डेनमार्कमा ‘अर्गानिक तीज साँझ’ आयोजना हुने


डेनमार्कमा नेपाली महिलाहरूको एउटा निकै सक्रिय समूह छ- क्रिएटिभ नेपालिज विमेन इन डेनमार्क। लगनशील, जुझारू, सक्रिय महिलाहरूको आबद्धता रहेको यस समूहले डेनमार्कमा बसोबास गर्ने महिलाहरूलाई एकोहोरो दैनिकीबाट बाहिर निकाल्न, उनीहरूमा लुकेका प्रतिभा उजागर गर्न, सचेतना जगाउन र मेलमिलाप, समन्वय कायम गर्न विविध गतिविधि सञ्चालन गर्ने गर्दछ।

नाम जस्तै रचनात्मक कामहरू, महिला जागरण र सशक्तिकरणमा यस समूहले खेलेको भूमिका चर्चायोग्य छन्। सन् २०१२ मा स्थापना भएदेखि नै समूहले डेनमार्कमा नेपाली महिलाहरूलाई सीपमुलक, व्यावसायिक, रचनात्मक, मनोरञ्जनात्मक गतिविधिमा डोहोर्‍याउन लागि परेको छ। यस समूहले समसामयिक परिस्थिति मुताविकका तालिम, अन्तर्क्रिया, सेमिनारलगायत कामहरूमा सक्रियता देखाइहेको छ। संस्थाले नेपालमा समेत समाजसेवाका गतिविधिमा हातेमालो गर्दै आएको छ।

महिलाहरूको सक्रियतामा महिलामात्रले हाँकेको संस्थाले नेपाली महिलाको बिशेष पर्व तीजको रौनक त छोड्ने कुरै भएन! हरेक वर्ष नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको बिशेष र भव्य तामझामका कार्यक्रम यस समूहले गरिरहेको छ।

विगतका दिनहरुमा जस्तै यस वर्ष पनि उक्त समूहले तीज कार्यक्रमको आयोजना गरेको छ।

‘स्वस्थ शरीर सुखी जीवनको एउटा मुख्य आधार हो, त्यसैले स्वस्थ रहौं र सुखी बनौं’ भन्ने मूल सन्देशका साथै नेपाली महिलाहरुको बिशेष रचनात्मक क्रियाकलाप र नेपाली कलासंस्कृति झल्कने प्रस्तुतिहरुका साथ ‘क्रिएटीभ नेपलिज वोमन इन डेनमार्क’ले ‘अर्गानिक तीज साँझ २०१७’ आयोजना गरेको हो।

‘नेपाली महिला दिदीबहिनीहरुले कलात्मक तरिकाले फलफूल, तरकारी, गेडागुडी, फूल, मसला आदिबाट तयार पारेका विभिन्न गरगहना, पहिरन आदि प्रस्तुत गरिने छ’, समूहकी मीना पौडेल घिमिरेले जानकारी दिइन्।

कार्यक्रमबाट संकलन हुने सम्पूर्ण रकम नेपालमा असहाय बृद्धबृद्धाहरूलाई जाने पनि उनले जानकारी गराइन्।

कार्यक्रमको मुख्य आकर्षण रहेको अर्गानिक र्‍याम्पमा डेनमार्कमा रहेका साथै परम्परागत तीज भाका र नृत्यका साथमा मनोरञ्नात्मक प्रस्तुतिहरु रहने बताइएको छ।

कार्यक्रम यही अगस्ट ११ का दिन स्थानीय सांस्कृतिक हल Kulturhuset Indre by, Charlotte Ammundsens Plads 3, 1359 København मा साँझ ४ बजे देखि सुरू हुनेछ।

कार्यक्रममा कोपनहेगन र आसपासका नेपाली महिलाहरूको उपस्थिति रहने आयोजकहरूले अपेच्छा गरेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.