ग्लोबल नेपाली
नेपालगन्जका बाबुराम भट्टराई अस्ट्रेलिया गएको झन्डै दुई दशक भयो। अहिले उनी अस्ट्रेलियाको उत्तरी भेगको डार्विन सहरमा बस्छन्।
उनले एकाउन्टिङ, मोर्गेज ब्रोकिङ र रियल स्टेट गरी तीन वटा कम्पनी चलाएका छन्।
वेल्थम्याक्स फाइनान्सियल ग्रुप अन्तर्गत यही तीन कम्पनीका लागि नेपालगन्जबाट समेत काम हुन्छ। नेपालगन्जमा उनले दस जनालाई रोजगारी दिएका छन्। अस्ट्रेलियामा थप नौ जनाले काम गर्छन्।
आफ्नो कम्पनीका लागि त छँदैछ, अब उनले अन्य कम्पनीका लागि समेत नेपालमा रोजगारी सिर्जना गर्ने प्रयास गरेका छन्।
'नेपालमा आउट सोर्सिङ एडमिनिस्ट्रेसन र कल सेन्टर राख्ने प्रयासमा छु। अहिले अनौपचारिक तरिकाले काम भइरहेको छ,' उनले भने, 'अब नेपाली समुदायले चलाएका कम्पनीका लागि काम गर्छु। त्यसपछि मात्रै अन्य कम्पनीहरूसँग कुरा गर्छु।'
नेपालबाट काम गर्दा एक त खर्च कम हुन्छ, अर्को रोजगारी सिर्जना हुन्छ।
बाबुरामका अनुसार भारत र फिलिपिन्स आउट सोर्सिङ सञ्चालनका लागि विश्वमै अगाडि छन्। नेपालीहरू मेहनती र अंग्रेजीमा पनि राम्रै दख्खल हुने भएकाले यहाँ पनि राम्रो सम्भावना भएको उनको बुझाइ छ।
'मैले देश परिवर्तन गर्न सक्दिनँ। एउटा गाउँ पनि परिवर्तन गर्न सक्दिनँ। जति सक्छु, त्यति गर्छु,' उनले भने, 'सुरूका दिनमा दुई\चार वर्षमा नेपाल आइन्थ्यो। अहिले एक वर्षमै आउन थालेको छु।'
सन् २००६ मा अस्ट्रेलिया गएका बाबुरामले व्यावसायिक यात्रा सुरू गरेको दस वर्ष भयो। आफ्नी छोरीको स्वास्थ्यका लागि गर्मी ठाउँ उपयुक्त हुने सुझाव डाक्टरले दिएपछि उनी सिड्नी छोडेर डार्विन गएका हुन्।
डार्विन गएलगत्तै उनले व्यवसाय सुरू गरे। एकाउन्टिङ फर्मबाट आफ्नो व्यवसाय सुरू गरेका बाबुरामले सन् २०१७ देखि मोर्गेज ब्रोकिङको काम थाले।विगत दुई वर्षदेखि रियल-इस्टेटमा समेत हात हालेका छन्।
एकाउन्टिङ अन्तर्गत बुक किपिङ, एकाउन्टिङ, पे-रोल म्यानेजमेन्ट लगायत काम हुन्छ। मोरगेज ब्रोकिङ अन्तर्गत घर लिनेको आर्थिक मूल्यांकन गरेर ऋणको प्रक्रियामा सहजीकरण गरिन्छ। रियल-इस्टेट अन्तर्गत घर किनबेच हुन्छ।
बाबुराम अनुमतिपत्र (लाइसेन्स) प्राप्त ट्याक्स एजेन्ट र मोर्गेज ब्रोकर हुन्।
लामो समय विदेश बसेपछि नेपाल आउन पनि गाह्रो र उता बसिरहन पनि गाह्रो हुने उनको अनुभव छ।
'मेरा छोरीहरू १५ र १२ वर्षका भए। अहिले उनीहरूको करिअरका लागि पनि उतै केन्द्रित हुनुपर्यो। त्यसैले उता चट्टै छाडेर आउन सकिँदैन,' उनले भने, 'बुबा आमाको उमेर बढ्दै गयो। उहाँहरू उता जान मान्नुहुन्न। त्यसैले अस्ट्रेलिया र नेपाल जोड्ने गरी व्यवसाय गरियो भने दुवैतिर हुन्छ भन्ने लागेको छ।'