओ (मुख्य कार्यकारी अधिकृत) छन्।
उनका अनुसार बेलायतमा मुख्यालय रहेको जेनस सोलुसनका शाखा १० वटा देशमा छन्। यो कम्पनीले आफ्नो शाखा नभएका देशमा पनि आंशिक रूपमा काम गर्छ। केही देशमा शाखा खोल्ने तयारी भएको छ।
यो कम्पनीले नेपालमा सन् २०१८ मै काम सुरू गरेको हो।
'क्लाउड कन्सल्टिङका लागि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउने पहिलो कम्पनी जेनेस सोलुसन नै हो,' अञ्जनीले भने, 'नेपालमा डिजिटल इनेबल बिजनेसमा जेनेस सोलुसनको ३० प्रतिशत उपस्थिति छ।'
जेनेस सोलुसनले क्लाउड, डेटा, एआई र साइबर सेक्युरिटीमा काम गर्छ। मुख्य गरी बैंक र बीमा कम्पनीमा काम गरिरहेको उनले बताए।
'अमेजन, गुगल, माइक्रोसफ्ट, फेसबुक लगायत ५० वटा मुख्य बहुर्राष्ट्रिय कम्पनीसँग सहकार्य गरिरहेका छौं। उनीहरूको सर्भिस हाम्रो कन्सल्टिङमा गाभेर ग्राहकलाई सेवा दिइरहेका छौं,' उनले भने, 'नेपालमा हाम्रो कम्पनीमा सय जना काम गर्दैछन्। तीमध्ये ५० जना विश्वव्यापी रूपमा काम गर्छन्।'
बेलायत, आयरल्यान्ड, स्पेन, फिनल्यान्ड, अमेरिका, क्यानडा, अस्ट्रेलिया, नाइजेरिया, बंगलादेश, पाकिस्तान लगायत देशमा सेवा दिइरहेको अञ्जनीको भनाइ छ।
उनी सन् २०१० मा बेलायत जाँदा त्यहाँ भर्खरै डिजिटल ट्रान्सफर्मेसन सुरू हुँदै थियो। उनका अनुसार बेलायतमा सर्वसाधारणलाई जरूरी पर्ने हरेक सरकारी काम मोबाइलबाटै गर्न सकिन्छ।
यता नेपाल भर्खर डिजिटल ट्रान्सफर्मेसनमा बामे सर्दैछ।

'बेलायतसँग तुलना गर्ने हो भने नेपालीहरू १५ वर्ष पहिलेको ठाउँमा छौं। हामी अलि दौडियौं भने पाँच वर्षमा भेट्न सक्छौं। यसका लागि हामी दृढ हुनुपर्यो, गर्छौं भने पनि गर्नुपर्यो,' उनले भने, 'डिजिटल ट्रान्सफर्मेसनका लागि हामीले नीतिगत काम गर्न सकेका छैनौं। सरकारी क्षेत्रले बाटो बनाइदिने हो, निजी क्षेत्र दौडिने हो। कतिपय क्षेत्रमा सरकार आफै दौडिन खोजेजस्तो देखिन्छ।'
डिजिटल ट्रान्सफर्मेसनको माध्यमबाट सार्वजनिक यातायातमा धेरै ठूलो सुधार गर्न सकिन्छ। यसमा काम गर्न ट्राफिक लाइट व्यवस्थित गर्ने र लाइसेन्स छपाइ गर्ने लगायतका केही नीतिगत निर्णय आवश्यक छ। सवारीसाधन दर्ता र लाइसेन्स बनाउने प्रक्रियाको तथ्यांक केन्द्रीय सरकारको पहुँचमा ल्याउन डिजिटल ट्रान्सफर्मेसन जरूरी रहेको उनको भनाइ छ।
'पासपोर्ट बनाउँदा लाइन नबसी घरमै पुर्याउने कुरा छ। पासपोर्ट बनाउने सर्भर ह्याक हुनु राम्रो होइन। नागरिकता बनाउने; जन्म र मृत्यु दर्ता डिजिटल रूपमा अघि बढाउने काम बाँकी छ,' उनी भन्छन्, 'शिक्षा क्षेत्रमा डिजिटल ट्रान्सफर्मेसनका लागि जेनेस सोलुसन आफैले कतिपय युनिभर्सिटीसँग मिलेर एआई पढाउन थालेको छ।'
पछिल्लो प्रविधि जति चाडो अपनाउन सकियो, त्यति सुरक्षित हुन सकिन्छ भन्ने बुझ्न जरूरी रहेको उनी बताउँछन्। क्लाउड सिस्टममा जानसाथ सबै पारदर्शी हुन्छ। नेपालजस्ता देशले फेसबुक, एक्स, अमेजन, माइक्रोसफ्ट लगायत कम्पनीसँग सहकार्य गरेर यसको हब बनाउन सक्नुपर्छ। बहुराष्ट्रिय कम्पनीलाई नेपाल ल्याउने विषयमा नीतिगत स्पष्टता छैन। हाम्रोजस्तो भूगोल भएको र अनि राजनीतिक रूपमा तटस्थ देशलाई काम गर्न सजिलो हुने उनले बताए।
उनले नेपालमा आउट–सोर्सिङ बिजनेस फस्टाउने बलियो सम्भावना देखेका छन्। आइटी र टेक्नोलोजीमा हरेक वर्ष १० हजार जनशक्ति निस्किन्छ। उनीहरूलाई रोजगारी दिन आउट–सोर्सिङ बिजनेसको ठूलो महत्त्व हुन्छ। यस क्षेत्रमा विदेशी कम्पनीलाई नेपाल आउन दिनुपर्ने उनको सुझाब छ।
'आउट–सोर्सिङ बिजनेसमा काम गर्नेले बहुराष्ट्रिय कम्पनीको काम गर्ने शैली र नयाँ आइडिया सिक्छ। अरूलाई किन दिने, आफै गर्ने भन्ने हो भने त पछि परिन्छ,' उनले भने।
उनका अनुसार नेपालमा आउट–सोर्सिङ बिजनेस अघि बढाउने हो भने सहरहरू २४ घण्टा चलायमान हुनुपर्छ, यातायात चल्नुपर्छ, सुरक्षा व्यवस्था राम्रो हुनुपर्छ।
'विदेशी कम्पनी सहज तरिकाले आउने बाटो बनाउने हो भने पैसा ल्याउने–लैजाने व्यवस्था हुनुपर्छ र दोहोरो कर प्रणाली हुन हुँदैन,' अञ्जनीले भने।
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.comक