देशको मुहार हो विमानस्थल :भवन भट्ट


पछिल्लो साता एकाएक चर्चामा आयो एनआरएन । नामले मात्र कहलिएका एनआरएनहरुको कामले पनि देशको मुहार फेरिन थाल्यो भनेर ब्यापक समाचार छापियो। कुरो सामान्य थियो, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको सरसफाई। पर्यटकको पहिलो पाइला पर्ने मुलुकको विमानस्थल हेर्न लायक बनाउने अभियानमा जुटेका थिए एनआरएनएका उपाध्यक्ष भवन भट्ट।

गोरखाका भवन लामो समयदेखि जापानमा ब्यवसायमा रमेका पनि छन् र जमेका पनि। अस्ट्रेलिया भ्रमणमा रहेका भवनले दक्षता अभिबृद्धी र ज्ञान साट्ने अभियान अन्तगर्त यस पटक एनआरएनले विमानस्थलको सरसफाइ रोजेको बताए ।

मुलुक दुख्दा जुरुक्कै उठ्ने प्रवासी समाजको साझा संगठनका रुपमा रहेको एनआरएनले लगानी र देश विकासमा लामो समयदेखि योगदना पुर्‍याउँदै आए पनि यस पटक हेर्न लायक काम गरेको हो ।

हेर्दा सानो र थोरै लगानी भए पनि साच्चीकै लोभलाग्दो र स्याब्बासीपूर्ण काम ठहरिएको छ बिमानस्थल सरसफाई। ‘यसलाई हामीले फरक ढंगले लिएका छौ । स्कील ट्रान्सफर अभियान अन्तर्गत बिदेशमा सिकेको ज्ञानलाई नेपालमा लगाउने अभियानको पहिलो स्वरुप हो बिमानस्थल सरसफाइ,’ भट्टले सेतोपाटीसँग भने।

एनआरएनको यो अभियानलाई अस्ट्रेलियाको सिड्नीका खेम शर्माले साकार रुप दिएका हुन्। ब्यवशायीक सरसफाइ अभियान गरिरहेका खेम क्लीनिङलाई भवनले विमानस्थलको जिम्मा लगाएका थिए। अहिले पहिलो सत्रमै यसले स्वरुप फेरेपछि नेपालका मिडियाहरुमा यो सवत्र चर्चामा रह्यो।

‘बिदेशमा रहेका नेपाली प्राविधिक दक्षहरुले नेपालमा गएर आफ्नो ज्ञान मात्र बाडे पनि मुलुकको लागि यो ठूलो विषय बन्दोरहेछ, हामीले यसलाई परीक्षणका रुपमा लिएका छौ,’ भवनले कुराकानीका क्रममा भने।

एनआरएन अस्ट्रेलियाको अधिवेशनका क्रममा ब्रिसबेन आइपुगेका भवनले एनआरएनले आगामी दिनहरुमा मुलुकको विकासमा नयाँ अवधारणा अगाडि सार्नुपर्ने देखिएको छ।

‘एनआरएनले पर्यटकको पहिलो पाइला टेक्ने अन्तर्राष्ट्रिय विमानस्थल नेपालको मुहारका रुपमा परिचित हुने भएकाले यसलाई सफा, सुग्घर र चुस्त अनि तन्दुरुस्त राख्नुपर्छ भन्ने हाम्रो मान्यता रहदै आएको थियो। त्यसैले हामीले पहिलो प्रयास स्वरूप विमानस्थललाई रोजेका हौ,’ भवनले भने।

अतिथिदेवो भवः भन्ने नारालाई मात्र अगाडि बढाउन सके नेपाल र नेपालीको आर्थिक विकासमा टेवा पुग्ने बताउँदै भवनले भने अबका दिनमा एनआरएनले यस्तै खाले नयाँ योजनाहरु बुनेको बताए।

विदेशमा बसेर दिनरात देशका बारेमा सोच्ने लाखौं युवा पीढीहरू महत्वपूर्ण क्षणमा आफूलाई पनि समाहित गर्न चाहन्छन्। हामीले देशको मुहार परिवर्तन गर्न सके हाम्रो पनि प्रतिष्ठा कायम रहला। त्यसैले एनआरएनले यस पटक विमानस्थल सरसफाइबाट नयाँ कामको थालनी गरेको हो। आगामी दिनमा यस्ता विषयमा एनआरएनले जोड दिनुपर्ने भट्टको कथन थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.