डेन्मार्कमा क्रिएटिभ विमेन्सको ‘अर्गानिक तीज’

डेन्मार्कमा क्रिएटिभ विमेन्सको ‘अर्गानिक तीज’


डेनमार्कमा नेपाली महिलाहरूको एउटा निकै सक्रिय समूह छ- क्रिएटिभ नेपलिज् विमेन इन डेन्मार्क। लगनशिल, जुझारू, सक्रिय महिलाहरूको आवद्धता रहेको यस समूहले डेनमार्कमा बसोबास गर्ने महिलाहरूलाई एकोहोरो दैनिकीबाट बाहिर निकाल्न, उनीहरूमा लुकेका प्रतिभा उजागर गर्न, सचेतना जगाउन र मेलमिलाप, समन्वय कायम गर्न विविध गतिविधि सञ्चालन गर्ने गर्दछ ।

नाम जस्तै श्रृजनशील, रचनात्मक कामहरू, महिला जागरण र सशक्तिकरणमा यस समूहले खेलेको भूमिका चर्चायोग्य छन् । सन् २०१२ मा स्थापना भएदेखि नै डेनमार्कमा नेपाली महिलाहरूलाई शीपमुलाक, व्यावासायीक, रचनात्मक, मनोरञ्जनात्मक गतिविधिमा डोहोर्‍याउन लागि परेको यस समूहका समसामयीक तालिम, अन्तर्क्रिया, सेमिनारलगायत कतिपय कामहरू अन्य सङ्घ-संस्थाका भन्दा विशेष र अनुकरणीय छन् । डेनमार्कमा त आफ्नो छवि कायम गरेको छ छ, नेपालमा समेत समाजसेवाका गतिबिधिमा समयानुकुल हातेमालो गर्दै आएको छ।

महिलाहरूको सक्रियतामा महिलामात्रले हाँकेको संस्थाले नेपाली महिलाको विशेष पर्व तीजको रौनक त छोड्ने कुरै भएन। हरेक वर्ष नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको विशेस र भव्य तामझामको बन्दोबस्त यस समूहले गरेकै हुन्छ।

बिगतका दिनहरुमा जस्तै यस वर्ष पनि उक्त समूहले तीज कार्यक्रमको आयोजना गरेको छ ।

‘स्वस्थ शरीर सुखी जीवनको एउटा मुख्य आधार हो, त्यसैले स्वस्थ रहौं र सुखी बनौं’ भन्ने मूल संदेशका साथै नेपाली महिलाहरुको बिशेस रचनात्मक क्रियाकलाप र नेपाली कलासंस्कृति झल्कने प्रस्तुतिका साथ क्रीएटीभ नेपलिज वोमन इन डेनमार्कले “अर्गानिक तीज साँझ २०१७” आयोजना गरेको हो ।

– अर्गानिक?

– हजुर, अर्गानिक ! नेपाली महिला दिदी-बहिनिहरुले कलात्मक तरिकाले फलफूल, तरकारी, गेडागुडी, फूल, मसला आदिबाट तयार पार्नुभएका विभिन्न गर-गहना, पहिरन आदि प्रस्तुत गरिने छ, समूहकी मीना पौंडेल घिमिरेले जानकारी दिइन्।

कार्यक्रमबाट संकलन हुने सम्पूर्ण रकम नेपालमा असहाय वृद्ध-वृद्धाहरूलाई जाने पनि जानकारी गराइन्।

कार्यक्रम को मुख्य आकर्षण रहेको अर्गानिक र्‍याम्पमा डेनमार्कमा रहेका साथै परम्परागत तीज भाका र नृत्यका साथमा मनोरन्जनात्मक प्रस्तुतिहरू रहने बताइएको छ ।

कार्यक्रम यही अगस्ट ११ तारिखका दिन स्थानीय सांस्कृतिक हल Kulturhuset Indre by, Charlotte Ammundsens Plads 3, 1359 København मा साँझ ४ बजे देखि शुरू हुनेछ।

कार्यक्रममा प्रवेश गर्न ३० क्रोनार शुल्क लाग्नेछ भने रोयल आग्रा प्यालेस नामक स्थानीय नेपाली रेस्टुरेन्टले ७० क्रोनारमा दर खुवाउने छ ।

कार्यक्रममा कोपन्हेगन र आसपासका नेपाली महिलाहरूको उल्लेख्य उपस्थिति रहने आयोजकहरूले अपेच्छा गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.