ग्लोबल नेपाली
विदेश पुगेपछि आफ्नो भाषा र संस्कृति झनै प्यारो लाग्छ। विदेशको वातावरणमा आफ्नो संस्कृति र भाषा आफ्ना सन्तानमा हस्तान्तरण गर्न भने सजिलो हुँदैन।
विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमले सम्बन्धित देशकै संस्कृति र भाषालाई प्राथमिकतामा राख्छ। त्यसैले विदेशमा हुर्किरहेका आफ्ना सन्तानलाई भाषा र संस्कृति सिकाउन प्रतिकूल बनिदिन्छ।
यस्तो समस्या देखिएपछि अमेरिका सबभन्दा उत्तर पश्चिममा पर्ने राज्य वासिङ्टनका नेपालीभाषीले १५ वर्षअघि अभियान नै सञ्चालन गरेका थिए।
अमेरिकाको उत्तर पश्चिमको प्रशान्त महासागरको तटमा अवस्थित व्यापारिक सहर सियाटलमा स्थापना भएको नेपाल सियाटल सोसाइटीले सन् २०१० देखि ‘सियाटल नेपाली स्कुल’ सुरू गर्यो।
जुन स्कुल अहिले सियाटलको दुई स्थानमा सञ्चालन भइरहेको छ। दुवै स्कुलमा गरी कक्षामा सहभागी हुने नेपाली विद्यार्थीको संख्या यो वर्ष दुई सयको हाराहरीमा पुगिसकेको छ।
१५ वर्षअघिको एउटा अभियान अहिले सफलतातर्फ अघि बढेको त छ नै, अमेरिकाको वासिङ्टनमा हुर्किरहेका नेपाली समुदायका बालबालिकाले नेपाली भाषा र संस्कृति शैक्षिक रूपमै सिकिरहेका छन्।
‘विदेश पुगेपछि आफ्नो भाषा र संस्कृति झनै प्यारो लाग्ने रहेछ,’ वासिङ्टन राज्यस्थित नेपाली सामुदायिक केन्द्रका अध्यक्ष तथा सियाटल सोसाइटीका सल्लाहकार दुर्गाप्रसाद श्रेष्ठले सेतोपाटीसँग भने, ‘विदेशमा बसे पनि हाम्रा सन्ततीले नेपाली भाषा र संस्कृति नबिर्सिऊन् भनेर हामीले स्थापना गरेको विद्यालयको अवधारणा निकै सफल र उपयोगी भइरहेको छ।’
सानै उमेरमा अमेरिका पुगेका र उतै जन्मेका नेपाली समाजका नयाँ पुस्ताले नेपालीपन नबिर्सिऊन् भनेर स्कुल सुरूआत गरिएको उनी बताउँछन्।
सोसाइटीले सियाटल नेपाली स्कुल उत्तरी क्षेत्रमा सन् २०१० स्थापना गरेको थियो। नेपालीको जनसंख्या सियाटलको दक्षिण भेगमा पनि बाक्लिँदै गएपछि सन् २०१८ देखि सियाटलको दक्षिणी भेगको केन्टमा पनि नेपाली स्कुलको सुरूआत गरियो।
सोसाइटीले स्कुल सञ्चालनका लागि आफ्नै पाठ्यक्रम विकास गरेको छ भने सञ्चालन प्रक्रियामा अभिभावकलाई पनि सहभागी गराइने गरिएको छ। अभिभावककै सल्लाहअनुसार स्कुल सञ्चालन गरिन्छ।
उत्तरी भेगमा रहेको सियाटल नेपाली स्कुल वर्षमा चार महिना अर्थात् जनावरीदेखि अप्रिलसम्म चल्छ। यस्तै दक्षिणको स्कुलमा स्थानीय सरकारी स्कुलको क्यालेन्डर अनुसार सेप्टेम्बरदेखि जुनसम्म नेपाली भाषा-संस्कृति पढाइन्छ।
सियाटल सोसाइटीका अनुसार उत्तरको स्कुल शोरलाइन सामुदायिक कलेजमा भाडामा लिएर सञ्चालन भइरहेको छ।
दक्षिणको स्कुल भने एसियन काउन्सिलिङ एन्ड रिफेरल सर्भिस तथा पदम थापा र प्रेम तामाङले सञ्चालन गरिरहेको एभरेष्ट युनाइटेड तेक्वान्डो एकेडेमीको भवनमा सञ्चालन हुने गरेको छ। उक्त तेक्वान्दो एकेडेमी नेपालीले सियाटलमा स्थापना गरेको पहिलो एकेडेमी हो।
स्कुलमा पढाउने शिक्षकलाई सियाटल सोसाइटीले स्वयंसेवीको रूपमा छनोट गर्ने गरेको छ।
यो वर्ष दुवै स्कुलमा गरी ४० जना स्वयंसेवी शिक्षकले पढाइरहेका छन्। उनीहरूलाई सोसाइटीले तयार गरेको पाठ्यक्रमअनुसार पढाउन लगाइन्छ। यो बाहेक स्कुल सञ्चालनमा अभिभावकले पनि सहयोग गर्ने गरेका छन्।
दक्षिणको स्कुल मित्र धिताल र उत्तरको स्कुल सुशील शर्माको संयोजकत्वमा सञ्चालन हुँदै आएको छ।

संयोजक धितालका अनुसार नेपाली स्कुलमा सातामा ८ वटा कक्षाहरू सञ्चालन गरिन्छ। कक्षाहरू त्यहाँको बिदाको दुई दिन मात्र सञ्चालन गर्ने गरिन्छ। अरू बेला नियमित स्कुल जानुपर्ने भएकाले नेपाली स्कुल बिदाको दिन मात्र सञ्चालन गरिएको हो। कक्षाहरू एक दिनमा सवा दुई घन्टा सञ्चालन गर्ने गरिएको छ।
सन् २०१० मा नेपाल सियाटल स्कुल स्थापना गर्दाको वर्ष ११ जना विद्यार्थी मात्र भर्ना भएका थिए। त्यतिबेला ती ११ जना विद्यार्थीलाई ४ जना स्वयंसेवक शिक्षकले पढाएका थिए। यो वर्ष उत्तरी क्षेत्रको स्कुलमा ९९ विद्यार्थी र दक्षिण क्षेत्रको स्कुलमा ८५ जना विद्यार्थीले नेपाली भाषा अध्ययन गरिरहेका छन्।
स्कुलमा भर्ना हुन न्यूनतम उमेर ५ वर्षको तोकिएको छ। ५ वर्ष कटेका जुनसुकै उमेरका विद्यार्थीलाई सियाटल नेपाली स्कुलले नेपाली भाषा सिकाउँछ।
कस्तो हुन्छ पाठ्यक्रम?
नेपाली भाषा सिकाइका लागि स्कुलले आफ्नै पाठ्यक्रम विकास गरेको छ। जुन पाठ्यक्रम नेपाली भाषा र संस्कृतिमै केन्द्रित छ। चार तहको कक्षा पूरा गरेपछि नेपाली लेख्न/पढ्न र संस्कृतिबारे जानकार बनाउनमा पाठ्यक्रम केन्द्रित छ।
सुरूमा नेपाली वर्णमाला, बाह्रखरी र अंकहरू पढ्न र लेख्न सिकाइन्छ। अनि सरल शब्द र वाक्य बनाउने कक्षा सुरू हुन्छ। विद्यार्थीहरूले वाक्य लेख्न र बोल्न सक्ने भएपछि सात बार, विक्रम सम्बतका १२ वटा महिना र नेपालमा हुने छ वटा ऋतुको बारे पढाइन्छ।
साधारण नेपाली पढ्न र लेख्न सक्ने कुन उमेर समूहका मानिसलाई कसरी सम्बोधन गर्ने, आफन्त र साथीभाइलाई के भनेर बोलाउने लगायतका नेपाली चलनबारे पढाइन्छ।
नेपालको इतिहास, राजनीतिक, भौगोलिक अवस्था, चाडपर्व र नेपालका विभिन्न जातजातिबारे जानकारी दिने पाठ्यक्रम बनाइएको छ।
नेपालका विभिन्न भाषा र संस्कृतिबारे पनि स्कुलमा पढाइ हुन्छ।
नेपालका सम्पदा र हिमाल ऋंखलासँगै नेपालको संस्कृति र कलामा आधारित नाटक, नृत्य, नेपाली नयाँ वर्ष, दशैं, तिहारको देउसी भैलो, ल्होसार लगायतका कार्यक्रम पनि आयोजना गर्ने गरिएको छ।
पाठ्यक्रमलाई चार वटा तहमा विभाजन गरिएको छ। त्यहीँअनुसार उल्लेखित विषयमा पढाइ हुन्छ। पहिलो तहको पाठ्यक्रम पढेपछि विद्यार्थीहरूलाई दोस्रो, तेस्रो र चौथो तहमा क्रमश: बढुवा गरिन्छ।
सियाटल सोसाइटीका पूर्व बोर्ड अफ डिरेक्टर दुर्गा श्रेष्ठ नेपाली भाषा सिकाएपछि अभिभावकहरू निकै खुसी भएको पाउँछन्।
‘भाषा र र संस्कृति आफ्ना पुस्तामा सिक्दा निकै खुसी लाग्ने रहेछ,’ श्रेष्ठले भने, ‘स्कुलका अभिभावकले पनि निकै खुसीका साथ आफ्ना नानीबाबुका भाषा सिकेको तस्बिर सेयर गर्नु भएको देख्दा झनै खुसी लाग्छ।’
पछिल्लो समय वासिङ्टन राज्यमा नेपाली भाषाले विदेशी भाषाको समेत मान्यता पाएको छ। यो राज्यको कक्षा १२ मा नेपाली भाषालाई विदेशी भाषाको रूपमा विद्यार्थीहरूले छनोट गरेर पढ्न सक्ने व्यवस्था छ।
नेपाली भाषाले मान्यता पाउनुमा सियाटल सोसाइटीले महत्वपूर्ण भूमिका खेलेको थियो। सियाटल सोसाइटीले आफूहरूले सञ्चालन गरेको स्कुलका विद्यार्थीले भविष्यमा कक्षा १२ मा नेपाली भाषा छनोट गरेर पढ्न सजिलो हुने समेत विश्वास गरेको छ।

वासिङ्टन राज्यमा नेपाली
अमेरिकाको वासिङ्टन राज्य अमेरिकाको सबभन्दा उत्तरी पश्चिम क्षेत्रको राज्य हो। यो राज्यको प्रमुख सहर सियाटल उत्तर पश्चिम प्रशान्त महासागरको तटमा छ भने व्यापारिक सहरको रूपमा चिनिन्छ।
अमेरिकाका चर्चित कम्पनीहरू एमेजन, माइक्रोसफ्ट, स्टारबक्स कफी र टी-मोबाइलको मुख्यालय सियाटलमा छन्। सियाटलमा विश्वको प्रसिद्ध विमान निर्माण कम्पनी बोइङको प्रमुख उत्पादन केन्द्र समेत छ।
वासिङ्टन राज्यमा लामो समयदेखि बस्दै आएका समाजसेवी टिपी खनालका अनुसार सियाटलमा नेपाली १९८०-९० को दशकदेखि नै बसोबास गर्न थालेका थिए।
नेपाली समुदायको जनसंख्या बढ्दै गएपछि आफ्नो संस्कृति र पराम्पराको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले नेपाल सियाटल सोसाइटी सन् २००० मा विधिवत रूपमा दर्ता गरिएको उनले बताए।
नेपाली भाषा स्कुल सञ्चालन गर्ने सोसाइटीको प्रमुख तथा महत्वपूर्ण काम हो।
नेपाली स्कुलले होली र तीज पर्व विशेषरुपमा मनाउँदै आएको छ। यस्तै सम्बन्धित संस्थाहरूले दशैं, तिहारसहित नेवारहरूको म्ह: पूजा, गुरूङको तमु र तामाङको सोनाम ल्होसार लगायतका चाडपर्वमा कार्यक्रममा गर्दै आएका छन्। किराँत समुदायले साकेला पर्व आयोजना गर्दै आफ्नो संस्कृति संरक्षण गर्दै आएको छ।
अमेरिकाको उत्तरी पश्चिम क्षेत्रमा बस्ने नेपाली समुदायले हरेक समरमा बृहत पिकनिक आयोजना गर्छ। जुन पिकनिकमा छिमेकी राज्य ओरेगनसहित क्यानडाका नेपालीहरूले पनि सहभागिता जनाउने गर्छन्। यसले नेपालीहरूलाई एक आपसमा घुलमिल गराउन सहज भएको छ।
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com