ग्लोबल नेपाली
बुटवलमा जन्मे-हुर्केका सुनिल अर्याल डाक्टर बन्ने सपना बोकेर सन् २००६ मा जर्मनी गएका थिए। त्यो बेला उनको उमेर जम्मा १८ वर्ष थियो।
उनले साढे ६ वर्षको मेडिकल कोर्स पूरा गरे। त्यसअघि एक वर्ष जर्मन भाषा पढ्नुपर्यो। उतैको पढाइको समकक्षताका लागि अर्को एक वर्ष पढ्नुपर्यो। नेपालमा १२ कक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षामा भर्ना पाइन्छ, जर्मनीमा १३ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ।
सुनिललाई ६ वर्षको पढाइ पूरा गर्न ८ वर्ष लाग्यो। सन् २०१४ देखि उनी सर्जरी (शल्यक्रिया) मै आफ्नो करिअर अघि बढाइरहेका छन्।
उनलाई सुरूका दिनमा जर्मनीमा सबै नयाँ लाग्यो। जर्मनीमा पढेर दक्ष डाक्टर बन्नुबाहेक अर्को कुनै लक्ष्य र सपना थिएन।
'मेडिकल पढेर डाक्टर बन्ने लक्ष्य पूरा गर्न सबै किसिमका बाधा पन्छाउँदै पढाइ पूरा गरेँ। पढाइ सकिएपछि पो थकान महसुस भयो,' उनले भने।
सुनिलले विज्ञतामा सर्जरी रोज्नुको पनि खास कारण छ।
'डाक्टर भएपछि भएपछि हातमा अलिकति रगत लाग्नैपर्छ भन्ने परम्परागत सोचाइका कारणले सर्जरी रोजेँ,' उनले भने, 'सरल तरिकाले भन्दा खाना खाएदेखि पाचन प्रक्रिया पूरा भएर बाहिर निस्किँदासम्म जुन जुन अंगले पचाउने काममा सहयोग गर्छन्, ती सबैको उपचार गर्छु। मुखबाहेक खानानलीदेखि मलद्वारसम्मको समस्या हेर्छु।'
हाल उनी जर्मनीको ब्ल्याक फरेस्टस्थित 'क्लिनिकुम फोय्रोडेनस्टाट' मा 'ग्यास्ट्रो इन्टेस्टाइनल सर्जन' का रूपमा कार्यरत छन्।
उनका अनुसार नेपालमा जस्तै जर्मनीमा पनि दुई किसिमका बिरामी अस्पताल पुग्छन् – एउटा इमर्जेन्सी हुन्छ, अर्को इलेक्टिभ। अर्को अस्पतालबाट रिफर भएर आएका बिरामी इलेक्टिभ हुन्।
बिरामीको उपचार गर्ने क्रममा केही महिनाअघि सुनिलले नेपालमा अनौठो लाग्ने खालको सर्जरी गरे। बिरामी थिए एक पुरूष जसको तौल २६२ किलोग्राम थियो।
उनले ती बिरामीको उपचारबारे लामै व्याख्या गरे।
ती बिरामीलाई ओछ्यानबाट उठ्न मात्रै कम्तीमा तीन मिनेट लाग्थ्यो। उठेर कपडा लगाउन अझ धेरै समय खर्च हुन्थ्यो। अनुहारमा हात पुर्याउन पनि बडो मुस्किल थियो। ती बिरामीको सर्जरी गर्न छुट्टै बेड र टेबल बनाउनुपरेको थियो।
सुनिलले भने, 'ती बिरामी राख्ने कोठा पनि अर्कै बनाएका थियौं। सामान्यतया मान्छेको छालाबाट पेटभित्र पुग्ने लम्बाइ तीनदेखि पाँच सेन्टिमिटर हुन्छ। उनको २० सेन्टिमिटरसम्म थियो।'
ती बिरामीमा मधुमेह, कार्डियो भास्कुलर (मुटु र रक्तनलीसम्बन्धी) लगायत अनेक समस्या थिए। उनको तौल घटाउन शल्यक्रिया गरिएको थियो।
'मान्छेको पेट थैलीजस्तो हुन्छ। ती मोटा बिरामीको पेट काटेर पाइपजस्तो बनाएका थियौं। पेट त्यस्तो भएपछि धेरै खाना खान सकिँदैन,' उनले भने, 'उनको पेटमा तीन लिटर जति तरल अट्थ्यो। सर्जरीपछि आधा लिटरभन्दा बढी नअट्ने भएको छ। धेरै बिरामीले धेरै खान नसक्ने भएपछि तौल घट्छ।'
सुनिलका अनुसार पेटको भित्री भागमा भोक लगाउने हर्मोन उत्पादक कोषहरू हुन्छन्। पेटको धेरै भाग काटेर फालेपछि हर्मोन उत्पादन घट्छ र भोक पनि कम हुन्छ। सर्जरीपछि ती बिरामीको तौल ६० प्रतिशतसम्म घट्न सक्ने उनको अनुमान छ।
'सर्जरी गरेको तीन महिना भयो। बिरामी फलोअपमा आएपछि कति तौल घट्यो भन्ने थाहा हुन्छ। पहिलो फलोअपमा आउँदा कम्तीमा २० किलो तौल घटेको हुनुपर्छ,' उनले भने।
सुनिलले सर्जरी गर्नेमा धेरै बिरामी हर्नियाका हुन्छन्। त्यसपछि एपेन्डिसाइटिस र कोलेसिसेक्टोमी (पित्तथैली निकाल्ने) का हुन्छन्। सामान्यतया उनले एक दिनमा चारवटा सर्जरी गर्छन्। तीमध्ये हप्तामा तीन जनासम्म बिरामी क्यान्सरका हुन्छन्।
अमिलचुकी आउने समस्या भएका बिरामीको सर्जरी गर्दाको अनुभव पनि उनले सुनाए। पेटमा उत्पादन हुने एसिड (अम्ल) माथितिर आउने समस्या अमिलचुकी हो। यो समस्यामा कतिपय बिरामीको दाँत पनि बिग्रिन्छ।
उनले अमिलचुकी हुने कारण बताए – खाना पेटमा जाने पाइपको बीचमा एउटा ढोकाजस्तो बनावट हुन्छ जसलाई मांसपेशीले बाँधेर राखेको हुन्छ, त्यहाँको मांसपेशी खुकुलो भयो भने पेटको एसिड माथितिर आउँछ।
खुकुलो भएको मांसपेशी सर्जरी गरेर चुम्बकले कसिन्छ। यसो गरेपछि पेटभित्रको एसिड माथितिर आउन पाउँदैन। यस्तो सर्जरी सामान्यतया एक घण्टामा सकिन्छ।
'सर्जरी गरेको १० दिनमै बिरामीले फरक अनुभव गर्छ। अमिलचुकी आएर छाती पोल्ने र गाह्रो हुने समस्या समाधान भएपछि बिरामी आएर धन्यवाद दिन्छ,' सुनिल भन्छन्, 'एउटा डाक्टरका लागि यो निकै खुसीको क्षण हुन्छ।'
उनका अनुसार विकसित मुलुक जर्मनीमा स्वास्थ्य बीमा नगरेको मान्छे हुँदैन। कानुनी रूपले जर्मनीमा बसेको प्रत्येक व्यक्तिले स्वास्थ्य बीमा गर्नु अनिवार्य हुन्छ। बीमा गरेको व्यक्तिको उपचारमा केही सीमित औषधिमा बाहेक अन्य खर्च हुँदैन। व्यक्तिको आम्दानीको आधारमा सरकारी संस्थामा वा निजी कम्पनीमा बीमा गरेको हुन्छ।
नेपालमा एमबिबिएस (चिकित्सा शिक्षामा स्नातक) पूरा गरेपछि नाममा डाक्टर (डा.) लेख्न पाइन्छ। सुनिलका अनुसार जर्मनीमा यस्तो सुविधा छैन। डाक्टर लेख्न पिएचडी (अनुसन्धान तह) पूरा गरेको हुनुपर्छ। एमबिबिएसपछि कुनै एक क्षेत्रमा अनुसन्धान गरेर लेख प्रकाशन गर्नुपर्छ। त्यसपछि मात्र 'डाक्टर मेड' लेख्न पाइन्छ। 'डाक्टर मेड' को अर्थ बिरामीको उपचार गर्ने डाक्टर हो।
'नेपालमा एमबिबिएस डाक्टर हो कि पिएचडी डक्टर हो भन्ने छुट्याउन गाह्रो हुन्छ। जर्मनीको हकमा यस्तो हुँदैन,' उनी भन्छन्, 'मैले पिएचडी पनि गरेको छैन र कुनै अनुसन्धान पनि गरेको छैन भने डाक्टर लेख्न पाउँदिनँ। जर्मनीमा म एमबिबिएस डाक्टर जस्तै हो।'
सुनिल जर्मनीको सुविधा सम्पन्न अस्पतालमा काम गर्छन्। उनको जीवनस्तर औसतभन्दा माथिको छ। जर्मनीमा चिकित्सा पेसा र उच्चस्तरीय जीवन उनको ठूलो उपलब्धि हो तर अचानक प्राप्त भएको होइन। उनले कठोर महेनत गरेका छन्।
'जर्मनीमा हालसम्म बितेको १९ वर्षमा लामो समय संघर्षपूर्ण रह्यो। कहिलेकाहीँ त जीवन निकै कठिन पनि भयो,' उनले भने, 'डाक्टर बन्ने लक्ष्य लिएर आएको थिएँ। पढाइ पूरा गरेर काम थालेपछि जीवन सहज भयो। विकसित देशको जीवनस्तर छ।'
जर्मनीमा डाक्टर बनेर एउटा खास सीप हासिल गर्ने र स्वदेश फर्किने उनको सोच थियो। जर्मनीमा काम थाल्दा पनि चाँडै नेपाल फर्किन्छु भन्नेमै थिए।
अहिले उनको सोच बदलिएको छ। नेपाल छाडेको करिब दुई दशकमा उनलाई निकै ठूलो रिक्तता अनुभव भएको छ।
'लामो समय देश छाडेपछि साथीभाइ पनि नहुने रहेछन्। पहिलेका साथीहरू कहाँकहाँ आआफ्ना काममा व्यस्त छन्। परिवारका सदस्य र आफन्तहरूको आआफ्नै व्यस्तता छ,' उनले भने, 'काम गरेको ठाउँ छाड्दा आफ्नो करिअर पनि विचार गर्नैपर्छ। नयाँ तरिकाले काम गर्न गाह्रो हुन्छ जस्तो लाग्छ।'
उनले थपे, 'एकबारको जुनी हो, १९ वर्षमा करिब १५ वर्ष त संघर्षमै बित्यो। जीवन भर्खरै सहज हुन थालेको छ। अहिले नेपाल फर्किंदा यहाँ पनि अर्को अर्को १५ वर्ष संघर्ष गर्नुपर्छ। अब त्यसो गर्ने हौसला बाँकी छैन जस्तो लाग्छ।'
सुनिल जर्मनीमा रहेका नेपालीको अवस्थाबारे पनि जानकार छन्। जर्मन नागरिकहरूले नेपालीलाई निकै राम्रो मान्ने गरेको उनको अनुभव छ।
'जर्मनीमा नेपालीको छवि राम्रो छ। नेपालीलाई काम पाउन पनि कठिन छैन, राम्रो अवसर छ,' उनले् भने, 'यो संसार हाम्रै हो। हामी नेपालमा वा संसारको जुनसुकै मुलुकमा बसे पनि विश्व एउटै हो। सिमाना त मान्छे नै बनाएको हो। आफूलाई सहज हुने ठाउँमा बस्नु सामान्य कुरा हो।'
उनका अनुसार जर्मनीमा पढ्न जान सहज छ। विश्वका उत्कृष्ट विश्वविद्यालयहरू छन्।
'नेपालीका लागि जर्मनी शिक्षाको राम्रो गन्तव्य हुन सक्छ। करिब एक वर्ष जर्मन भाषा पढ्नुपर्छ,' उनले भने, 'म पढेको म्युनिख युनिभर्सिटी विश्वका उत्कृष्ट युनिभर्सिटीमध्ये पर्छ। यसमा अवसर पाउन निकै गाह्रो छ तर पनि जर्मनीमा विश्वका उत्कृष्ट युनिभर्सिटीमा अवसर पाउन अन्य देशको तुलनामा सजिलो छ।'
जर्मनीमा पनि विदेशी विद्यार्थीको प्रतिस्पर्धा बढेको उनले देखेका छन्। यससँगै अवसर पनि बढेको छ। उत्कृष्ट विद्यार्थीले छात्रवृत्ति पनि पाउँछन्। चिकित्सा शिक्षामा एमबिबिएस पूरा गरेपछि विशेषज्ञ बन्न खर्च लाग्दैन, बरू कमाइ हुन्छ।
जर्मनी जान चाहने विदेशी विद्यार्थीलाई उनको सुझाब छ, 'जर्मनीमा कुन विषय पढ्दा कमाइ राम्रो हुन्छ भन्ने होइन, कुन विषयमा म राम्रो गर्न सक्छु भन्ने विचार गर्नुपर्छ।'
काम गर्न र गौरवका साथ बाँच्न आफ्नै देशमा सजिलो हुन्छ भन्नेमा सुनिलको फरक मत छैन। देश छोड्ने निर्णय गर्नुअघि एकपटक निकै राम्रोसँग सोच्नुपर्छ भन्ने उनलाई लाग्छ।
(सेतोपाटी ग्लोबलका थप सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।)