ग्लोबल नेपाली
सन् २०२० मार्चमा बेलायत कोरोना महामारीले आक्रान्त भइसकेको थियो।
कोरोनाकै कारण सुजन कटुवालले साउथ लन्डनमा रहेको पानस गोर्खा रेस्टुरेन्ट बन्द गर्ने सोचे।
नेपालबाट सुजनकी आमा सुशीलाले पनि फोन गरेर रेस्टुरेन्ट बन्द गर्न भनिन्। बन्द गर्नुभन्दा अगाडि दिवंगत बुबाका नाममा अस्पतालमा निःशुल्क खाना खुवाउन भनिन्।
त्यसपछि सुजन श्रीमती बन्दनासँगै अस्पतालमा खाना वितरण गर्न गए।
'म कसैलाई नभनी खाना बाँड्न गएको थिएँ। कोभिडको समयमा धेरै भीड हुने कुरै भएन। तर कसैले मैले खाना बाँड्दै गरेको भिडिओ खिचेर आइटिभी च्यानलमा पठाइदिएको रहेछ,' बेलायतमा रहेका सुजनले सेतोपाटीसँग कुराकानीमा भने, 'अनि रेस्टुरेन्ट सधैंका लागि बन्द गर्नै लागेका बेला मान्छेको भीड भयो। मैले अस्पतालमा निःशुल्क खाना बाँडेको भनेर खानेकुरा किन्न आएका रहेछन्।'
विराटनगरका सुजन सन् १९९८ मा बेलायत गएका थिए। बेलायतमा झन्डै तीन दशक बिताइसक्न लाग्दा पनि उनका लागि यो बिल्कुलै नयाँ घटना थियो।
कहिले होटलमा काम गर्दै, कहिले ड्राइभिङ स्कुल चलाउँदै सुजनले सन् २०१० अन्त्यतिर आफ्नै रेस्टुरेन्ट खोलेका हुन्।
'हामी एकअर्कासँग बाँडेर खानुपर्छ, दिनुपर्छ भन्ने संस्कारमा हुर्किएका हौं। सानोमा बुबाले बारीको साग पनि छिमेकीसँग बाँडेर खानुपर्छ भनेर दिन लगाउनु हुन्थ्यो। त्यसको प्रभाव म जहाँ गए पनि रहिरह्यो,' उनले भने, 'बाँडेर खाने संस्कार मेरो मात्र होइन नि, हामी आम नेपालीकै हो। म त्यही संस्कारमा हुर्किएँ र यसैले मलाई आज यो ठाउँसम्म पुर्यायो।'
गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवीको पहिचान बनाएका सुजन यो वर्ष बेलायतको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष निकाल्ने एक सय प्रभावशाली व्यक्तिको सूचीमा उनी समेटिएका हुन्।
उनले पटक पटक गरी दुई लाख ५० हजारभन्दा बढी मानिसलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ ६ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको अवार्ड इन्टेलिजेन्सले जनाएको छ। यो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरकारी अधिकारी, प्रोफेसर, चिकित्सक समेत छन्।
सुजनलाई भने यस्तो सूचीमा आफू परूँला भन्ने कहिल्यै लागेको थिएन। आफ्नो नाम समेटिएको जानकारी समेत लिंक्डइनबाट थाहा पाएको उनले बताए।
मुख्य रूपमा कोरोना, आफ्नो रेस्टुरेन्ट र सित्तैमा खाना बाँडेकै कारण बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा आफू परेको उनलाई लागेको छ।
'कोभिडले मेरो जिन्दगी मोडिदियो। रेस्टुरेन्ट बन्द गर्छु भनेको थिएँ, खाना लिन आउनेको भीडले दिएन,' उनले भने, 'रेस्टुरेन्टको अन्तिम दिन ठानेको थिएँ, त्यही दिन टर्निङ प्वाइन्ट बन्यो।'
केही ग्राहकले समेत सुजनलाई रेस्टुरेन्ट बन्द नगर्न सुझाएका थिए।
कोरोना महामारीभरि उनले हरेक दिन अस्पतालहरूमा, विशेषगरी क्वीन एलिजावेथ हस्पिटल र युनिभर्सिटी हस्पिटल लुइसहाममा निःशुल्क खाना खुवाइरहे। रेस्टुरेन्ट पनि चलिरह्यो।
जब उनले एक लाखलाई निःशुल्क खाना खुवाइसके, उनको कामबारे 'बिबिसी वर्ल्ड' मा समाचार प्रसारण भयो।
त्यसले उनलाई थप चर्चा दियो। त्यो समाचारको प्रभावले 'गो-फन्ड' (सार्वजनिक रूपमा आर्थिक सहयोग माग्न प्रयोग गरिने अनलाइन प्लेटफर्म) मार्फत उनको सामाजिक कामका लागि सहयोग रकम जम्मा हुन थाल्यो। त्यसले उनलाई अझै उत्साही बनायो।
कोभिडपछि पनि उनले संकटमा परेकालाई हरेक मंगलबार निःशुल्क खाना खुवाए। यसबारे लिंक्डइनमा पनि राख्न थाले। बिस्तारै उनको कामले थप चर्चा पाउन थाल्यो। उनी अमेरिकाको च्यारिटी संस्था 'गिभिङ ट्युस्डे' को नजरमा परे। सो संस्थाले बोलाएपछि आफू 'टेड टक' मा गएर बोलेको उनले बताए।
'सुरूमा त मलाई झुक्क्याए कि जस्तो लागेको थियो, होइन रहेछ। कार्यक्रम चार महिनापछि प्रसारण भयो,' सुजनले भने, 'हस्पिटलमा मैले निःशुल्क खाना खुवाएकै दिनबाट मेरो जिन्दगीमा ठूलो परिवर्तन आयो भन्दा हुन्छ। सानो परिवारबाट आएको मान्छेले साढे दुई लाख खाना खुवाएको रेकर्डमै छ। त्यो रेकर्ड सहितको चिठी तत्कालीन प्रधानमन्त्री ऋषि सुनकबाट पाएको हुँ। अब मेरो चाहना १० वर्षमा करोड खाना खुवाउने छ।'
सुजन पूर्वबेलायती सैनिकको पक्षमा पनि काम गरिरहेका छन्। उनीहरूकै सहयोगका लागि सुरूमा उनले एक हजार माइल पैदल यात्रा गरे।
त्यो बेला उनलाई 'कम्ब्याट स्ट्रेस' को तर्फबाट बेलायती राजाको नाममा पैदल यात्रा गर्न प्रस्ताव आएको थियो। उनले ६ हजार माइल हिँड्न तयार रहेको बताए।
'मेरो सम्मानमा हाउस अफ लर्डमा डिनर नाइट हुने भयो। त्यो मेरा लागि भाग्यको कुरा थियो,' उनले भने।
सुजनका अनुसार त्यही बेला उनको भेट नेल्सन मन्डेला फाउन्डेसनका सञ्चालकसँग भयो।
'फाउन्डेसनले पनि मसँग काम गर्ने इच्छा देखाएको छ। मैले गरिरहेको काम विश्वव्यापी रूपमा गरौं भनेको छ। त्यही बेला मैले एक करोड खाना खुवाउने घोषणा गरेको हुँ,' सुजनले भने।
नेपालमा अनाथ बालबालिका, रगत बैंक, स्कुल सामग्री बाँड्ने लगायत काममा पनि आफू जोडिएको उनले बताए।
'म संसारको जुन कुनामा भए पनि बाँड्ने काम चलिरहन्छ,' उनले भने, 'मेरो एउटा रेस्टुरेन्ट थियो, अहिले तीन वटा छन्। यो सबैको कारण अरूलाई दिएर नै हो!'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com