अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रिया सजिलो बनाउनुपर्ने हो। तर अहिलेको अवस्थामा अलिकति जटिल बनाइरहेको छ।
अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षामा पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने हालको अवस्था सबैभन्दा जटिल हो।
अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सन् २०२४ त्यति राम्रो भएन। कोटा प्रणालीको अस्पष्टताले धेरैलाई अलमलमा पार्यो। अब कोटा प्रणाली आइसकेकाले सन् २०२५ अलि सहज होला भन्ने अपेक्षा छ।
यस वर्ष अस्ट्रेलियामा संघीय चुनाव हुँदैछ। अहिले प्रतिपक्षमा रहेको लिबरल पार्टीले चुनाव जित्यो भने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अलिक सहज हुन सक्छ। लेबर पार्टी नै आयो भने अझै जटिल हुनसक्छ।
सत्तारूढ लेबर पार्टीले लागू गरेको कोटा प्रणालीसम्बन्धी विधेयक पारित भएन जो नेपाली विद्यार्थीका लागि सकारात्मक छ। पैसा तिरेर उच्च शिक्षा हासिल गर्न विदेश जान नपाउने हुँदैन तर लेबर पार्टीले त्यसमा अंकुश लगाउन खोजेको छ।
हालै मन्त्रिस्तरीय निर्देशन आएको छ। अब अन्तर्राष्ट्रिय विद्यार्थीलाई केही सहज हुने मान्न सकिन्छ। कलेजको स्तर निर्धारण हटाइएको छ जसले गर्दा भिसाको सवालमा सबै कलेज समान मानिने छन्। अझै पनि सरकारले कोटा प्रणाली (क्याप) कायमै राखेको छ। अझै सबै पक्ष प्रस्ट पारिएको छैन।
अस्ट्रेलिया पुगेर कोर्स परिवर्तन गर्दा क्यापिङको गणना हुँदैन भन्ने बुझाइ छ। अब क्यापिङ भिसाका आधारमा हुन्छ वा अर्को कुनै आधार लिइन्छ, अहिले नै अनुमान गर्न कठिन छ।
सरकारले दुई लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थी भनेको छ तर यो संख्या पूरै नयाँ हो कि हाल अस्ट्रेलियामा रहेका समेत हो भन्ने पनि अझै प्रस्ट छैन।
कुनै शैक्षिक संस्थाले पाएको विद्यार्थी संख्याको ८० प्रतिशतलाई भिसा प्रक्रिया चाँडो गर्ने भनिएको छ तर त्यो ८० प्रतिशत कसरी निर्धारण हुन्छ भन्ने पनि प्रस्ट पारिएको छैन।
अर्को कुरा, निर्धारितमध्ये विद्यार्थी संख्या ८० प्रतिशत पुगेपछि भिसा प्रक्रिया सुस्त हुने भनिएको छ। यो 'सुस्त' भनेको के हो, त्यो पनि प्रस्ट छैन।
मानौं कुनै कलेजले सय जना अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने कोटा पाएको छ। त्यसमध्ये ८० जना पुगेपछि के हुन्छ, भन्ने थाहा छैन।
लेबर सरकारले आप्रवासीको संख्या घटाउन चाहेको छ। यसको उपायका रूपमा यसको पहिलो 'टार्गेट' अन्तर्राष्ट्रिय विद्यार्थी नै हुने देखिएको छ।
म आफै पनि लेबर पार्टीमा आबद्ध छु। म हाल अस्ट्रेलियन लेबर पार्टीमा भिक्टोरिया राज्यको 'युवा तथा शिक्षा मामिला समिति' को निर्वाचित सदस्य हुँ।
मलाई लेबर पार्टीका केही नीतिहरूको जानकारी छ। लेबर पार्टी बाहिरबाट भित्र्याउनमा भन्दा अस्ट्रेलियामा रहेकालाई सहज बनाउनमा जोड दिन्छ।
लिबरल पार्टीले लिने नीति केही फरक हुन सक्छ। ऊ साना व्यवसायमा बढी प्राथमिकता दिन्छ। यस्तो नीतिले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलिया जान सजिलो बनाउँछ तर स्थायी बसाइका लागि अनुमति पाउन कठिन हुन सक्छ।
आप्रवासन नीतिमा दुवै पार्टीले भोटको राजनीति गर्छन्। लिबरल पार्टीले आप्रवासन नीतिमा लेबर पार्टीले भन्दा बढी काम गर्ने भनेको छ। यसको अर्थ आप्रवासन नीति अझै कडा हुन सक्छ तर मेरो बुझाइअनुसार लिबरल पार्टी आउँदा विद्यार्थी भिसा सजिलो बनाउँछ।
लेबर पार्टीको प्राथमिकता अस्ट्रेलियामा रहेका मानिसको संरक्षणमा हुन्छ। दोस्रोमा शरणार्थीहरू पर्छन्। उसले सामाजिक सुरक्षा, समानता, न्याय र समावेशितामा बढी ध्यान दिन्छ। अस्ट्रेलियामा कुन क्षेत्रमा जनशक्ति आवश्यक छ भन्ने आधारमा भिसा निर्धारण गर्छ।
म आफै पनि अन्तर्राष्ट्रिय विद्यार्थी भएर अस्ट्रेलिया गएको थिएँ। म कार्यरत 'होम्स इन्स्टिच्युट, अस्ट्रेलिया' मार्फत कलेजमा ४४ देशका विद्यार्थी आउँछन्।
प्रत्येक विद्यार्थीले विदेश जाने निर्णय गर्नुअघि धेरै कुरा बुझ्न र अनुसन्धान गर्न जरुरी हुन्छ।
कुनै विद्यार्थीको आर्थिक अवस्था राम्रो तर शैक्षिक अवस्था कमजोर हुन सक्छ त कसैको शैक्षिक अवस्था निकै राम्रो तर आर्थिक अवस्था कमजोर हुन सक्छ। यो दुवै अवस्थामा भिसा प्राप्त गर्न कठिन हुन सक्छ।
नेपालमा १२ कक्षा पूरा गरेपछि विदेशमा पढ्न जाने प्रवृत्ति छ। यसको साटो स्नातक तह पूरा गरेर जानु राम्रो हुन्छ। स्नातक तहका लागि भन्दा स्नातकोत्तर तहका लागि भिसा पाउने सम्भावना बढी हुन्छ।
कहिलेकाहीँ एक कदम पछाडि हटेर दुई कदम अगाडि बढ्नुपर्ने हुन्छ। अस्ट्रेलियामा शुल्कका आधारमा मात्र कलेज परिवर्तन गर्नु हुँदैन। यताबाट जुन कोर्स पढ्न गएको हो त्यही पढ्नु राम्रो हुन्छ।
(इन्द्र अधिकारी 'होम्स इन्स्टियुठ अस्ट्रेलिया' मा 'डाइरेक्टर अफ इन्टरनेसनल रिक्रुटमेन्ट' का रूपमा कार्यरत छन्। सेतोपाटीका लागि सन्जिब बगालेले उनीसँग अस्ट्रेलियाको पछिल्लो शिक्षा नीति र राजनीतिक दलहरूले लिने आप्रवासन नीतिबारे भिडिओ कुराकानी गरेका छन्।)
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्)
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com