ग्लोबल नेपाली
अहिले क्यानडामा कति नेपाली छन् भन्ने यकिन आँकडा त छैन तर करिब एक लाखभन्दा बढी भएको अनुमान छ।
पछिल्ला तीन वर्षमा विद्यार्थी भिसामा मात्रै ४० हजारभन्दा धेरै नेपालीहरू आएका छन्। क्यानडामा नेपाली जाने क्रम दिनानुदिन बढ्दै गइरहेको छ। अबको दुई/चार वर्षमा नेपालीको संख्या दुई लाख नाघ्छ भनेर सहज अनुमान लगाउन सकिन्छ।
सुरूमा क्यानडा आउँदा संघर्षपूर्ण चरण हुन्छ। त्यसपछि धेरैले आ-आफ्नो पेसामा पकड जमाउँछन्। यहाँ लेखापालहरू, इन्जिनियरहरू धेरै छन्। केही संख्यामा चिकित्सकहरू पनि छन्। घरजग्गा, बीमा, आर्थिक सल्लाहकारहरू लगायत सरकारी क्षेत्रमा नेपालीहरूले काम गरिरहेका छन्। क्यानडामा मूलधारको राजनीतिबाहेक सबै निकायका राम्रा स्थानमा पुगेर पनि नेपालीहरू काम गरिरहेका छन्। पछिल्लो समयमा केही नेपालीहरूले त्यसका लागि समेत प्रयास गरिरहेका छन्। विजय पौडेल र अनिल थापाले सांसदको उम्मेदवार बन्नको लागि कन्जरभेटिभ पार्टीभित्र प्रतिस्पर्धा गरिरहनुभएको छ।
क्यानडामा नेपालीहरू एकदमै इमानदार र मेहनती हुन्छन् भन्ने पहिचान बनेको छ।
नेपालबाट सन् २००० भन्दा अगाडि विद्यार्थी भिसामा मात्रै नेपालीहरू आउँथे। २००० भन्दा पछाडिदेखि विस्तारै कामदार भिसामा समेत नेपालीहरू आउन थालेका छन्। ब्रिटिस सेनाबाट र सिंगापुर पुलिसबाट अवकास पाएपछि आउनेहरू पनि छन्।
पछिल्लो समय त विद्यार्थी र विभिन्न पेसाका लागि नेपालबाटै पिआर लिएर आउनेको संख्या बढ्दो छ। सुरूसुरूमा क्यानडा आउने विद्यार्थी पनि कम थिए। पछिल्लो दुई/तीन वर्षयता विद्यार्थीहरूको संख्या पनि बढेको छ।
नेपाल र क्यानडाको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष भइसक्यो। नेपाल र क्यानडाको सम्बन्ध पनि राम्रो छ। नेपाल-क्यानडा पार्लियामेन्ट्री फ्रेन्डसिप एसोसिएसन भन्ने छ। त्यसमा सांसदहरूको टिम हुन्छ। त्यसले पनि काम गरिरहेको छ। तर अहिले पुरानो सांसदहरूको समय सकियो नेपालले नयाँ सांसद तोकेको छैन। क्यानडाबाट एक जना संयोजक हुनुहुन्छ। नेपाल सरकारले तुरून्तै बढीमा ६ जना सांसदहरू क्यानडाका लागि तोक्नुपर्नेछ। सरकारले यसमा चासो नदिएको धेरै भयो। हामीले परराष्ट्रलाई यसबारे जानकारी पनि गराइसकेका छौं। यो हुन जरूरी छ।
क्यानडाबाट नेपालले प्रविधिको र सुशासनको क्षेत्रमा सिक्नपर्ने धेरै छ। नेपाल र क्यानडाको प्रशासनिक संरचना उस्तै छ। क्यानडामा पनि नेपालमा सात प्रदेश भएजस्तै १० वटा प्रदेश छन् र सिटी गभर्मेन्ट पनि छ। प्रदेशले के गर्ने, सहर सरकारले के गर्ने, केन्द्रले के गर्ने एकदमै राम्रो स्पष्ट व्यवस्था छ। सबै निकायले एकदमै राम्रोसँग जिम्मेवारी निभाएका छन्। डकुमेन्टेसन एकदमै राम्रो छ। यहाँका यी तीन वटा निकायबीच कहिल्यै पनि द्वन्द्व हुँदैन। नेपालले क्यानडाबाट यहाँको संघीयता सिक्न जरूरी छ।
क्यानडाले कृषि, उत्पादन, स्वास्थ्य, करिकुलम डेभलपमेन्ट, प्राकृतिक स्रोत साधनको प्रयोग लगायत क्षेत्रमा उच्च प्रविधि प्रयोग गर्छ। यस्तो प्रविधिलाई नेपालले पनि अपनाउन सक्छ। नेपालमा कृषि क्रान्तिको कुरा खुबै गरिन्छ। यसलाई सफल बनाउन क्यानडाको प्रविधि प्रयोग गर्न सक्छ। क्यानडामै रहेका नेपालीहरूको सहयोगबाट समेत देशले धेरै गर्न सक्ने अवस्था छ। तर यसलाई कसरी प्रयोग गर्ने भन्ने सरकारले लिने नीति नियम र उसको इच्छाशक्तिमा भर पर्छ।
स्वास्थ्य, शिक्षा, प्राकृतिक स्रोतको सदुपयोग लगायतमा क्यानडाबाट धेरै कुरा सिक्न सक्छ। क्यानडासँग सम्बन्ध विस्तार गर्न यहाँको दूतावासले पनि पहल गर्नुपर्छ। बढ्दो नेपाली डायस्पोरालाई सेवा सुविधा पुर्याउन तथा नेपाल क्यानडाबीच गर्न सकिने धेरै कामहरुको पहलको लागि दूतावाससँग अहिले भइरहेको जनशक्ति तथा आवश्यक स्रोत साधन निकै कम देखिन्छ। क्यानडाबाट नेपालले क्वालिटी पर्यटक, टेक्नोलोजी ट्रान्सफर लगायत धेरै कुरा लिन सक्छ। त्यसको लागि दूतावासको स्रोतसाधन बढाउन नेपाल सरकार गम्भीर हुन जरूरी देखिन्छ।
(क्यानडाको वित्तीय क्षेत्रमा काम गर्ने माधव दुलाल एनआरएनए क्यानडाका अध्यक्ष हुन्।)
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com