ग्लोबल नेपाली
झन्डै ३५ वर्षअघि विद्यार्थी भएर जाँदा रसिया पुग्दा बद्री केसीले बायो-टेक्नोलोजीकै क्षेत्रमा काम गर्ने लक्ष्य लिएका थिए।
उनी तत्कालीन सोभियत संघ सरकारले नेपाली विद्यार्थीलाई दिने छात्रवृत्तिमा छनौट भएर गएका थिए। सन् १९९६ मा उनले बायो-टेक्नोलोजीमा स्नातकोत्तर र सन् २००१ मा पिएचडी (विद्यावारिधि) तह पूरा गरे।
बद्रीले पछि रसियामै व्यवसायमा लाग्ने निश्चित गरे। त्यसको कारण थियो 'सोभियत संघ' विघटन। उनका अनुसार कम्युनिस्ट राष्ट्र सोभियत संघ विघटन भएर रसियन फेडरेसन बनेपछि सानो पुँजीले पनि व्यवसाय गर्न सकिने भयो।
'त्यहाँ हाम्रा केही अग्रजहरूले सानोतिनो व्यवसाय सुरू गरेर ठूलो सफलता कमाएका थिए। म पनि पढाइ सकिनासाथ सानो व्यवसायमा लागेँ,' उनले भने, 'मैले पिएचडी गरून्जेल आफ्नो विषयमा ध्यान दिएको हो। त्यसपछि विचार अन्तै मोडियो।'
सुरूमा बद्रीले इलेक्ट्रोनिक्स सामानको व्यापार गरे। त्यसबाट केही कमाइ भएपछि मेडिकल सामग्री खरिदबिक्रीको काम गरे। हाल उनले रसियामा चिया र कफीको आफ्नै ब्रान्ड स्थापना गरेका छन्।
चिसो धेरै हुने रसियामा चियाको माग अत्यधिक हुन्छ। धेरै चिया खपत हुने विश्वका देशहरूमध्ये रसिया पनि एक हो तर त्यहाँ चिया उत्पादन हुँदैन। रसियामै पनि उनले चियाको कारखाना खोलेका छन्। कफी नेपाल, भारत र श्रीलंकाबाट लैजान्छन्। भियतनाम, केन्या, चीन र इन्डोनेसिया लगायतका देशबाट पनि कच्चा चिया लैजान्छन्।
'नेपालमा उत्पादित चियाको प्राइड अफ कुमारी ब्रान्ड नाम छ,' उनी भन्छन्, 'भाइसन ब्रान्ड श्रीलंकामा उत्पादन हुन्छ। विक्रम ब्रान्ड भारतमा उत्पादन हुन्छ। यस्तै तीन-चार वटा ब्रान्ड छन्।'
बद्री नेपालमा चिया मात्रै उत्पादन गर्छन्। उनको मुख्य व्यवसाय पनि चिया नै हो, कफी सहायक हो।
उनको व्यवसाय युक्रेनमा पनि थियो तर रसिया-युक्रेन युद्धको असरले बन्द भएको छ। रसियाको राजनीतिक परिस्थितिले उनलाई केही असहज भएको छ। तर चिया र कफी 'फाइनान्सियल स्याङ्सन' मा नपर्ने भएकाले जटिलतका बीच पनि उनको व्यवसाय राम्रो चलेको छ।
उनका अनुसार रसियाबाट अरू देशमा पैसा लैजान लगभग असम्भव हुन्छ। आफ्नो व्यवसायको प्रकृतिका कारण त्यस किसिमको अप्ठ्यारो आफूलाई रहेको उनले बताए।
व्यवसायका साथ बद्री गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि सक्रिय छन्। हाल उनी संघका अध्यक्ष छन्।
बायो-टेक्नोलोजी विषय पढ्न करिब ३५ वर्षअघि रसिया पुगेका युवा बद्री विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संगठन एनआरएनएको नेतृत्वमा कसरी पुगे?
सन् १९९० मा रसिया जाँदा उनले के सोचेका थिए?
'मैले त एकेडेमिक (प्राज्ञिक) क्षेत्रमै काम गर्ने सोचेको थिएँ। बायो टेक्नोलोजीकै क्षेत्रमा अध्ययन-अनुसन्धान गर्छु भन्ने थियो,' उनले भने, 'व्यक्तिको भविष्य उसले कल्पना गरेको जसरी मात्र नहुने रहेछ। मेरो हकमा पनि कल्पना गरेको भन्दा फरक भयो। एनआरएनएको सुरूआत नै रसियाबाट भएकाले आफूलाई यसमा जोडिन सजिलो भयो।'
सुरूमा 'नेपाल-रसिया बिजनेस एसोसिएसन' नामको संस्था थियो। बद्री त्यही संस्थामा आबद्ध थिए। उनी त्यही संस्थाको 'राष्ट्रिय समन्वय समिति, रसिया' को साधारण सदस्यबाट महासचिव पदमा पुगे।
उनका अनुसार एनआरएनए स्थापनाको आधारशिला नै 'नेपाल-रसिया बिजनेस एसोसिएसन' हो।
विश्वभरि छरिएर रहेका नेपालीहरूलाई एउटै छातामा समेट्ने गरी सन् २००३ मा एनआरएनए स्थापना भयो। स्थापनाकालमा उनी साधारण सदस्य थिए।
'विदेशमा हासिल गरेको ज्ञान र सीपबाट स्वदेशमा कुनै योगदान गर्न सकियो र विदेशमा रहेका नेपालीहरूबीच भाइचारा बढाउन सकियो भने त्यसले नेपाल र नेपालीलाई बलियो बनाउँछ,' उनले भने, 'यही कुरा ध्यानमा राखेर एनआरएनए गठन भएको हो। यसबाट विदेशमा नेपाली भाषा र संस्कृति प्रवर्द्धन गर्न पनि सकिन्छ भन्ने विश्वास छ।'
विदेशमा बस्दा पहिचानको समस्या हुन्छ। व्यक्तिका लागि यो निकै ठूलो समस्या हो। आफू बसेको ठाउँमा घुलमिल हुन र पहिचान बनाउन आफ्नो समुदायको संगठन आवश्यक पर्ने उनको भनाइ छ।
उनले भने, 'नेपालको भाषा, संस्कृति, साहित्य र कला विदेशमा रहेका नेपालीमाझ मात्र नभई विदेशीहरूमा समेत पुर्याउन सकिने निष्कर्षका साथ रसियाबाटै एनआरएनएको यात्रा सुरू भएको थियो।'
साधारण सदस्य बनेर एनआरएनएमा प्रवेश गरेका बद्री सन् २००९ र २०११ केन्द्रीय सदस्य बने। त्यसपछि उनी कोषाध्यक्ष भए। त्यसपछिको दुई कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भए। उनी २०८० कात्तिकमा अध्यक्ष निर्वाचित भएका हुन्।
स्थापनाकालमै एनआरएनएमा आबद्ध भएका बद्रीले विश्वका धेरै देशका नेपालीहरूसँग अन्तर्क्रिया र छलफल गरेका छन्। उनीहरूका सफलताका र दुःखका कथा देखेका छन्।
'म केन्द्रीय सदस्य हुँदादेखि नै संसारका धेरै देशमा हुने कार्यक्रममा गएँ। अधिकांश साथीहरू विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न चाहनुहुन्छ,' उनी भन्छन्, 'नेपालीहरू आर्थिक प्रगतिका लागि मात्र विदेश गएका होइनन्। धेरैजसो त रहरले भन्दा पनि बाध्यताले विदेशमा बसेका छन्।'
संसारको जुनसुकै देशमा बसेर पनि नेपालका लागि योगदान गर्न सकिन्छ भन्ने बद्रीको विश्वास छ। उनी यही विश्वास अनुसार अघि बढेका छन्।
विदेशमा रहेका धेरै नेपालीमा आफ्ना लागि परिवार, समाज र देशले गरेको लगानीको प्रतिफल कुनै न कुनै रूपमा आफ्नो देशलाई दिनुपर्छ भन्ने चाहना रहेको बद्रीलाई जानकारी छ। एनआरएनएले यही चाहना अनुसार काम गरेको उनको भनाइ छ।
'विगतमा विदेशमा कमाएको पुँजी नेपाल ल्याउन समस्या थियो। विदेशमै पनि लगानी गर्न कठिन थियो। बिस्तारै यो समस्या समाधान हुँदै गएको छ। यसमा एनआरएनएको योगदान छ,' उनी भन्छन्, 'विदेशमा कमाएको पैसा लगानी गर्न सकिने, नेपाल ल्याउन सकिने र फिर्ता लैजान पनि सकिने प्रावधान एनआरएनएकै पहलमा बनेको छ।'
एनआरएनएकै पहलमा वैदेशिक रोजगारीका समस्या समाधान हुँदै गएको उनले बताए। विदेशमा काम गर्दा मृत्यु भएका नेपालीको शव ल्याउन र सामाजिक सुरक्षा लगायतमा सहज भएको छ।
उनका अनुसार नेपालको संविधानमा 'गैरआवासीय नेपाली नागरिकता' को प्रावधान रहनु सबैभन्दा ठूलो उपलब्धि हो।
'एनआरएनए नभएको भए यस्तो नागरिकताका लागि आवाज समेत उठ्ने थिएन। आवाज उठे पनि संविधानमा लेखिने थिएन,' उनले भने, 'अहिले नेपाली नागरिकसरह लगानी गर्न पाउने प्रावधान छ। आफूले कमाएको सम्पत्ति छोराछोरीलाई हस्तान्तरण गर्न सकिन्छ। यो प्रावधान पूर्ण रूपमा कार्यान्वयन गर्न अझै केही समय लाग्ला तर विदेशी नागरिकता लिएका नेपाली आत्तिनु पर्दैन।'
विदेशी नागरिकता लिएपछि नेपालमा रहेको आफ्नो सम्पत्ति सरकारले या कोही आफन्तले लिइदिने हो कि चिन्ता गर्नु नपर्ने उनले बताए।
उनका अनुसार लगानीका सन्दर्भमा अझै पनि केही समस्या छन्। गैरआवासीय नेपाली भएर नेपालको सेकेन्डरी मार्केटमा लगानी गर्न सक्ने स्थिति अझै छैन। एकैपटक दुई करोड रूपैयाँभन्दा बढी लगानी गर्नपर्नु बाध्यात्मक अवस्था छ।
उनी भन्छन्, 'लगानीका लागि सबै क्षेत्र खुला छैन। गैरआवासीय नेपालीको लगानी अहिले पनि विदेशी लगानी सरह नै हेरिन्छ। कानुनमा यदि र तर जस्ता अल्झन नराखी लगानी गर्न दिनुपर्छ भन्ने हाम्रो माग छ।'
एनआरएनए अध्यक्षका रूपमा बद्री नेपालमा लगानी सहज बनाउन र संसारभरका गैरआवासीय नेपालीलाई संगठित गर्न प्रतिबद्ध देखिन्छन्।