ग्लोबल नेपाली
बैंकको जागिर छाडेर संगीता चापागाईं सन् २००४ मा अस्ट्रेलिया पुगिन्। उनका साथमा मानसिक रोग विशेषज्ञ श्रीमान डा. घनश्याम चापागाईं र तीन वर्षकी छोरी पनि थिए।
अस्ट्रेलियाको न्यू साउथ वेल्सस्थित न्यू कासलमा आठ महिना बसेपछि उनीहरू ट्यामोर्थ गए। त्यहाँबाट सन् २०१० मा सिड्नी पुगे। त्यसयता उनीहरू सिड्नीमै छन्।
'त्यस बेला श्रीमान कामका लागि जानुभयो। हामी पनि गयौं। म नानी हेर्नमा र हुर्काउनमै व्यस्त भएँ। हाम्रो अर्को बच्चा पनि भयो,' संगीताले भनिन्, 'सिड्नी गएपछि मात्र मैले काम गर्न थालेकी हुँ।'
सुरूमा उनले प्रि–स्कुलमा पढाइन्। सन् २०१४ मा कक्षा ५ र ६ मा गणित पढाउन पाइन्। हालसालै पढाउने पेसा छाडेकी छन्।
उनका श्रीमान घनश्यामले अस्ट्रेलियाको अस्पतालमा साझेदारीमा लगानी गरेका छन्। एउटा क्लिनिक पनि चलाएका छन्।
आजकाल संगीता क्लिनिक व्यवस्थापनमै व्यस्त रहन्छिन्। यसबाहेक सामाजिक काममा पनि सक्रिय छिन्। गैरआवासीय नेपाली संघ (एनआरएनए), अस्ट्रेलियाको एक मुख्य अंगका रूपमा रहेको 'नारी निकुञ्ज' को नेतृत्व सह्मालेकी छन्।
नारी निकुञ्जका शाखा अस्ट्रेलियाका आठवटै प्रदेशमा क्रियाशील छन्। यो संगठन सन् २००९ मा स्थापना भएको हो।
संगीता सन् २०२३ उक्त संगठनको संयोजक भइन्। यो संगठनले महिला, बालबालिका र घरेलु हिंसा सम्बन्धमा सरोकार राख्छ र यसमै काम गर्छ।
घनश्याम पनि एनआरएनएमा सक्रिय थिए। श्रीमानकै प्रेरणाले संगीता एनआरएनएको संगठनमा पुगिन्। संगठनका कामको लय पनि श्रीमानबाटै सिकिन्।
'एनआरएनएमा सुरूदेखि नै चासो थियो। कुनै न कुनै रूपमा संलग्न पनि थिएँ। नारी निकुञ्जको संयोजक भएपछि बढी सक्रिय भएकी छु,' संगीताले भनिन्, 'हामी अस्ट्रेलियामा रहेका (नेपाली) महिलाले भोग्नुपरेका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर काम गर्छौं। बालबालिका सम्बन्धी र घरेलु हिंसाका मुद्दामा चासो दिन्छौं।'
उनले अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसाको समस्या देखेकी छन्। समस्यामा परेका व्यक्तिले घटना कसैलाई नसुनाउने र पीडा सहेर बस्ने गरेको पनि उनले पाएकी छन्।
'घरेलु हिंसाका धेरै गम्भीर मुद्दा आउँछन्। श्रीमानले पिट्नुभयो, बस्ने ठाउँ छैन भन्ने गुनासो आउँछ। उजुरी लिएर कहाँ जाने भन्ने पनि थाहा हुँदैन,' उनले भनिन्, 'पीडितहरू आत्तिएका हुन्छन्। उनीहरू आर्थिक समस्यामा पनि परेका हुन्छन्।'
नारी निकुञ्जमा यस्ता गुनासाहरू बाक्लै आउँछन्, धेरैले फोन गरेर सुनाउँछन्।
घरेलु हिंसाका अनेकमध्ये एउटा प्रमुख कारणबारे उनले भनिन्, 'श्रीमानश्रीमतीमा एकअर्कासँग धेरै अपेक्षा हुँदो रहेछ। अपेक्षा पूरा नभएपछि समस्या आउँदो रहेछ र घरेलु हिंसामा बदलिँदो रहेछ।'
उनका अनुसार पीडितहरू आफ्ना समस्या खुलस्त राख्न डराउँछन्।
समस्या खुलस्त सुनाउन पनि खास किसिमको वातावरण चाहिन्छ। समस्या सुनाएपछि समाधानको बाटो खुल्छ र सुनाएकै कारणले आफूलाई अर्को समस्या थपिँदैन भन्ने विश्वास चाहिन्छ।
नेपालबाट गएका अविवाहित युवतीहरू समेत अस्ट्रेलियामा विभिन्न तरिकाले पीडित हुने गरेको संगीताले देखेकी छन्। धेरै घटनामा त एउटा नेपालीबाटै अर्को नेपाली पीडित हुने भएको हुन्छ।
'काम लगाइदिन्छु भनेर बोलाउने र मिसबिहेभ (अशिष्ट व्यवहार) गर्ने गरेका घटनाहरू छन्। एउटा कुरा सोचेर गएको तर अर्कै व्यवहार भयो भनेर गुनासो गर्ने बहिनीहरू हुनुहुन्छ,' उनले भनिन्, 'काम लगाइदिन्छु भनेपछि विश्वास हुन्छ। त्यही विश्वासलाई मौका ठानेर गलत फाइदा उठाउने प्रवृत्ति कतिपय नेपालीमै पाइएको छ।'
नारी निकुञ्जले बालबालिकाको हित प्रवर्द्धन र महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिका कार्यक्रम चलाउँछ। समस्या पहिचान गर्ने र समाधानको बाटो पहिल्याउने काम गर्छ।
'यसो हेर्दा अस्ट्रेलियामा महिला–पुरूष बराबर जस्तै छ तर व्यवहारमा बराबर छैन। के केमा विभेद छ भन्न पनि कठिन हुन्छ तर विभेद हुन्छ,' संगीताले भनिन्, 'हामी पीडित नेपालीको समस्या समाधानका लागि मद्दत गर्छौं।'
नेपालबाट छोराछोरी अस्ट्रेलिया पठाएका आमाबाबुलाई बढी अपेक्षा नगर्न पनि उनको सुझाब छ। अझ विद्यार्थी छोराछोरीबाट अपेक्षा गर्नु त गलत नै हुन्छ।
'अस्ट्रेलियामा सुरूआती दिन सबैका लागि निकै चुनौतीपूर्ण हुन्छ। महिलाका लागि अझै बढी चुनौती हुन्छ,' उनले भनिन्।
अस्ट्रेलियामा विदेशी विद्यार्थीले हप्तामा २० घण्टा मात्र काम गर्न अनुमति पाएको हुन्छ। त्यसबाट व्यक्तिगत खर्च पुग्ने हुनसक्छ। विद्यार्थी रहुन्जेल घरमा पैसा पठाउनु करिब असम्भव हुन्छ।
नारी निकुञ्ज अस्ट्रेलियामा मात्र सीमित छैन। यसले नेपालमा पनि केही सामाजिक गतिविधि गर्दै आएको छ। महिलाको आङ खस्ने रोगको उपचार, मोतिबिन्दु र कानको समस्या भएकाहरूलाई बेलामौकामा सहयोग गर्ने गरेको उनको भनाइ छ।
सामाजिक काम निकै चुनौतीपूर्ण हुने पनि उनको अनुभव छ। आत्मविश्वासका साथ अघि बढ्न सक्दा मात्र सफलता प्राप्त हुन्छ भन्ने उनलाई लाग्छ।
'गर्छु भन्ने कुरा मनैबाट आयो भने मात्र सामाजिक काम गर्न सकिन्छ। स्वार्थ राखियो भने गाह्रो हुन्छ,' संगीता भन्छिन्, 'सामाजिक कामका लागि टिम चाहिन्छ। गतिलो टिम भयो भने सजिलो हुन्छ।'
उनी कामप्रतिको इमानमा र टिमवर्कमा विश्वास राख्छिन्।
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com