ग्लोबल नेपाली
रोजिना प्रधान राईका श्रीमान हिराधन राई स्थापनाकालदेखि नै गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सक्रिय थिए। हिराधन एनआरएनए, युके (बेलायत) को उपाध्यक्ष भए।
रोजिनाले पनि श्रीमानकै बाटो पहिल्याउँदै सन् २००७ मा एनआरएनएको सदस्यता लिइन्। उनी पनि एनआरएनए, युकेको उपाध्यक्ष भइन्। बेलायतमा हस्पिटालिटी व्यवसायमा आबद्ध रोजिना हाल एनआरएनएको केन्द्रीय उपाध्यक्ष छिन्।
'विदेशमा बसेका हामी गैरआवासीय नेपालीहरू विदेशमा रहँदा र नेपाल आउँदा अनेक चुनौती आउँछन्। ती चुनौती सामना गर्न सामूहिक प्रयास जरूरी छ,' उनले भनिन्, 'एनआरएनए देशबाहिर रहेका ८० लाख नेपालीहरूको हकहितका लागि काम गर्ने संस्था भएकाले म यसमा लागेकी हुँ।'
विदेशमा बस्ने नेपालीहरूको हकका निम्ति काम गर्ने अभियानीका हैसियतले पनि आफू एनआरएनएमा आकर्षित भएको उनको भनाइ छ।
महिलाका लागि आरक्षित स्थानमा एनआरएनएको उपाध्यक्ष भएकाले महिला आवाजको प्रतिनिधित्व उनको प्राथमिकतामा छ।
'महिला उपाध्यक्ष' भन्ने गरेको चाहिँ उनलाई उचित लागेको छैन।
भन्छिन्, 'महिलाको कोटा (आरक्षण) बाट उपाध्यक्ष भए पनि सिंगो गैरआवासीय नेपालीको उपाध्यक्ष हो। महिला उपाध्यक्ष भन्दा नमज्जा लाग्छ।'
नेपाली महिलाका लागि विदेशमा उपलब्ध अवसर र सामना गर्नुपर्ने चुनौतीहरू पहिल्याउनु र समाधान खोज्नु उनको अर्को प्राथमिकताको काम हो।
'देशअनुसार महिलाका समस्या फरक छन्। अमेरिका, क्यानडा, युके, अस्ट्रेलिया लगायतका देशमा एकै खालका चुनौती छन्,' रोजिनाले भनिन्, 'यी देशमा रहेका नेपाली महिलामा मानसिक खालको समस्या धेरै छ।'
रोजिनाले महिलाहरू उपल्लो तहमा पुगेपछि घरको काम, बाहिरको काम र सामाजिक दायित्व लगायतले गर्दा मानसिक समस्या सम्बन्धी घटना धेरै हुने गरेको देखेकी छन्।
खाडी मुलुकमा काम गर्न जाने महिलाले केही फरक चुनौती सामना गर्नुपरेको छ। महिलाका लागि अनुमति नभएका खाडी मुलुक जान 'चोरबाटो' प्रयोग गर्ने महिलाहरू असुरक्षित छन्।
'ढोकाबाट (वैध तरिकाले) जान नपाएपछि झ्यालबाट (अवैध तरिकाले) जानुपर्यो। झ्यालबाट जाँदाका दुःख धेरै छन्। यसतर्फ सरकारले ध्यान पुर्याउन जरूरी छ,' उनले भनिन्।
केही महिनाअघि एक महिलाको शव एनआरएनए, दुबईको सहयोगमा नेपाल ल्याएको र परिवारजनलाई एनआरएनएको महिला विभागले आर्थिक सहयोग गरेको उनले बताइन्।
अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशमा त्यहाँको भाषा नजान्दा र कानुनी प्रक्रिया थाहा नहुँदा समस्या पर्ने गरेको रोजिनाको बुझाइ छ। घरेलु हिंसामा परेका कतिपय महिलाहरू आफ्ना पीडा लुकाउन बाध्य छन्।
उनका अनुसार धेरैलाई घरेलु हिंसा भनेको के हो भन्ने पनि थाहा छैन। कतिपय हिंसा सामान्य झैं ठानिन्छन्। विदेशमा रहेका धेरै नेपाली महिलाको सोचाइ पनि घरेलु हिंसालाई सामान्य ठान्ने खालको छ।
कतिपय महिलामा मानसिक समस्या जटिल हुँदा जाँदा नकारात्मक र आफैलाई हानि गर्ने सोच आउने गरेको उनले थाहा पाएकी छन्। त्यस्ता घटना हुन नदिन र जनचेतना फैलाउन एनआरएनए अन्तर्गतको स्वास्थ्य विभागसँग मिलेर काम गरिरहेको उनले बताइन्।
नेपालमा पनि विभिन्न समस्यामा परेका महिलालाई एनआरएनएका तर्फबाट आफूहरूले सहयोग गर्ने गरेको उनको भनाइ छ।
जाजरकोटमा भूकम्पपीडित महिला तथा जलवायु परिवर्तनले महिला र बालबालिकामा परेको असर न्यूनीकरणका लागि एनआरएनए, महिला विभागले काम गर्दै छ।
'जाजरकोटमा भूकम्प आएपछि त्यहाँका महिलाहरू त्रिपालमा बस्न बाध्य थिए। महिनावारी भएका, गर्भवती र सुत्केरीका समस्या महिलाले मात्र राम्ररी बुझन् सक्छन्,' रोजिनाले भनिन्, 'भूकम्पले गर्दा एकातिर बस्ने खाने टुंगो थिएन, अर्कोतिर शारीरिक र मानसिक कारणले महिलाहरूले असुरक्षाको अनुभव गरेका थिए। महिलाले पनि गर्न सक्छन् भन्ने विश्वास दिलाउन पनि हामीले खटेर काम गर्यौं।'
जलवायु परिवर्तनको असर सबैतिर परेको भए पनि महिलाले बढी भोग्नुपरेको उनको ठहर छ।
'वनजंगल र हिमाल भएको देश नेपाललाई जलवायु परिवर्तनले असर पारिरहेको छ। पानी पर्ने समयमा पर्दैन, पानी नपर्ने समयमा पर्छ। यसले महिला र बालबालिकालाई बढी समस्यामा पारेको छ,' उनले भनिन्।
डायस्पोराका (विदेशमा छरिएका) महिलाले नेपालको विकासमा के गर्न सक्छन् र ती महिलाका पक्षमा नेपाल सरकारले के गर्न सक्छ भनेर विभिन्न तरिकाले छलफल चलाइरहेको पनि उनले बताइन्।
रोजिना एनआरएनएमार्फत सामाजिक काममा त सक्रिय छिन् नै, बेलायतमा व्यवसाय पनि गर्छिन्। उनले व्यवसाय गरेको १५ वर्षभन्दा बढी भयो। उनी त्यो व्यावसायिक अनुभव नेपालमा पनि प्रयोग गर्ने प्रयासमा लागेकी छन्।
उनले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गरेकी छन्। संखुवासभाको 'ठूलो खोला हाइड्रो' मा उनीसहित अन्य गैरआवासीय नेपालीको लगानी छ। गुल्मीको आँपचौरमा कफी खेती गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
उनले सुनसरीको बुर्जुताल क्षेत्रमा निकै महत्त्वाकांक्षी योजना अघि सारेकी छन्।
रोजिनाले आफ्नो योजना सुनाइन्, 'होटल, डिपार्टमेन्टल स्टोर, होम स्टे, थारू भिलेज बनाउछौं। हनिमुन प्याकेजसहितको म्यारिज डेस्टिनेसन बनाउने तयारी छ। त्यहाँको सुन्दरता नबिगार्ने गरी पर्यटकीय क्षेत्र बनाउँदैछौं। यसमा भारतीय पर्यटकलाई लक्षित गरेका छौं।'
उनका अनुसार 'कन्जरभेसन एन्ड डेभलपमेन्ट' कार्यक्रम अन्तर्गत 'पब्लिक प्राइभेट पार्टनरसिप' मा योजना अघि बढ्नेछ। बुर्जुतालमा साइबेरियाबाट चरा आउने भएकाले 'बर्ड वाच' को केन्द्र बनाउने तयारी छ।
(सेतोपाटी ग्लोबलका थप सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।)