पछिल्लो पटक क्यानडाले विभिन्न मुलुकबाट अध्ययनका लागि आफ्नो देश आउने विदेशी विद्यार्थीको संख्या घटाउने नीति लिएको छ। अस्थायी नीति भनेर अध्ययन अनुमतिमा ३५ प्रतिशतसम्म कटौती गर्ने उल्लेख गरेको छ।
सन् २०२४ मा तीन लाख ६४ हजार जना विदेशी विद्यार्थीलाई मात्रै प्रवेश अनुमति दिने निर्णय लिएको थियो। क्यानडाकै नागरिकलाई समेत आवास, शिक्षा तथा स्वास्थ्य सुविधा पुर्याउन समस्या भएको भन्दै क्यानडाले विदेशी विद्यार्थी भिसामा कडाइ गर्ने नीति लिएको हो।
क्यानडामा अहिले बेरोजगारी दर समेत बढ्दै गएको छ। हाउजिङको उत्तिकै अभाव हुन थालेको छ।
योसँगै क्यानडाले विदेशी विद्यार्थीको चाप भएका प्रान्तमा विद्यार्थी लिन बन्द गरेको छ। टोरन्टो, ओन्टारियो प्रदेशमा विद्यार्थीको अत्यधिक चाप छ। त्यसैले मन्ट्रियल लगायत केही सहरमा आवेदन गर्न सकिन्छ। क्यानडामा स्नातक वा अन्डरग्र्याजुएट विद्यार्थी प्रवेशमा बढी कडाइ गरिएको उल्लेख छ। स्नातकोत्तर वा त्योभन्दा माथिल्लो तह अध्ययनका लागि जाने विद्यार्थीहरूका लागि भने त्यति धेरै असर पर्दैन।
पछिल्लो समय नेपालीहरूको आकर्षक गन्तव्य मुलुक बनिरहेको क्यानडामा विदेशी विद्यार्थी प्रवेशमा सीमा कायम गरेसँगै यसको असर क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीहरूमा पर्न थालेको छ। क्यानडाको नीतिले विद्यार्थीहरूलाई अलमल बनाइरहेको छ।
क्यानडामा रहेका विद्यार्थीले पनि त्यहाँ अवसर पाउने हो भने आफ्नो क्षमता/दक्षता बढाउनतर्फ धेरै मेहनत गर्नुपर्छ।
अब क्यानडामा पढाइ पूरा गरिसकेका, आफ्नो क्षेत्रको काम नपाएका तथा क्षमता पनि बढाउन नसकेको अवस्थाका विद्यार्थीहरू त घर फर्किए पनि हुन्छ। यहाँको सरकारले अहिले एकदमै सीपयुक्त जनशक्ति हेरेको छ। कस्तो पनि हेरेको छ भने, श्रीमान सेफ र श्रीमती नर्स छन्, दुवै दक्ष छन् भने दुवै आवेदनलाई प्राथमिकतामा राखेको छ।
क्यानडा जान चाहने नेपाली विद्यार्थीहरूले भोलि आफ्नै देशमा फर्केर आउँछु र सेवा गर्छु भन्ने सोच बोकेर जानुपर्छ।
जस्तो, नर्सिङ पढिसकेपछि देशका लागि कसरी योगदान गर्न सक्छु, बिजनेस पढिसकेपछि आफूले पढेको कुरा कसरी लागू गर्ने भन्ने सोच बनाएर जानुपर्छ। पढाइसँगै त्यहाँ काम गर्न पनि पाइन्छ। कति समय काम गर्ने, के के सेवासुविधा पाइन्छ जस्ता सबै कुरा थाहा पाउनुपर्छ।
क्यानडामा कुन विषय पढ्दा ठीक हुन्छ, कति शुल्क लाग्छ, कुन युनिभर्सिटी छान्ने लगायत सबै कुराहरूमा ध्यान दिन अति जरूरी छ।
यसअघि सातामा २० घण्टा मात्रै काम गर्न पाइनेमा अहिले बढाएर २४ घण्टा काम गर्न पाइने व्यवस्था छ। यसले विद्यार्थीलाई केही राहत मिल्न सक्छ। अहिले क्यानडाले सबै मुलुकका विद्यार्थीहरूका लागि एकै किसिमको व्यवस्था लागू गरेको छ।
क्यानडामा कामको सिलसिलामा जानेको संख्या पनि ठूलो छ। अहिले क्यानडाले आप्रवासी श्रमिकहरू कटौती गर्ने भने उल्लेख गरेको छैन। कोभिडपछि केही असहज भएको छ। काम धेरै गर्नुपरेको र पिआर (स्थायी आवास) दिन केही कडाइ गरेको अवस्था छ।
(एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजमा कार्यरत सूर्य पोखरेल क्यानडाको 'एजुकेशन' र 'माइग्रेसन' नीतिका जानकार हुन्।)