रमझमको रकम बाढी पीडितलाई

नवाजको स्वागतयोग्य कदम


 

नेपाल अस्ट्रेलिया वेलफेयर सोसाइटी (नवाज) ले अस्ट्रेलियाब्यापी फुटबलको रात्रीभोज र पुरस्कार समारोह स्थगित गरेर त्यसका लागि छुट्टाइएको पाँच लाख बराबरको रकम नेपालको बाढीपीडितलाई प्रदान गर्ने निर्णय गरेको छ।

निकै ठूलो रमझम र रात्रीभोजबीच ट्रफी तथा प्रमाण पत्र र सम्मान गर्ने कार्यक्रम बनाए पनि नवाजले मुलुकमा देखिएको पछिल्लो परिस्थितिका कारण बाढी पीडितलाई सहयोग गर्नु उपयुक्त भएको भन्दै सो रकम प्रदान गरेको हो ।

सहभागी क्लब प्रायोजक र आयोजक अनि सम्मानित सन्चारकर्मीसहितको उपस्थितिमा नवाजले शनिबार चिया कार्यक्रममा विजेता दि राइजिङ गोर्खाज र उपविजेता फेवा फुटबल क्लबलाई ट्रफी र नगद हस्तान्तरण गर्दै आफ्नो नया निर्णय सुनाएको हो ।

कार्यक्रममा नवाजका अध्यक्ष बिनोद शर्माले गाला डिनरका लागि नवाजले छुट्टाएको पाँच हजार डलर र कफी हाउस तथा श्रीमती पबिता शर्माको नाममा ब्यक्तिगत एक लाख रूपैया बाढी पीडितलाई प्रदान गरे। हामीले सहभागी सबै क्लब र विजेता साथीहरुको अनुमतिमा नया निर्णय गरेका हौ।

‘मुलुक दुखिरहँदा हामी यहाँ रात्रिभोजमा रमाउनुको कुनै अर्थ हुँदैनथ्यो त्यसैले कार्यसमितिको सबै साथीभाइ र क्लबहरुको सल्लाहमा हामीले थोरै भए पनि एउटा शन्देश दिन खोजेका हौ’, अध्यक्ष बिनोदले बताए। सो रकम नेपाल एशोसिएसन अफ नेपाल तराइ इन अस्ट्रेलियनका अध्यक्ष शुभांसु शाहलाई हस्तान्तरण गरिएको थियो ।

विजेता दी राइजिङ गोर्खाजका अध्यक्ष जोन सिटौलाले भने, ‘मुलुक बाहिर रहे पनि देश डुबिरहँदा हामीले रमाइलो गर्न चाहेनौं। आयोजक साथीहरूले यो रकम नेपालमा पीडामा रहेका नेपाली दाजुभाइलाई खर्च गरौ भन्ने प्रस्ताव ल्याउनुभयो हामीले खुसीले स्वीकार गर्‍यौ,’ झापाका सिटौलाले सेतोपाटीलाई बताए ।

कार्यक्रममा प्रतियोगिताका प्राविधिक निर्देशक राजु मानन्धरले संसारभर छरिएर रहेका नेपाली पनि यतिबेला शोकमा रहेको कारण यो निर्णय साच्चीकै उपयुक्त र शान्दर्भीक रहेको बताए। सुका सुका मिल्यो भने पनि खोला र खोला खोला भयो भने सागर बन्न सक्छ, सानै भए पनि यस्ता सहयोगले तराइका बाढी पीडितहरुलाई मलम लगाउन सके हाम्रो लागि त्यो मुलुकप्रतिको दायित्वबोध बन्न सक्छ, मानन्धरले बताए।

कार्यक्रममा आयोजक नवाजका सचिव मन्जित घिमिरेले अस्ट्रेलियामा बसे पनि देशप्रतिको चिन्ता र चासो स्वभाविक रहेको बताए। मुलुक दैविक प्रकोपको चपेटामा छटपटाइरहँदा हामी यहाँ हास्ने र रम्ने कुरा पटक्कै सुहाउँदैन। यसैले पनि हामीले यो निर्णयमार्फत सबै संसारभर छरिएर रहेका नेपालीलाई एउटा शन्देश दिन खोजेका हौ। सबैले यथास्थानबाट भए पनि सक्दो सहयोग गरौ भनेर।

कार्यक्रममा एनआरएन एनएसडब्लुका संयोजक नन्द गुरुङ , आदिवासी जनजाति मञ्च अस्ट्रेलियाका अध्यक्ष तथा फुटबलप्रेमी अरूण तामाङ, सामाजिक अगुवा राजु मानन्धर तथा नवाजका खेल संयोजक प्रकाश पन्थीलगायतले विजेतालाई ट्रफी तथा प्रमाण पत्र बितरण गरे।

कार्यक्रममा अस्ट्रेलियामा बसेर समाचारको माध्यमबाट समाजलाई सहयोग पुर्‍याउने पत्रकार राजन घिमिरे, कृष्ण तिवारीलगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो।

सिड्नी मेट्रो नवाज कप फुटबल प्रतियोगिताको फाइनलमा फेवा क्लबलाई १-० गोलले पराजित गर्दै दी राइजिङ गोर्खाज क्लबले उपाधि जितेको थियो।

प्रतियोगिताका म्यान अफ दी सिरिज फेवा फुटबल क्लबका अभिषेक गुरुङ , म्यान अफ दी म्याच राइजिङ गोर्खाजका कप्तान सुमिन कुमार भट्टराइ , बेष्ट गोलरक्षक टीआरजीका समिप गौचन घोषित भए । सेन्ट जोर्ज फ्रेन्ड्स सिम्रीक क्लबका आषिश श्रेष्ठ १० गोल गरेर सर्वाधिक गोलकर्ता बनेका थिए ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.