ग्लोबल नेपाली
पर्वतका अर्जुन श्रेष्ठ सन् २००४ मा बेल्जियम जानुअघि औषधि व्यवसायमा थिए। व्यवसायका सिलसिलामा उनी देशविदेश गरिरहन्थे। सबै ठिकठाक थियो।
देशमा सशस्त्र माओवादी द्वन्द्व फैलिएपछि व्यवसायमा दिनप्रतिदिन असहज स्थिति उत्पन्न भयो। त्यसपछि उनी बेल्जियम गए।
'मैले नेपालमै सन् १९९७ देखि नै आफ्नै व्यवसाय सुरू गरेको थिएँ। म प्रवासमा जाँदा मेरो नेतृत्वका ६ वटा कम्पनी थिए,' उनले भने।
सन् २००४ मा बेल्जियम गएपछि सन् २००५ को अन्त्यमा उनले एक जना साझेदारसँग मिलेर सुपरमार्केटमा लगानी गरे। सन् २००६ को अन्त्यतिरबाट आफैले जापानी रेस्टुरेन्ट सुरू गरे। त्यो रेस्टुरेस्टलाई अहिलेसम्म निरन्तरता दिएका छन्।
सुपरमार्केट, रेस्टुरेन्ट, ट्राभल एजेन्सी र रेमिटेन्स हुँदै अर्जुनले सन् २०१४ मा होटल व्यवसाय सुरू गरे। बेल्जियममा २८ वटा व्यवसायमा लगानी गरे। हाल अर्जुनसँग बेल्जियममा तीन वटा तारे होटल र चार वटा रेस्टुरेन्ट छन्।
नेपालमै लगानीको सम्भावना खोज्ने क्रममा उनले बेल्जियमको व्यवसाय घटाउँदै लगेका छन्। व्यवसायसँगै सामाजिक काममा पनि उनको सक्रियता छ।
बेल्जियममा उनी नेपाली व्यवसायी संघका अध्यक्ष पनि भएका थिए। उनी सन् २००९ मा पहिलो पटक एनआरएनएका केन्द्रीय सदस्य भएका थिए।
'युरोपमा व्यावसायिक संस्थाको नेतृत्व गरेपछि प्रवासमा रहेका नेपालीको हितमा काम गर्नुपर्छ भन्ने सोच आयो। त्यसपछि एनआरएनएमा सक्रिय भएँ,' उनले भने, 'मेरो पारिवारिक पृष्ठभूमिले मलाई समाजमा घुलमिल गरायो। हजुरबुबा र बुबाबाट समाजसेवा सिकेको हुँ।'
उनका अनुसार क्षेत्रफलका हिसाबले बेल्जियम नेपालको पाँच भागको एक भाग र जनसंख्याका हिसाबले तीन भागको एक भाग मात्र छ। यति सानो मुलुक बेल्जियममा कम्तीमा चार सय नेपालीले रेस्टुरेन्ट चलाएका छन्।
उनी सन् २००९ देखि २०१३ सम्म दुई कार्यकाल एनआरएनएको केन्द्रीय सदस्य रहे। यसैगरी २०१३ देखि २०१५ सम्म एनआरएनएको युरोप संयोजक रहे। सन् २०१५ देखि २०१७ सम्म सचिव र सन् २०१९ देखि २०२१ सम्म उपाध्यक्ष रहे। सन् २००९ देखिको एनआरएन सम्बन्ध कायमै रहेको उनी बताउँछन्।
गैरआवासीय नेपाली (एनआरएन) को सीप र पुँजी ल्याएर नेपालमा लगानी गराउने पनि उनको चाहना छ।
एनआरएनए अभियानमा लागेपछि उनले नेपालसँग जोडिएर व्यवसाय सुरू गरेका हुन्। उनले नेपालमा स्वास्थ्य क्षेत्रमा लगानी गरेको आठ वर्ष भयो।
'२०७३ सालदेखि नेपालमा काम गरिरहेको छु। पहिला औषधि व्यवसायमा लगानी थियो। अहिले औषधि उद्योगमा काम गर्दैछु,' उनले भने, 'हामीले केही हस्पिटलहरूमा काम गरेका छौं। भविष्यमा नेपाल-स्विस क्यान्सर हस्पिटल स्थापना गर्ने लक्ष्यका साथ काम भइरहेको छ।'
बेल्जियममा होटल क्षेत्रमा काम गरेका भए पनि उनी नेपालमा स्वास्थ्य क्षेत्रमै काम गर्न चाहन्छन्। औषधि उद्योग र अस्पतालमा लगानी गर्नुको कारण पनि यही हो।
'प्रत्येक व्यवसाय मानिसको जीवनसँग जोडिन्छ। त्यसमध्ये पनि अत्यावश्यक क्षेत्रमा लगानी गरूँ भन्ने मेरो सोच हो,' उनी भन्छन्, 'यसैकारण मेरो रोजाइमा स्वास्थ्य क्षेत्र परेको हो। औषधि उद्योगलाई जनतासँग जोड्ने गरी काम गर्दैछु।'
अर्जुन हाल 'ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड' का अध्यक्ष छन्। यो उद्योगले हाल ३४ किसिमका औषधि बजारमा पठाइसकेको छ। १७ वटा औषधिको उत्पादन छिट्टै पठाउँदै छ।
कुल १४० प्रकारका औषधि उत्पादन गर्ने योजना रहेको उनले बताए।
'अहिले नेपाली औषधि उद्योगले ४५ प्रतिशत बजार लिएको छ। अझै ५५ प्रतिशत औषधि आयात गर्नुपरेको छ,' अर्जुन भन्छन्, 'हामीले आयात घटाउँदै निर्यात प्रवर्द्धन गर्ने नीति लिएका छौं। एक दिन अवश्य सफल हुनेछौं।'
उचित मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने लक्ष्यका साथ आफू अघि बढेको उनले बताए। कुनै औषधि धेरै सस्तो र कुनै धेरै महँगो हुने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ।
उनका अनुसार नेपालीले खाने औषधिमा नेपालीकै लगानी होओस् भन्ने उद्देश्यले औषधि उद्योगको सेयर जनतालाई दिन आएपिओ जारी गर्ने तयारी छ। चितवनमा रहेको ओम मेगाश्री फर्मास्युटिकल्सले धितोपत्र बोर्डबाट सेयर निष्कासनको अनुमति लिएको छ।
कम्पनीले अंकित मूल्य एक सय रूपैयाँको दरमा १८ लाख कित्ता (१८ करोड रूपैयाँ बराबर) को सेयर जारी गर्ने भएको छ। कम्पनीको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल छ।
एक वर्षअघि उत्पादन सुरू गरेको ओम मेगाश्री फर्मास्युटिकल्स आइपिओ जारी गर्ने पहिलो औषधि उद्योग हुने भएको उनले बताए।
'आइपिओ जारी गर्ने हाम्रो प्रयासले अरूलाई पनि प्रेरित गर्नेछ। कुनै उद्योग लिमिटेड बन्नु भनेको पारदर्शिता, विश्वसनीयता र उत्तरदायित्व बढ्नु हो,' अर्जुनले भने, 'हामीलाई जनताको प्रणालीले नियन्त्रण गरोस्, नयाँ पुस्तामा हस्तान्तरण गर्न सकियोस् भनेर १८ लाख कित्ता सेयर जनतालाई दिने तयारी गरेका हौं।'
नेपालमा व्यावसायिक वातावरण बनाउनुपर्छ र नयाँ पुस्तालाई व्यवसायको बाटो देखाउनुपर्छ भन्ने उनको धारणा छ।
युरोपको विकसित देश बेल्जियममा आफूलाई अब्बल साबित गर्दै अघि बढेका अर्जुनले कसरी बेल्जियममा व्यवसाय घटाउँदै नेपालमा सुरू गरे? व्यवसाय गर्न सुरक्षित ठाउँबाट बढी जोखिम उठाउनुपर्ने ठाउँमा किन आए?
जबाफमा उनी भन्छन्, 'जसलाई जेले छोयो, त्यही महत्त्वपूर्ण हुने रहेछ। प्रवासमा बस्नेलाई राष्ट्रियताले धेरै छुन्छ। मलाई पनि त्यही भएको हो। मैले नेपालमा लगानी गरेको पैसाले बेल्जियममा पाँच-सात वटा होटल थप्न सक्थेँ। तर यहाँजस्तो सन्तुष्टि मलाई त्यहाँ हुने थिएन।'
नेपालमै व्यवसाय गर्ने उद्देश्यका साथ अर्जुनले बेल्जियमको पासपोर्ट त्यागेर नेपाली पासपोर्ट लिएका छन्।
उनका अनुसार नेपालको पासपोर्ट बोकेर पनि बेल्जियममा व्यवसाय गर्न कुनै समस्या छैन। खासमा उनी बेल्जियमको पासपोर्ट लिन इच्छुक थिएनन्। एनआरएनए दर्ता गर्ने प्रक्रियामा एनआरएन परिचय पत्र चाहिने भयो। त्यस्तो परिचयपत्र लिन विदेशी पासपोर्ट चाहिन्थ्यो। त्यही सन्दर्भमा बेल्जियमको पासपोर्ट लिएको उनले बताए।
'एनआरएनए दर्ता गर्न २५ देशबाट दुई-दुई जनाले परिचयपत्र लिएको हुनपर्ने भएकाले मैले बेल्जियमको पासपोर्ट लिएँ,' उनले भने, 'अहिले राष्ट्र निर्माणमा एउटा भए पनि इँटा थप्छु भनेर बेल्जियमको पासपोर्ट त्यागेको हुँ। मेरा लागि दुवै क्षण सुखद रहे।'
नेपाल र बेल्जियम दुवै देशमा व्यवसाय गरेका अर्जुनसँग दुवै देशको राम्रो अनुभव छ। उनका अनुसार व्यावसायिक वातावरण बेल्जियममा धेरै राम्रो छ। त्यहाँ कम्पनी खोल्न र बन्द गर्न सजिलो छ, नेपालमा भने धेरै झन्झटिलो छ।
'मैले २०८१ मा औषधि ऐन, २०३५ अनुसार काम गर्नु परेको छ। नेपालमा समयअनुसार नयाँ ढंगले काम गर्न पाइँदैन। आज एउटा नीति हुन्छ, भोलि अर्को भइदिन्छ। राज्यको नीति स्पष्ट हुँदैन,' उनले भने।
अनेक कठिनाइका बीच पनि अर्जुनले आफ्नो मातृभूमिमा लगानी गरेर सन्तुष्टि अनुभव गरेका छन्।
'जन्मभूमिमा गर्ने कर्म र कर्मभूमिमा गर्ने कर्ममा ठूलो फरक छ। म अरू साथीहरूलाई पनि नेपालमा सक्दो योगदान गर्न आग्रह गर्छु,' उनी भन्छन्, 'जन्मभूमिमा गरेको कर्मले जति सन्तुष्टि अन्तकोले दिँदैन। अहिले नगरे कहिले गर्ने! हामीले नगरे कसले गर्ने!'
भिडिओः
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com